भेरीको कोभिड आइसोलेसनमा जनशक्तिको चरम अभाव, खर्च पनि धान्नै मुस्किल

आइसोलेसनका स्वास्थ्यकर्मीहरु हिंजोआज भोक, प्यास र निद्रा नभनी अहोरात्र विरामीको उपचारमा खटिएका छन् ।


    • प्रियास्मृति ढकाल

  • ४ बैशाख २०७८, शनिबार

नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड आइसोलेसनमा जनशक्ति अभाव चर्किएको छ । एउटै नर्सिङ स्टाफले पाँचदेखि सातजना विरामी हेर्न बाध्य भएका छन् । जवकी एउटा नर्सिङ स्टाफले एकजना विरामीलाई हेर्नु पर्ने हो ।

‘अन्य विरामी भएको भए एउटै नर्सिङ स्टाफले १५-२० जनासम्म विरामी हेर्न सक्छन् अस्पतालका मेसु डा प्रकाश थापाले भन्नुभयो–‘तर कोभिडका विरामी क्रिटिकल हुन्छन् । उनीहरुलाई अक्सिजन दिइरहनु पर्छ । सुइबाट औषधि दिनु पर्ने हुन्छ । ज्वरो मापन देखि अक्सिजन लेभलको समेत निगरानी गरिरहनु पर्छ । एउटै नर्सिङ स्टाफले कसरी सम्भव छ ?’

भेरी अस्पतालको कोभिड आइसोलेसनमा अहिले ९० जना संक्रमित छन् । तीमध्ये ४७ जनाको अवस्था गम्भीर छ । ८ जना भेन्टिलेटरमा छन् । बाँकी सबै संक्रमित लक्षण चिन्हसहितका छन् । ती संक्रमितको उपचारमा ४७ जना स्वास्थ्यकर्मी खटिएका छन् । केही स्वास्थ्यकर्मी आफै संक्रमित भएर आइसोलेसनमा छन् ।

‘मौजुदा जनशक्तिले संक्रमितको उपचार गर्न गाह्रो छ मेसु थापाले भन्नुभयो–‘त्यसका लागि प्रदेश र संघीय सरकारसँग जनशक्ति व्यवस्थापनको पहल गर्न भनेका छौं ।’ लुम्बिनी प्रदेश सरकार मातहतको भेरीको कोभिड अस्पतालमा प्रदेश सरकारले अस्थायी र करार सेवामा ४७ जना स्वास्थ्यकर्मी खटाएको छ । त्यसमा ३९ जना नर्सिङ स्टाफ, ६ जना मेडिकल अधिकृत र २ जना कन्सल्टेन्ट फिजिसियन रहेका छन् ।

‘प्रदेश सरकारले करारमा खटाएको जनशक्तिलाई अन्य डिर्पाटमेन्टमा परिचालन गरियो मेसु थापाले भन्नुभयो–‘यहाँको दक्षजनशक्तिलाई कोभिड आइसोलेसनमा खटाइयो ।’ यहाँको जनशक्ति तालिम प्राप्त थियो । विरामीको उपचारमा सहज होस् भनेर यो उपाय अपनाइएको हो । अस्पताल आफैले थप जनशक्ति पूर्ति गर्न सम्भव नभएको उहाँले बताउनुभयो ।

‘कोरोनाका विरामीको उपचारमा हामी प्रतिबद्ध छौं तर जनशक्ति त हुनु पर्यो’ उहाँको भनाइ छ । अन्य भौतिक पूर्वाधार र उपकरण भने अस्पतालसँग छ । सबै बेडमा अक्सिजन पाइप जोडिएको छ । १५ वटा भेन्टिलेटर छन् । गएको बर्ष संक्रमितको संख्या बढेपछि भेरीमा कोभिडका लागि १ सय ४२ वेडको व्यवस्था गरिएको थियो ।

तर विस्तारै संक्रमित घटेपछि ७२ वेडमा झारियो । बाँकी वेडमा अहिले ननकोभिडका विरामीलाई राखिएको छ । ‘संक्रमणको गति जुन ढंगले बढेको छ अव भेरीले थेग्न सक्दैन् मेसु थापाले भन्नुभयो–‘हामीले एक सय देखि एक सय १० बेडभन्दा माथि विरामी भर्ना गर्ने अवस्था छैन् ।’ उहाँले अस्पतालले कोभिडका लागि सय बेड र प्रि–आइसोलेसनका लागि करिव ३० वेड छुट्याउन सकिने बताउनुभयो ।

त्यसका लागि कम्तिमा एकसय नर्सिङस्टाफ, २५ जना मेडिकल अधिकृत र १० जना कन्सल्टेन्ट फिजिसियनलगायतको जनशक्ति आवश्यक पर्ने उहाँको भनाइ छ । जनशक्ति पनि नहुँने विरामी भर्ना गर पनि भन्ने त्यो हुन नसक्ने तर्क मेसु थापाको छ । आइसोलेसनका स्वास्थ्यकर्मीहरु हिंजोआज भोक, प्यास र निद्रा नभनी अहोरात्र विरामीको उपचारमा खटिएका छन् ।

उनीहरु आफ्नो ज्यानको वेवास्ता गरेर विरामीको उपचारमा छन् । भाइरस संक्रमणका कारण अस्पतालले रुटिङ शल्यक्रिया तत्कालका लागि रोकेको छ । तर अन्य सेवा भने यथावत रहेको अस्पतालले जनाएको छ ।

दैनिक १५ लाख खर्च

कोडिभका विरामी खचाखच भरिएपछि भेरीलाई आर्थिक भार थपिएको छ । संघीय सरकारले कोभिड विरामीको उपचारका लागि प्रति व्यक्ति (विरामीको अवस्था हेरेर) रकम दिने गरेको छ । तर संघीय सरकारले पठाउने रकमले नपुग्ने गरेको मेसु थापाले बताउनुभयो । ‘सरकारले भेन्टिलेटरमा राखेको विरामीका लागि रु १५ हजार रुपैयाँ पठाउने गरेको छ उहाँले भन्नुभयो–‘त्यस्ले पुग्दैन् ।

कम्तिमा २५-३० हजार खर्च हुन्छ । बाँकी खर्च अस्पतालले व्यहोर्नु पर्ने अवस्था छ ।’ पछिल्लो सातादेखि दैनिक १५ लाख खर्च भइरहेको थापाले बताउनुभयो । विरामीको औषधिउपचार, अक्सिजनलगायतमा ठूलो रकम खर्च भइरहेको उहाँको भनाइ छ । अक्सिजनको लागिमात्र दैनिक २ लाख खर्च हुने गरेको छ ।

यसअघि कोभिडका विरामीलाई खाना समेत अस्पतालले व्यहोर्ने गरेको भएपनि अहिले भने विरामी आफैले त्यसको व्यवस्थापन गर्नु परेको छ ।

अरु सेवा बन्द गरे कर्मचारी कसरी पाल्ने ?

‘सम्भवतः सरकारी अस्पतालमा कोभिडका लागि यति धेरै बेड छुट्याउने भेरी नै पहिलो होला डा थापाले भन्नुभयो–‘अरु सबै सेवा बन्द गरेर कोभिड अस्पतालमात्रै गराउन सकिदैन् ।’

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको रेफरल अस्पताल भएकाले यहाँ विरामीको चाप अत्यधिक छ । अघिल्लो बर्ष लकडाउनले गाडी नचल्दा विरामीको फ्लो घटेको थियो । तर अहिले लकडाउन छैन । ननकोभिडका विरामीको समेत अस्पतालमा खचाखच भीड छ । अन्य सबै सेवा वन्द गरेर कोभिडकै लागि मात्र सेवा प्रवाह गर्ने हो भने कर्मचारी कसरी पाल्ने ?अस्पताललाई ठूलो टाउको दुखाइ छ ।

अस्पताल विकास समिति अन्तर्गत् अहिले अस्थायी र करारगरी करिव १ सय ५० कर्मचारी छन् । त्यसका लागि मासिक ४० लाख रुपैयाँ तलवभत्तामा खर्च हुने मेसु थापाले बताउनुभयो । उक्त तलवभत्ता अस्पतालले आफ्नै आम्दानीबाट दिने गरेको छ ।

अस्पतालका मेसु डा.प्रकाश बहादुर थापासँग स्वास्थ्य पेजका लागि पत्रकार प्रिया स्मृति ढकालले गरेको कुराकानी

  • ४ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech