नेपालगन्ज उपमहानगरपालिकाले ५० वेडको कोभिड वार्ड सञ्चालन गर्ने

    • स्वास्थ्य पेज

  • १२ बैशाख २०७८, आईतवार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाले ५० सइयाको अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालन गर्ने भएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा आइतबार बसेको नगर कार्यपालिकाको बैठकले तत्काल अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालन गर्ने निर्णय गरेको हो ।

भेरी अस्पतालमा विरामीको चाप थेग्न गाह्रो भएपछि उपमहानगरपालिकाले अक्सिजन वार्ड सहितको वार्ड सञ्चालन गर्ने निर्णय गरेको हो । स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले उपमहानगरपालिकाको रामलिला मैदान स्थित नारी उत्थान केन्द्रको सभाहलमा कोभिड वार्ड सञ्चालनका लागि आवश्यक तयारी सुरु गरिसकेको जानकारी दिनुभयो ।

१-२ दिनमै कोभिड वार्ड सञ्चालनमा आउनेछ । उपमहानगरपालिकाले ह्वाईटहाउसमा सञ्चालन गरिरहेको आईसोलेसन केन्द्र समेत नियमित सञ्चालन हुने भएको छ । बैठकले नगरप्रमुख डा. धवलशम्शेर राणाको संयोजकत्वमा कोभिड रोकथाम र नियन्त्रणका लागि भईरहेका कामको अनूगमन र व्यवस्थापनका लागि उच्च स्तरीय समिति गठन गरेको छ ।

समितिमा उपप्रमुख उमा थापा मगर, प्रबक्ता प्रमोद रिजाल, वडा नम्बर २ का वडाध्यक्ष सुनीलसिंह हमाल, वडा नम्बर ३ का वडाध्यक्ष मो. अयुव सिद्धिकी, वडा नम्बर १२ का वडाध्यक्ष बुद्धिसागर सुवेदी, वडा नम्बर १४ का वडाध्यक्ष ओमकारनाथ मिश्रा,वडा नम्बर १८ का वडाध्यक्ष दिपक वर्मा र कार्यपालिका सदस्यहरु इन्दिरा शाही, मञ्जु नेपाली र कौसलकुमार धोवी रहनुभएको छ । बैठकले कोभिड उपचारमा तत्काल खर्च गर्ने गरि जिल्ला समन्वय समितिको खातामा ३ लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको प्रबक्ता रिजालले जानकारी दिनुभयो ।

उपप्रमुख उमा थापा मगरले कोरोना रोकथाम र नियन्त्रणका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो । बैठकले भेरी अस्पताल र शिक्षण अस्पतालमा सहयोगका लागि केन्द्र र प्रदेश सरकारको ध्यानाकर्षणसहित अनुरोध गर्ने निर्णय गरेको छ । यसैगरी उपमहानगरपालिकाले थप एउटा एम्बुलेन्स भाडामा सञ्चालन गर्ने निर्णय गरेको वडा नम्बर १८ का अध्यक्ष दिपक वर्माले बताउनुभयो । बैठकले भेरी अस्पताल र आईसोलेसन केन्द्रमा करारमा कर्मचारी लिई परिचालन गर्ने निर्णय गरेको छ ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech