भारतमा कोरोनाको दैनिक नयाँ रेकर्डः एकैदिन थपिए ३ लाख १६ हजार संक्रमित

    • स्वास्थ्य पेज

  • ९ बैशाख २०७८, बिहीबार

नयाँ दिल्लीः भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १६ हजार मानिसमा कोरोनाभाइरसको संक्रमण भएको छ। योसँगै एकैदिन यति धेरै कोरोनाभाइरसका संक्रमित थपिने भारत संसारकै पहिलो देश बनेको छ।

यसअघि संयुक्त राज्य अमेरिकामा एकैदिन कोरोनाभाइरसका ३ लाख संक्रमित थपिएका थिए। गत जनवरी ८ मा अमेरिकामा ३ लाख ७ हजार ५ सय ८१ जना संक्रमित थपिएका थिए।

संक्रमण दर बढेसँगै भारतमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेहरूको संख्या पनि दिनदिनै बढिरहेको छ। बुधबार भारतभरि २ हजार १ सय २ जनाले ज्यान गुमाएका छन्।

भारतमा दैनिक संक्रमितको संख्या १ लाखबाट तीन लाख पुग्न जम्मा १७ दिन लागेको छ। अप्रिल ४ मा पहिलो पटक दैनिक संक्रमितको संख्या १ लाख पुगेको थियो।

भारतका महाराष्ट्र, दिल्ली, केरला, उत्तर प्रदेश, छत्तीसगढलगायत राज्यमा कोरोना दिन दुई गुना रात चौगुनाका दरले बढिरहेको छ।

भारतमा अहिलेसम्म १ करोड ५९ लाख मानिसमा कोरोना संक्रमण भएको छ भने १ लाख ८४ हजार संक्रमितले ज्यान गुमाएका छन्।

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech