‘जहाँ कोरोना देखिएको छ त्यही पालिकाका विद्यालय खुला’

‘कोरोना भाइरसका नयाँ संक्रमित विद्यालयबाटै फेला परिरहेका छन्, तर विद्यालय बन्द गर्ने विषयमा कुनैपनि जिम्मेवार निकाय गम्भीर छैनन्’ एक अभिभावकले भने–‘हाम्रा छोरा छोरी संक्रमित भएर कुनै घटना भईहाल्यो भने त्यसको कस्ले जिम्मेवारी लिन्छ ?’


    • स्वास्थ्य पेज

  • ६ बैशाख २०७८, सोमबार

नेपालगन्जः कोरोना रोकथाम तथा निदानका लागि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले गरेको निर्णयलाई डुडुवा गाउँपालिकाले लत्याइदिएको छ ।

विहीबार बसेको केन्द्रको बैठकले विद्यालयमा भाइरस संक्रमणको जोखिम फैलिएको निष्कर्ष निकाल्दै आइतवारदेखि जिल्लाका सबै (सामुदायिक तथा संस्थागत) विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । नेपालगन्ज र डुडुवाका शिक्षक र विद्यार्थीमा भाइरस संक्रमण देखिएको छ ।

संक्रमणको दर अस्वभाविक ढंगबाट बढ्न थालेपछि भीडभाड हुने क्षेत्रमध्येको विद्यालय बन्द गर्ने निर्णय भएको थियो । चिकित्सकको सुझावका आधारमा केन्द्रले विद्यालय बन्दको विकल्प नभएको निष्कर्ष निकालेको थियो । तर डुडुवा गाउँपालिकाले भने विद्यालय बन्द गरेको छैन् । गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले संक्रमण देखिएका विद्यालयलाई बन्द गरिएपनि अन्य विद्यालयमा पठनपाठन यथावत रहेको बताउनुभयो ।

उहाँले अन्य विद्यालयमा स्वास्थ्य सामाग्री वितरण सुरु गरिएको बताउनुभयो । ज्ञानदिप मावि डलैपुर र नेराप्रावि अमरहवा भने बन्द छन् । त्यहाँका शिक्षक र विद्यार्थीलाई भाइरस संक्रमण देखिएको छ । सरस्वति माविका शिक्षकमा पनि भाइरस पुष्टि भइसकेको छ । मावि बनकट्टीका शिक्षकमा पनि भाइरस पुष्टि भएको छ । तर यी विद्यालय भने बन्द छैनन् ।

डुडुवा गाउँपालिकामा मात्रै शिक्षक र विद्यार्थीगरी २१ जनामा भाइरस संक्रमण पुष्टि भइसकेको छ । अधिकांश विद्यालयका बालबालिका र शिक्षकहरुमा ज्वरो आउने, टाउको दुख्नेलगायतका समस्या देखिएको बताउने गरेका छन् । केही शिक्षकहरु यही कारण विद्यालय गएका छैनन् । विद्यालयहरुले स्वास्थ्य मापदण्ड विपरित निर्वाध रुपमा पढाई सञ्चालन गरिरहेको अभिभावक बताउँछन् ।

‘कोरोना भाइरसका नयाँ संक्रमित विद्यालयबाटै फेला परिरहेका छन्, तर विद्यालय बन्द गर्ने विषयमा कुनैपनि जिम्मेवार निकाय गम्भीर छैनन्’ एक अभिभावकले भने–‘हाम्रा छोरा छोरी संक्रमित भएर कुनै घटना भईहाल्यो भने त्यसको कस्ले जिम्मेवारी लिन्छ ?’ भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. संकेत रिसाल विद्यालय तथा कलेज बन्द नगर्दासम्म कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न नसकिने बताउँनुहुन्छ । दोस्रो चरणमा फैलिएको संक्रमण निकै कडा रहेको रिसालले बताउनुभयो ।

‘रोगको बारेमा शिक्षकले भन्ने कि चिकित्सकले ?’ उहाँले भन्नुभयो–‘यदी विद्यालय खोलेर लापरबाही गर्नुहुन्छ भने त्यसको परिणाम राम्रो हुनेछैन । ’ अहिलेसम्म जिल्लाको संक्रमित तथ्यांक हेर्ने हो भने एक महिनामा ६२ बालबालिका संक्रमित भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरु बताउँछन् ।

  • ६ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech