अव नेपालगन्जका अस्पतालले धान्न नसक्ने अवस्था आउँछः डा खगेन्द्रजंग शाह

    • स्वास्थ्य पेज

  • ६ बैशाख २०७८, सोमबार

नेपालगन्जः केही दिन देखि बाँके फेरि कोरोनाको हटस्पट बनेको छ । द्रूत गतिमा फैलिएको नयाँ भेरियन्टका कारण दैनिक सयौं व्यक्तिहरु संक्रमित भइरहेका छन् । अस्पताल आउने ७० देखि ८० प्रतिशत विरामी ज्वरोका छन् ।

परिक्षण गर्दा उनीहरु मध्ये अधिकांशलाई भाइरस संक्रमण देखिएको छ । परिवारको एकजना सदस्यलाई पोजेटिभ देखिए पुरै परिवार नै संक्रमित भएको छ । मानिसहरुले गत बर्षकै कोरोना जस्तै सम्झिरहेका छन् । सामान्य लक्षण चिन्ह देखिन्छ । ठिक भइहाल्छ । दीर्घरोगी र बृद्धबृद्धालाई बढी जोखिम छ । अरुलाई केहीपनि हुँदैन् ।

अहिलेको भाइरस त्यस्को ठिक विपरीत छ । दीर्घरोगी र बृद्धबृद्धालाई जोखिम त छदैछ । तर अहिले बालबालिका र युवा उमेरका व्यक्तिहरु धेरै संक्रमित भएका छन् । संक्रमित भएका मध्ये अधिकांशमा लक्षण चिन्ह देखिएको छ । युवा अवस्था मानिस निमोनिया भएर गम्भीर छन् । पछिल्लो मृत्युदर हेर्ने हो भने युवाहरु नै बढी छन् ।

यो भाइरसले मानिसलाई गम्भीर अवस्थामा पुर्याइरहेको छ । र, संक्रमण फैलाउने दर पनि बढी छ । कोरोनाका नयाँ भेरियन्ट भएकाले संक्रमण फैलिने दर निकै तीब्र छ । हुन त जीन सिक्वेन्सिङ नेपालमा हुँदैन् । तर यस्को फैलावट दर हेर्ने हो भने कोरोनाका नयाँ भाइरस भन्न गाह्रो छैन् ।

अस्पताल आउने विरामीमा भाइरस संक्रमणको अवस्थालाई हेर्ने हो भने समुदायस्तमा कोरोना फैलिसकेको स्पष्ट छ । अव संक्रमण थप फैलिन नदिनेतर्फ सचेत हुन आवश्यक छ । त्यसका लागि दुई वटा विकल्प छन्् । एउटा विकल्प मानिसहरु आफै सचेत भएर सुरक्षितरुपमा घरमा बस्ने अर्को भनेको लकडाउन नै हो ।

अहिलेपनि मानिसहरु अनावश्यकरुपमा भीडभाडमा जाने गरेका छन् । मास्क र सेनिटाइजरको प्रयोग गर्दैनन् । सरसफाईप्रति ध्यान नदिएको पाइएको छ । मानिसहरुमा आत्म अनुशासन देखिएको छैन् । मानिसहरु सचेत नहुँदा भाइरस संक्रमण भुसको आगोजस्तै फैलिरहेको छ ।

मानिसहरु सचेत नहुँदा सम्बद्ध सरोकारवाला (प्रहरी प्रशासन, स्थानीय सरकार) नै जिम्मेवार डंगले प्रस्तुत हुन आवश्यक छ । त्यो भनेको लकडाउन नै हो । यी दुई विकल्पबारे तत्काल निर्णय नगरिए अव नेपालगन्जका अस्पतालले विरामी थेक्न सक्दैनन् । मानिसहरुको हिडडुललाई रोक्न सकिएन भने संक्रमण फैलिने दरलाई घटाउनै मुस्किल हुने छ ।

यस्तो अवस्थामा यहाँको स्वास्थ्य प्रर्णालीले काम गर्न सक्दैन् । स्वास्थ्य संस्थाले नै काम नगर्ने अवस्था आयो भने के होला ? अहिले पनि मानिस सामान्य उपचारका लागि अस्पताल पुग्ने गरेका छन् । ग्यास्ट्रिक, सुगर, दमलगायतको चेकजाँच र औषधि लिन अस्पताल आउने गरेका छन्। अहिले ओपिडीमा आएका विरामीहरुमै भाइरस संक्रमण धेरै देखिएकाले त्यहीबाट भाइरस फैलिरहेको छ ।

अहिले अस्पतालबाटै भाइरस फैलिरहेको छ । यस्तो अवस्थामा अस्पताल आउनै पर्ने अवस्थामा मात्र आउन अनुरोध गर्दछु । नत्र सामान्य चेकजाँचका लागि अस्पताल आउँदै नआउनुहोस् । अहिलेको भाइरस तपाई हामीले सोचेजस्तो सहज छैन् । बेलैसमा आत्मअनुशासन हुनु महामारीबाट जोगिने विकल्प हो ।

अर्को कुरा संक्रमण भएर धेरै विरामी होमआइसोलेसनमा बस्नुभएको छ । होमआइसोलेसनमा बस्ने विरामीले उच्च मनोवल बनाउनु पर्छ । अक्सिजनको लेभल घटन सक्छ त्यसैले अक्सिजनको लेभल चेक गरिरहनु पर्छ । मानसिकरुपमा उनीहरु अस्वस्थ हुन सक्छन् । त्यस्तोमा उनीहरुलाई मानसिकरुपमा बलियो बनाउनु पर्ने हुन्छ । होमआइसोलेसमा बसेका विरामीले वाफ लिरहनु पर्छ । त्यस्तै नुनपानीले मुख कुल्ला गर्नु पर्छ ।

(भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा खगेन्द्रजंग शाहसँग गरिएको कुराकानीको आधारमा)

  • ६ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech