बाँकेका कोभिड अस्पतालमा शैया अभाव, स्थिति नियन्त्रण बाहिर-चिकित्सक

    • स्वास्थ्य पेज

  • ९ बैशाख २०७८, बिहीबार

तस्बिर:फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमण दर निरन्तर उकालो लाग्दै गएपछि यसको नियन्त्रण र रोकथाममा चुनौति थपिदै गएको छ । संक्रमण समुदाय स्तरमै फैलिएको आशंका अहिले चिकित्सकहरुले गरिरहेका छन् ।

हरेक दिन जिल्लामा २००-३०० जनामा कोरोना संक्रमण पुष्टि भईरहेको परिक्षण प्रयोगशालाहरुले सार्वजनिक गर्ने रिर्पोटले देखाउँछ । संक्रमण पुष्टि हुनेहरु अधिकांश लक्षण चिंह देखिएकाहरु रहेको उपचारमा संलग्न चिकित्सहरुले बताएका छन् ।

भेरी अस्पतालका फिजिसियन डा.खगेन्द्र जंग शाहले पहिलेको जस्तो नरहेको र अहिले लक्षण सहितका संक्रमित त्यसमा पनि अक्सिजन चाहिनेहरु बढि रहेको बताउनुहुन्छ । उहाँले परिवारका एक सदस्यलाई संक्रमण पुष्टि भए अहिले प्राय सबैमा संक्रमण देखिएको बताउनुभएको छ ।

यसैबिच बाँकेमा अस्वभाविक रुपमा संक्रमण फैलिएपछि अहिले उपचारका लागि छुट्टाएर राखिएका शैयाहरु करिब भरिभराउ छन् । कोरोना संक्रमित बिरामीहरुको उपचार गर्दै आएको भेरी अस्पतालमा अहिले एउटा शैया पनि खाली छैन । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश बहादुर थापाले सामाजिक सन्जाल मार्फत स्थिति नियन्त्रण बाहिर गएको बताउँनुभयो ।

अस्पतालले कोरोना संक्रमित बिरामीहरुलाई भनेर छुट्टाएर राखेका सबै १४२ शैया भरिभराउ भएको र अहिले पनि गम्भीर प्रकृतिका बिरामी आउने क्रम नरोकिउको भन्दै डा.थापाले आफुहरु अहिले मुखदर्शक भएर बस्ने बाहेक केही गर्न सक्ने अवस्थामा नरहेको बताउँनुहुन्छ ।

आउँदा दिनहरु अझै भयावह हुने भन्दै मेसु थापाले सबैलाई आफ्नो ठाउँ बाट महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्नुहुन्छ । उता कोरोना संक्रमित बिरामीको उपचार गर्दै आएको नेपालगन्ज मेडिकल कलेजका फिजिसियन डा.आसिम किदवाईले अस्पतालमा शैया अभाव भएको जनाउँदै पुन सामाजिक सन्जाल मार्फत चिन्ता व्यक्त गर्नुभएको छ ।

अहिले पनि ३ जना गम्भीर प्रकृतिका बिरामीहरुले मेडिकल कलेजमा आइसियु शैया पर्खिरहुनभएको र शैया खाली नरहेको भन्दै डा.किदवाईले तयारी गर्नुपर्ने बेला वास्ता नगर्नु र अहिले स्थिति नियन्त्रण बाहिर गएपछि तयारी गर्दा ढिलो भैसक्ने बताउँनुहुन्छ ।

कोरोना संक्रकित बिरामीहरुको उपचारमा निरन्तर खटिएका स्वास्थ्यकर्मीहरु स्थिति नियन्त्रण बाहिर जाँदा चिन्तित छन् । बाँकेका कोरोना फोकलपर्सन तेज ओलीले निरन्तर संक्रमित संख्या बढिरहेको भन्दै अस्पतालमा बेड थप्ने र अक्सिजनको व्यवस्थापनमा सबैको ध्यान र सहयोग केन्द्रित जरुरी रहेको बताउनुहुन्छ ।

स्थानिय प्रशासनले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि आजदेखि नेपालगन्ज उपमहानगरपालिका लकडाउन गरेको छ ।

यो समाचार तयार गर्दैगर्दा बाँकेमा उपचारका क्रममा थप २ जनाको मृत्यु भएको जानकारी प्राप्‍त भएको छ । जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीका अनुसार बाँकेका ७१ वर्षिय महिला र सल्यानका ५६ वर्षिय पुरुषको संक्रमणकै कारण नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

 

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech