नेपालगन्ज निवासी बरिष्ठ महिला नेतृ मोहम्मदी सिद्दिकीको कोरोनाबाट निधन

    • समिरमान श्रेष्ठ

  • ११ बैशाख २०७८, शनिबार

नेपालगन्जः महिला नेतृ मोहम्मदी सिद्दिकीको निधन भएको छ । उहाँको कोरोना भाइरस संक्रमणबाट आज बेलुका निधन भएको हो । कोभिड पुष्टि भएपछि उहाँ गएको चैत २८ गते कोभिड आइसोलेसनमा भर्ना हुनुभएको थियो ।

नेपालगन्ज ३ निवासी सिद्दिकीको ६२ वर्षको उमेर निधन भएको हो । सिद्दिकीको निधनपपछि मुस्लिम समुदायमा ठूलो क्षती पुगेको छ। मुस्लिम समुदायलाई पहिचान दिलाउने र महिलाको समग्र अधिकारको लागि लड्ने कार्यमा अग्रणीय भूमिका निर्वाह गरेकै कारण सिद्दिकी सभाषद समेत बन्नुभएको थियो ।

२०३६ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आउनुभएकी सिद्दिकी समानुपातिकतर्फ नेपाली कांग्रेसबाट सभासद बन्नुभएको थियो । कांग्रेसको भगिनी संस्था नेपाल महिला संघकी सल्लाहकार सिद्दिकीले यसअघि महिला संघको जिल्ला सदस्य र महिला विभाग सदस्यको समेत जिम्मेदारी सम्हालिसक्नुभएको थियो ।

श्रीमान् नेपाली कांग्रेसमा सक्रिय रहेकाले प्रजातान्त्रिक राजनीतिमा आस्था रहँदै आएको र उहाँ बित्‍नु‍भएपछि आफू राजनीतिमा सक्रिय भएको सिद्दिकी बताउने गर्नु हुन्थ्यो । समाजसेवा र मानव अधिकारका क्षेत्रमा विशेष सक्रिय रहँदै आउनुभएको थियो । उहाँ फातिमा फाउन्डेसन नेपालको संस्थापक हुनुहुन्थ्यो ।

साउथ एसियन्स फर ह्युमन राइट्स, ह्युरोन र एमनेष्टी इन्टरनेशनललगायतका संस्थासँग पनि उहाँको आबद्धता थियो । भारतबाट अङ्ग्रेजी साहित्यमा स्नातक सिद्दिकीका दुई छोरा र एक छोरी रहनुभएको छ ।

महिला अधिकार र मानव अधिकारका क्षेत्रमा ठूलो भूमिका निर्वाह गर्नुभएकी सिद्दिकीले नेपालगन्जका मुस्लिम तथा मधेशी महिलालाई घुम्टो बाहिर ल्याएर नेतृत्व तहमा पुर्याउने देन उहाँलाई नै जान्छ । उहाँको निधनपछि मुस्लिम तथा मधेशी महिला मात्र शोकमा छैनन् पुरै नेपालगन्जबासी शोकमा डुवेको छ ।

 

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech