बाँकेमा कोरोनाको नयाँ भेरियन्ट असरः बोल्दा बोल्दै विरामीको मृत्यु

योबाट जोगिने भनेकै आत्मअनुशासन हो । अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कनै भएन् । सरसफाई र मास्कको प्रयोग अनिवार्य गर्नु पर्यो । विद्यालय, सभासम्मेलन, भीडभाड हुने क्षेत्रलाई पूर्णरुपमा बन्द गर्नु पर्छ ।


    • स्वास्थ्य पेज

  • ३ बैशाख २०७८, शुक्रबार

कोरोना भाइरसको नयाँ भेरियन्ट दू्रत गतिमा फैलिरहेको छ । गत बर्षको भन्दा यो पटक भाइरस संक्रमण फैलिने दर बढेको मात्र छैन् विरामी गम्भीर हुने रेसियो पनि अस्वभाविक ढंगको छ । गएको वर्षका संक्रमितमा लक्षण चिन्ह निकै कम थियो । जेष्ठ नागरिकहरु बढी प्रभावित थिए । दमका रोगी, दीर्घरोगीलगायतलाई असर गरेको थियो । तर योपटक त्यस्तो छैन् ।  बालबालिका, किशोरकिशोरी, युवायुवति नै बढी प्रभावित भएका छन् । यहाँसम्मकी संक्रमण पुष्टि भएको दुई तीन दिनमै विरामीलाई हाइफ्लो अक्सिजन, आईसीयू, र भेन्टिलेटरकै आवश्यकता देखिन थालेको छ । कतिपय विरामी बोल्दाबोल्दै अन्तिम श्वास फेरेका छन् । पछिल्लो एकहप्तामै भेरीमा थेगिनसक्नु विरामी छन् । तीमध्ये अधिकांश लक्षणचिन्ह देखिएका र अक्सिजनकै आवश्यकता पर्ने खाले छन् । विरामीको उपचार कसरी भइरहेको छ ? संक्रमितको अवस्था कस्तो छ ? यिनै विषयमा भेरी अस्पतालका एनेस्थेसियोलोजिष्ट डा पारश पाण्डेसँग कुराकानी गरेका छौं ।

भेरीको आइसोलेसनमा विरामी भरिए भन्ने छ हो ?
पछिल्लो एक हप्तामै भेरी अस्पतालको आइसोलेसन विरामीले भरिएको छ । अव हाम्रो स्टाफ पोजेटिभ भए बस्ने ठाउँ छैन् । दुई तीन जना स्टाफ घरमै बस्नु भएको छ । जवकी उहाँहरुमा लक्षण चिन्ह देखिएको छ ।

उहाँहरुलाई अस्पतालको आइसोलेसनमै राख्नु पर्ने हो । दैनिक संक्रमित विरामी दुई खण्डीका दरले बढेका छन् । भेरीमा कोभिडका लागि भनेर १ सय ४२ वेडको व्यवस्था गरिएको थियो । ७२ वेड क्षमताका दुवै हल संक्रमित विरामीले भरिएका छन् । बाँकी अर्को हललाई प्रि–आइसोलेसन बनाइएको छ । त्यहाँ ननकोभिडका विरामीको उपचार भइरहेको छ ।

-कोरोना संक्रमितको उपचार कसरी भइरहेको छ ?
७२ वेड क्षमताको भेरीको आइसोलेसनमा ७४ जना विरामी भर्ना छन् । १४ जना आईसीयूमा छन् । ८ जना भेन्टिलेटरमा हुनुहुन्छ । अधिकांशलाई अक्सिजन दिनु परेको छ । उहाँहरुको उपचार आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मीहरुले गरिरहनुभएको छ ।

-उपचारका लागि भर्ना भएका विरामीको अवस्था कस्तो छ ?

गत बर्ष बैशाखदेखि साउन भदौ महिनासम्म विरामीको चाप बढेको थियो । तर अहिले एक सातामै विरामीको चाप उच्च विन्दुमा पुगेको छ । गतबर्ष परिवारको एकजनामा संक्रमण देखिएको हुन्थ्यो ।

तर अहिले एउटा संक्रमित भए पुरै परिवार नै संक्रमित देखिएको छ । अर्थात संक्रमित व्यक्तिको नजिक भएका अधिकांशलाई पोजेटिभ देखिएको छ । गत बर्ष जेष्ठ नागरिक, विरामी, दीर्घरोगीलगायतमा संक्रमण बढी देखिएको थियो । तर अहिले बालबालिका, किशोरकिशोरी र युवा अवस्थाकै व्यक्तिमा संक्रमण गम्भीर अवस्थामा पुगेको छ ।

यो निकै खतरा र जोखिम हो । गत बर्षका संक्रमित विरामीमा लक्षण चिन्ह कम थियो । अहिले संक्रमितमध्ये आधाभन्दा धेरैमा लक्षण चिन्ह देखिएको छ । अधिकांशलाई अक्सिजनको आवश्यकता छ ।

विरामी निको हुने दर कस्तो छ ?
योपालि विरामी निको हुने दर निकै कम देखिएको छ । लक्षण चिन्ह देखिएपछि गत वर्षका विरामी यति गम्भीर भएका थिएनन् । तर अहिले अधिकांश गम्भीर छन् ।

पछिल्ला सातामा ६ जनाको मृत्यु भइसकेको छ । आईसीयूमा राखेका तीन चार जना विरामी बोल्दाबोल्दै वित्नुभएको छ । एकछिन अघिसम्म ठिकठाक विरामी बोल्दा बोल्दै मृत्युवरण गर्नुभयो । गत बर्षसम्म यस्तो केश देखिएको थिएन् ।

तीब्र गतिमा फैलिरहेको संक्रमणबाट कसरी जोगिने ?
योबाट जोगिने भनेकै आत्मअनुशासन हो । अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कनै भएन् । सरसफाई र मास्कको प्रयोग अनिवार्य गर्नु पर्यो । विद्यालय, सभासम्मेलन, भीडभाड हुने क्षेत्रलाई पूर्णरुपमा बन्द गर्नु पर्छ ।

आइसोलेसनहरु थप्नु पर्छ । स्थानीय सरकारले पनि अव आइसोलेसन बनाउनेतर्फ ढिला गर्नु भएन् ।

 

  • ३ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech