भारतमा एकैदिन १६ सयबढीको मृत्यु, २ लाख ७५ हजारमा सङ्क्रमण

    • स्वास्थ्य पेज

  • ६ बैशाख २०७८, सोमबार

काठमाडौंः भारतमा कोरोना सङ्क्रमणबाट एकैदिन १६ सयभन्दा धेरैको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६ सय २५ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै पछिल्लो २४ घण्टामै दुई लाख ७५ हजार तीन सयभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भारतमा अहिलेसम्म एक करोड ५० लाख ५७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक लाख ७८ हजार सात सयभन्दा धेरैको ज्यान गइसकेको छ । भारतमै देखिएको नयाँ भेरियन्ट, बेलायतमा देखिएको यूके भेरियन्टसहित अहिले भारतमा कोरोना भाइरसको दोश्रो लहर उत्कर्षमा पुगेको छ ।

खोप अभियानलाई तीव्र बनाएर झण्डै ११ करोड मानिसलाई खोप लगाइसकेको बताए पनि भारतमा नयाँ सङ्क्रमित थपिने क्रम दिनदिनै बढिरहेको छ । अहिले अस्पतालहरुमा अक्सिजन, औषधि र कतिपय ठाउँमा बेड नै अभाव हुन थालेको बीबीसीले जनाएको छ ।

महामारीको अवस्था भयावह पुगेको भए पनि रोकथामका लागि प्रभावकारी काम नभएको भन्दै विपक्षी दल लगायत नागरिकहरुले सरकारको आलोचना गरेका छन् । भारतमा अहिले पनि चुनावी र्याली, महाकुम्भ जस्ता मेला, बजारलगायतका ठाउँमा स्वास्थ्य मापदण्डको खुलेआम उलङ्घन भइरहेको बीबीसीले जनाएको छ ।

  • ६ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech