दाङमा कोरोनाको दोस्रो लहरः बेलझुण्डी अस्पताल संक्रमितले भरिभराउ

    • स्वास्थ्य पेज

  • ५ बैशाख २०७८, आईतवार

नेपालगन्जः दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा संक्रमित विरामी भरिएका छन् । २५ वेड क्षमताको सो अस्पतालमा २६ जना संक्रमित भर्ना भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो ।

यो अस्पतालमा तुलसीपुर उपमहानगरपालिकाका ८, घोराही उपमहानगरपालिकाका १५, शान्तिनगर नगरपालिकाका २ र १ जना रोल्पाका विरामी छन् । ‘पाँच वटा आईसीयू र २० वटा एचडियू बेड छन् उहाँले स्वास्थ्य पेजसँग भन्नुभयो–‘संक्रमितले सबै बेड भरिएका छन् ।’ २५ वेड भएपनि एकजना विरामी भर्नै गर्नुपर्ने अवस्था आएपछि थप एक वेडको व्यवस्था गरेर उनलाई पनि भर्ना गरिएको वलीले बताउनुभयो ।

अस्पतालमा भर्ना भएका सबै लक्षण चिन्ह भएका विरामी हुन् । ‘थप विरामी आए अव कहाँ पठाउने ? व्यवस्थापक वलीले प्रश्न गर्दै भन्नुभयो–‘हामी ठूलो तनावमा छौं ।’ घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले केही विरामी राखेको छ । प्रतिष्ठान भएकाले त्यहाँ बस्ने संक्रमितले बेड चार्जदेखि औषधि खर्चाको रकम आफै जोहो गर्नु पर्छ । आयस्तर भएकाले उपचार गर्न सक्छन् तर गरिव तथा विपन्न तहका नागरिकहरुले रकम तिर्न गाह्रो छ ।

प्रतिष्ठानले महंगो शुल्क लिने गरेको त्यहाँ बसेका संक्रमितहरु बताउँछन् । ‘बेलझुण्डी अस्पतालमा भर्नारत विरामीले पैसा तिर्नु नपर्ने भएकाले संक्रमितहरु यही आउन खोज्छन् उहाँले भन्नुभयो–‘त्यसको व्यवस्थापन कसरी गर्ने टाउको दुखाइ भएको छ ।’ शनिवारमात्रै दाङमा १७ जना संक्रमित थपिएका थिए ।

तीमध्ये अधिकांशमा लक्षण चिन्ह देखिएको छन् । तुलसीपुरमा स्कुले विद्यार्थीमा समेत संक्रमण फैलिएको छ । संस्थागत विद्यालयका १० जना विद्यार्थीमा भाइरस संक्रमण देखिएको छ । ६ देखि १४ बर्ष उमेर समूहका ती संक्रमित बालबालिकामध्ये दुई जना कोरोना विशेष अस्पतालमा भर्ना भएका छन् ।

उनीहरुलाई आईसीयूमा राखिएको छ । अन्य विद्यार्थी भने होम आइसोलेसनमा छन् । कोरोनाको संक्रमण समुदायस्तरमा फैलिसकेको अवस्थामा अस्पताल अभावमा विरामीको ज्यान जोखिममा पर्ने अवस्था आएको उहाँको बुझाइ छ ।

जनशक्ति पर्याप्त तर ठाउँको अभाव
लुम्बिनी प्रदेश सरकार मातहतको कोरोना विशेष अस्पताल नेपाल संस्कृत विश्वविद्यालयको भवनमा छ । तीन तले उक्त भवनको भुइ तलामा कोरोना विशेष अस्पताल छ । दोस्रो र तेस्रो तलामा आयुर्वेदिक बिषयको अध्ययन हुने गरेको छ । भवन पुरै कोरोना विशेष अस्पतालका रुपमा परिणत गरे ६०-६५ बेड चलाउन सकिने उहाँको भनाइ छ ।

जनशक्ति र अन्य स्रोतसाधन पर्याप्त छ । यहाँ प्रदेश सरकारले करार र अस्थायी सेवामा २४ जना स्वाथ्यकर्मी खटाएको छ । नर्सिङस्टाफ १३, मेडिकल अधिकृत ६ र कन्सल्टेन्ट फिजिसियन ४ जना कार्यरत रहेका छन् । जनशक्ति र उपकरणका हिसावले पर्याप्त छ । जनशक्ति र उपकरण भएपनि ठाउँ अभावले थप विरामीको उपचार गर्न समस्या परेको उहाँको भनाइ छ ।

असोजदेखि ऋणै ऋणमा अस्पताल
भाइरस संक्रमण फैलिन थालेपछि गत वर्ष लुम्बिनी प्रदेश सरकारले चैत ११ गते यो अस्पताल स्थापना गरेको थियो । अस्पताल संचालनको सबै व्यवस्थापन प्रदेश सरकारको जिम्मा हो ।

तर गएको असोजदेखि अस्पताल ऋणमा चलिरहेको छ । अस्पताल संचालनका लागि प्रदेश सरकारले रकम नपठाउँदा समस्या भएको व्यवस्थापक वलीले बताउनुभयो । विरामीको अक्सिजन र औषधिका लागि ऋण गर्नु परेको उहाँको भनाइ छ । दैनिक करिव ५०-६० हजार अक्सिजनमा मात्रै खर्च हुन्छ ।

औषधि उपचारमा करिव एक लाख खर्च आउने हुन्छ । यो हिसावले हेर्दा दैनिक डेढ लाखसम्म खर्च हुने गरेको छ । ‘अक्सिजनका लागि सप्लायर्सहरुसँग हातपाउ जोड्ने गरेका छौं’ उहाँको थप भनाइ थियो ।

अहिलेसम्म यो अस्पतालबाट ६ सय ४९ जना विरामीले सेवा लिएका छन् । ती मध्ये १२ जना गम्भीर खाले संक्रमितलाई रिफर गरिएको थियो ।

  • ५ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech