भारतमा संक्रमण नियन्त्रण बाहिर, एकदिनमै २ लाख ९० हजार बढीमा कोभिड पुष्टि

    • स्वास्थ्य पेज

  • ८ बैशाख २०७८, बुधबार

तस्बिर:बिबिसी

काठमाडौं: कोरोना भाइरस संक्रमण नियन्त्रण बाहिर गएको भारतमा गएको २४ घण्टामा २ लाख ९४ हजार बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतीय संचार माध्यमका अनुसार २४ घण्टामा २ लाख ९४ हजार २९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमणकै कारण पछिल्लो २४ घण्टामा २ हजार २० जनाले ज्यान गुमाएका छन् ।

हालसम्म भारतमा १ करोड ५६ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमणका कारण हालसम्म करिब १ लाख ८२ हजार बढीको मृत्यु भइसकेको छ ।

संक्रमण नियन्त्रण बाहिर गएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनताहरुलाई सकेसम्म घरभित्रै रहन आग्रह गर्नुभएको छ । उहाँले देशव्यापी रुपमा कोरोनाको आँधी आउन लागेको उल्लेख गर्दै सबै जनतालाई सजग रही सुरक्षित रुपले घरभित्र रहन आग्रह गर्नुभएको हो ।

संक्रमित संख्या निरन्तर बढ्दै गएपछि भारतमा उपचारमा समेत समस्या भएको छ । अस्पतालका शैया अभाव हुनथालेका छन् भने अक्सिजनका कमीका कारण भारतमा केही व्यक्तिहरुको मृत्यु समेत भइसकेको छ । विश्वमा अहिले सबैभन्दा धेरै भारतमा सङ्क्रमण फैलिरहेको छ ।

गएको २४ घण्टामा अमेरिकामा ६० हजार २ सय ८२ जनामा र ब्राजिलमा ७३ हजार एक सय ७२ जनामा सङ्क्रमण देखिएको छ । अमेरिका विश्वमै कोरोनाबाट प्रभावित देशको पहिलो स्थानमा छ भने भारत दोस्रो तथा ब्राजिल तेस्रो स्थानमा छन् ।

 

  • ८ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech