बाँकेमा कोरोना अपडेटः ३२२ जनामा संक्रमण, व्यापारी र राजनीतिक दलको स्वार्थले नियन्त्रण चुनौतिपूर्ण

यस्तो अवस्थामा कोभिड १९ संकट व्यवस्थापन केन्द्रले बोल्ड निर्णय लिनु पर्ने हो। तर आफैले जारी गरेका मापदण्ड पालना गराउन समेत केन्द्र विफल बनेको छ ।


    • स्वास्थ्य पेज

  • ६ बैशाख २०७८, सोमबार

तस्बिर:फाइल

नेपालगन्जः बाँकेमा सोमवार ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । जिल्लाका तीनवटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३ सय २२ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । बाँकेमा यो संख्या अहिलेसम्मकै उच्च हो । भेरीमा २१९, नेपालगन्ज मेडिकल कलेजमा ६६ र बागेश्वरी ल्यावमा ३७ जनागरी ३ सय २२ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

आज संक्रमण पुष्टि भएकाहरुमा बालबालिकादेखि युवा र बृद्धसम्म छन् । विद्यार्थी, शिक्षक, अभिभावक र पत्रकारसमेत संक्रमित भएका छन् । यसअघि दुई सय जनामा संक्रमण पुष्टि भएको तथ्यांक थियो । कोरोनाको हटस्पट बनेको बाँकेमा चिकित्सकहरुले कोभिडको चेन ब्रेक गर्न मानिसको मुभमेन्ट बन्द गर्न सम्बद्ध सरोकारवालाहरुलाई पटकपटक आग्रह गर्दा समेत त्यसको व्यवास्ता गर्दा कोरोना समुदायस्तरमा फैलिएको छ ।

चिकित्सकहरुले मानिसहरुको मुभमेन्ट रोक्न नसकिए नेपालगन्जको स्वास्थ्य संरचनाले थेग्न नसक्ने चेतावनी दिएपनि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र भने अनिर्णित बन्दै आएको छ । लकडाउन गर्न व्यापारीहरु सहमत छैनन् । केन्द्रको बैठकमा समेत व्यापारीहरुले लकडाउनको प्रतिवाद गरेका थिए ।

त्यसमा राजनीतिक दलहरुले समेत लकडाउन नगर्न सुझाए । व्यापारीको दवावले राजनीतिक दलहरु समेत चुप बसे । भाइरस संक्रमणको चेन ब्रेक गर्ने उपाय भनेकै लकडाउनको विकल्प नभएको चिकित्सकहरु भन्दै आएका छन् । भेरी अस्पताल नेपालगन्जका बरिष्ठ फिजिसिय डा संकेत रिसालले प्रश्न गर्दै भन्नुभएको छ-कोरोनाको जोखिमबारे व्यापारी र राजनीतिक दलले भन्ने की डाक्टरले ?

कोरोनाको महामारी द्र्रूतगतिमा फैलिरहेकाले अव पनि लकडाउन गरेर मानिसको मुभमेन्ट नरोक्ने हो भने अस्पतालमा बेड नपाएर मानिसहरु छटपटाउँदै मर्नुपर्ने अवस्था आउने चेतावनी चिकित्सकहरुको छ । अस्सपतालका चिकित्सकहरु समेत धमाधम संक्रमित हुन थालेका छन् । स्वास्थ्यकर्मीहरुमा पनि भाइरस संक्रमण देखिदै गएको छ ।

बेडहरु खचाखच भरिएका छन् । नेपालगन्जको जमुनाह नाकामा चेकजाँच केही कडाइ भएको देखिएपनि बजार क्षेत्रमा भने भीडभाड उस्तै छ । मानिसहरुले न मास्कको प्रयोग गर्ने गरेका छन् न त सामाजिक दुरीको पालना । सर्वसाधरणहरु आत्मअनुशासन नहुँदा भाइरस संक्रमण फैलिरहेको छ । यस्तो अवस्थामा कोभिड १९ संकट व्यवस्थापन केन्द्रले बोल्ड निर्णय लिनु पर्ने हो।

तर आफैले जारी गरेका मापदण्ड पालना गराउन समेत केन्द्र विफल बनेको छ । रेष्टुरा तथा केटजमा मानिसहरुको भीडभाड रोकिएको छैन् । विद्यालयहरु खुलेकै छन् । नेपालगन्जमा विद्यालय बन्द भएपनि डुडुवामा भने निर्वाध विद्यालय संचालनमा छन् । त्यहाँ शिक्षक र विद्यार्थीगरी २२ जनामा भाइरस देखिएको छ ।

  • ६ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech