कर्णालीमा दुर्गमका कोरोना संक्रमितको हेलिकप्टरबाट उद्धार हुने

    • स्वास्थ्य पेज

  • १० बैशाख २०७८, शुक्रबार

सुर्खेतः कर्णाली प्रदेश सरकारले दुर्गमका कोरोना संक्रमितको उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गर्ने भएको छ । गम्भीर प्रकृतिका संक्रमितको उपचारमा सहज पहुँच पुर्‍याउन विकट क्षेत्रका लागि हेलिकोप्टर सहितको व्यवस्था गर्ने भएको हो ।

साथै, सड्क सञ्जाल पुगेको क्षेत्रका लागी भने १० वटा एम्बुलेन्स सञ्चालन गरिने प्रदेश सरकारका प्रवक्ता एवंम् आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीले जानकारी दिनुभयो ।
मन्त्री केसीका अनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीवार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि यस्तो निर्णय गरेको हो ।

कर्णालीमा सञ्चालन हुने एम्बुलेन्सहरूको सेवा दिने स्थल छनोट र सेवा प्रदायक संस्थाहरूको छनोट गरी जीपीएस प्रणालीमार्फत एम्बुलेन्स सेवा एप्स सञ्चालन गरिने छ ।

कोरोना नियन्त्रण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि स्वीकृत लिन मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने, आवश्यक स्वास्थ्य जनशक्ति पूर्ति गर्न र कोभिड संकट व्यवस्थापनका लागि आवश्यक बजेटसहित एकीकृत सेवा व्यवस्थापन गर्ने समेत बैठकले निर्णय गरेको छ ।

प्रदेश अन्तर्गतका कोभिड अस्पतालहरूमा चौबिसै घण्टा विद्युत आपूर्ति गर्ने, आइसोलेसनका लागि आवश्यकताअनुसार निजी क्षेत्रको होटलहरूलाई सुरक्षा मापदण्डसहित उपयोग गर्ने मन्त्री केसीले बताउनुभयो ।

त्यस्तै, पाँच जनाभन्दा बढीको संख्यामा भेला हुन नदिने, भिडभाड नियन्त्रण गर्ने, कोरोना संक्रमण बढेकाले सम्बन्धित निकायले नियन्त्रण र उपचारका लागि विशेष ध्यान दिने निर्णय समेत बैठकले गरेको छ ।

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech