संक्रमण बढेपछि सुदूरपश्चिममा कोरोना अस्पताल बनाउँदै प्रदेश सरकार

    • स्वास्थ्य पेज

  • ८ बैशाख २०७८, बुधबार

कैलालीः कोरोना संक्रमण दर बढेसँगै सुदूरपश्चिम प्रदेश सरकार पुनः कोरोना अस्पतालको लागि भवन निर्माणमा जुटेको छ। कोरोना संक्रमणदर घटेपछि सुस्ताएको प्रदेश सरकार कोरोना संक्रमणदर बढेपछि ५० शैयाको भवन निर्माण गर्न लागेको हो।

कोरोना भाइरसका बिरामीको उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष जेठमा धनगढीमा ५० शैयाको अस्थायी कोरोना अस्पताल स्थापना गरेको थियो। सेती प्रादेशिक अस्पतालको मातहतमा रहने गरी कोरोना अस्पताल निर्माण गरेको थियो।

अहिले आएर सुदूरपश्चिममा कोरोनाका बिरामीको संख्या बढ्दै गएपछि सेवा थप गर्ने भन्दै प्रदेश सरकारले थप ५० शैयाको भवन निर्माण प्रक्रिया गत पुस महिनादेखि नै सुरु गरेको थियो। निर्माणको ठेक्का पाएको वाइआर कन्ट्रक्सनले वैशाख १ गतेदेखि निर्माण कार्य अगाडि बढाएको छ।

निर्माणको अख्तियारी पाएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले भने रुख कटानको आदेश नपाउँदा निर्माणमा ढिलाइ भएको बताएको छ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भवन निर्माण हुन थालेको जग्गाको स्वामित्व जिल्ला समन्वय समिति कैलालीको भएको जानकारी दिँदै उहाँले रुखहरु हटाउनको लागि संघ सरकार, जिल्ला समन्वय समिति, डिभिजन वनबाट स्वीकृति लिनुपर्ने तथा आदेश पर्खिनुपरेका कारण अस्पताल निर्माणमा केही ढिलाई भएको बताउनुभयो ।

१ करोड ४९ लाखको लागतमा निर्माण हुन लागेको भवन असार मसान्तभित्रै निर्माण सम्पन्न हुने बताइएको छ। क्याविनसहित ५० शैया रहने गरि भवन बन्न लागेको हो।

  • ८ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech