मृत्युदर बढ्नुका चार कारण खुलाउँदै डा राजन पाण्डेले भने–‘मनकारी कोही हुनुहुन्छ ? जनशक्ति सहयोग गरिदिनुहोस् ।’

    • स्वास्थ्य पेज

  • १२ बैशाख २०७८, आईतवार

नेपालगन्जः कोरोनाको हटस्पट बनेको बाँकेमा संक्रमितको संख्या बढेकोमात्र छैन् मृत्युदर पनि डर लाग्दो गरी बढेको छ । पछिल्लो सातादेखि दैनिक पाँच सातजना संक्रमितको मृत्यु भइरहेको छ ।

कोरोनाको उपचार भइरहेको भेरी अस्पताल नेपालगन्ज र मेडिकल कलेज कोहलपुरको कोभिड आइसोलेसन वार्डमा दैनिक तीन चार जना जना विरामीको मृत्यु भइरहेको छ । त्यसमा युवा उमेरका व्यक्तिहरुको संख्या धेरै छ । गत वर्ष ६/७ महिनाको अवधिमा भएको मानवीय क्षती अहिले एक डेढ हप्तामै भइसकेको छ ।

बाँकेमा अहिलेसम्म ८३ जनाले भाइरस संक्रमणबाट ज्यान गुमाइसकेका छन् । उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका एक सय जनाको मृत्यु भएको छ । अस्पतालका बेडमा अझै कैयौ व्यक्ति मृत्युसँग छटपटाइरहेका छन् । विरामीको त्योे छटपटावट र आफन्तको तनाव देखेर उपचार गर्ने स्वास्थ्यकर्मीको समेत भावविह्रल हुने गरेका छन् ।

गत वर्ष भन्दा यो पटक किन मृत्युदर बढेको ? भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डे यस्का चार कारण हुन सक्ने बताउँनुहुन्छ ।

१ः ढिलागरी अस्पताल पुग्नु
बाँकेलगायतका जिल्लामा ज्वरो रुघाखोकीका विरामी बढेका छन् । ज्वरो आउने मुख्य कारण कोरोना भएपनि बिरामीहरु गाउँघरकै मेडिकलमा गएर उपचार गरिरहेका छन् ।

ज्वरो आउने वितिकै उनीहरुले टाईफाइड भन्दै त्यसको उपचार गरेर औषधि सेवन गरिरहेका छन् । ज्वरो आउने वित्तिकै सामान्य मेडिकलमा वाइडल टेस्टगरी विरामीहरुले टाइफाइडको औषधि खाने गरेका छन् ।

स्वास्थ्यकर्मीहरुले कोभिड टेस्ट गर्नु भन्दा पनि ज्वरो हो दुईचार दिनमा ठिक भइहाल्छ भन्ने गरेको पाइन्छ । विरामी आफ्नै हेल चेक्र्याइरहे पनि अवस्था गम्भीर बनेको छ । रोग एउटा उपचार अर्कै हुँदा विरामी झन गम्भीर अवस्थामा पुग्ने गरेका छन् । अन्तिम अवस्थामा आउँदा विरामीलाई बचाउन कठिन हुन्छ ।

२ः अस्पतालको क्षमताभन्दा धेरै गुणा बढी कोरोना बिरामी भर्ना गर्नुपर्ने बाध्यता
कोरोनाका उपचार गराइरहेका अस्पतालमा जनशक्ति र बेड क्षमताभन्दा बढी विरामी छन् । ती मध्ये ७० देखि ८० प्रतिशतलाई अक्सिजन दिनु पर्ने अवस्था छ ।

कम जनशक्तिका कारण स्वास्थ्यकर्मीहरुले चाहेर पनि विरामीलाई दिनु पर्ने समय दिन सक्दैनन् । एउटा विरामीलाई एउटा नर्सिङस्टाफ चाहिन्छ । तर अहिले एउटा नर्सिङस्टाफले ३० जना विरामी हेर्नु पर्ने अवस्था छ । स्वास्थ्यकर्मीले चाहेर पनि विरामीलाई समय दिन नसक्दा पनि मृत्युदर बढेको हो ।
३ः कोरोना नै बढी कडा खालको हुनु
गतवर्षको कोरोना यति कडा थिएन् । संक्रमण पुष्टि भएकामध्ये धेरैलाई लक्षण चिन्ह थिएन् । तर अहिले संक्रमण पुष्टि भएका अधिकांशलाई लक्षण चिन्ह देखिएको छ ।

बालबालिका तथा किशोरकिशोरी र युवा अवस्थाका व्यक्तिहरुलाई पनि गम्भीर अवस्थामा पुर्याएको छ । ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरु त झन छदै छ । अहिले युवा अवस्थाका व्यक्तिहरुको पनि मृत्यु भइरहेको छ । नयाँ भेरियन्ट भनौं वा दोस्रो लहरको कोरोना जे भनौं अहिले फैलिरहेको कोरोना भाइरस द्रूतगतिमा फैलिने र विरामीलाई तत्काल गम्भीर बनाउने गरेको छ । त्यसैले गएको वर्ष भन्दा यो कडा खाले छ ।

४ः हालसम्म कोरोनाको खासै उपचार अन्तर्राष्ट्रियस्तरमा नै पत्ता नलाग्नु
कोरोनाको उपचार अहिलेसम्म विश्वमा कतैपनि पत्ता लाग्न सकेको छैन् । विभिन्न देशहरुले विभिन्न खोपहरु निर्माण गरेका छन् । ती खोपको प्रभावकारिता सत प्रतिशत छैन् ।

सतप्रतिशत नभएपनि खोप सबैलाई दिन सकिएको छैन् । विश्वमा संक्रमितलाई जुन ढंगबाट उपचार गरिन्छ, जुन खालका औषधि दिइएको छ हामीले पनि त्यही औषधि दिने हो । रोगको सहि उपचार पत्ता नलाग्दासम्म सहि उपचार पाउने सम्भावना पनि भएन् ।

कोही छ मनकारी ?
अहिले भेरी अस्पताललाई सहयोग गर्नु पर्यो भनेर अभियान नै चलेको छ । नागरिकस्तरबाट भएको यो अभियान सकारात्मक छ । दुई तीन लाख रकमसमेत जम्मा भइसकेको छ ।

भेरी अस्पताललाई अहिले अरु सहयोग भन्दा पनि जनशक्तिको ठूलो खाँचो छ । यदी कोही मनकारी भए र सहयोग नै गर्न चाहाने भए नर्सिङ स्टाफको व्यवस्था गरिदिनुहोस् । कोभिड वार्डमा मध्यम जनशक्तिको चरम अभाव छ । त्यसमा पनि नर्सिङ स्टाफको ठूलो अभाव खट्किएको छ ।

दुई तीन महिनाको तलवभत्ता दिएर कम्तिमा सय जना जति नर्सिङ स्टाफ राख्दिने मनकारी चाहिएको छ ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech