बाँकेलाई कोरोनाको नयाँ भेरियन्टले घेरिसक्यो, तयारी फितलो

    • प्रियास्मृति ढकाल

  • २ बैशाख २०७८, बिहीबार

नेपालगन्जः भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा बुधवार ७५ जनामा कोरोना संक्रमण पुष्टि भयो । १ सय २३ नमुना परीक्षण गर्दा ७५ अर्थात ६२ प्रतिशतको रिपोर्ट पोजेटिभ आयो ।

यस्तै नेपालगन्ज मेडिकल कलेजमा ३६ जनामा गरिएको परिक्षणमा ३६ जना अर्थात सतप्रतिशतमै भाइरस संक्रमण देखियो । केहीदिन अघि देखि बढेको भाइरस संक्रमणले बाँके फेरि कोरोनाको हटस्पट बनेको छ ।

बालबालिका, किशोरकिशोरी र युवाहरुमा बढी संक्रमण देखिएको छ । कोरोना भाइरसको यूके भेरियन्ट (नयाँ समूह) को संक्रमण फैलिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भारतबाट नेपाल प्रवेश गर्ने मुख्य द्वार बाँकेमा फेरि एक पटक कोरोना संक्रमणको जोखिममा परेको हो ।

छिमेकी मुलुक भारतमा तीव्र रुपमा संक्रमण बढेकाले त्यसको प्रत्यक्ष असर बाँकेमा परेको छ । विगतमा जस्तै फेरि बाँके कोरोनाको हटस्पष्ट बनेको छ ।

गत वर्ष कोरोना महामारीले सताएको बाँकेमा यतिबेला फेरि महामारी थेग्न नसक्ने गरी पुरानै अवस्थामा फर्किएको छ । विगतमा जस्तो कोरोनाका बारेमा विल्कुलै जानकारी नभएको, प्रयोगशाला, जनशक्ति र अस्पताल नभएको पनि होइन, तर महामारी सकिएको ठानेर ती संयन्त्रलाई तयारी अवस्थामा नराख्दा फेरि समस्या बल्झिएको हो ।

गत वर्ष भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज कोहलपुर र खजुरास्थित सुशील कोईराला प्रखर अस्पतालले कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर व्यवस्था गरेका थिए । ती बाहेक गाउँपालिकाले पनि आइसोलेसन बनाए । तर अहिले भेरी अस्पतालमाको आइसोलेसनबाहेक अरु कुनै पनि आइसोलेसन सञ्चालनमा छैन ।

करिव शून्यमा झरेको सक्रिय संक्रमितको संख्या बढेर अहिले तीन सय बढी पुगिसकेको छ । दुई सय ५३ जना होम आइसोलेसनमा छन् । भेरी अस्पतालमा ७४ जना भर्ना भएका छन् । तीमध्ये २७ जनाको अवस्था गम्भीर छ । ७ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । १४ जना आईसीयूमा छन् । तीन जनालाई हाइफ्लो अक्सिजनमा राखिएको छ ।

भेरी अस्पतालमा कोरोना संक्रमितका लागि १४२ बेड ब्यवस्थापन गरिएको छ । तर जनशक्ति अभावका कारण ६५ वटा बेडमात्र संचालनमा छन् । विरामी जवरजस्त आइसोलेसनमा पस्न थालेका छन् । जस्का कारण चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै सुरक्षा जोखिम बढेको अस्पतालका चिकित्सकहरुले बताएका छन्।

कोभिड विरामीको उपचारमा खटिएका डा पारश पाण्डेले पहिलेको भन्दा अवस्था भयावह भएको जनाउँदै अस्पतालले थप एकजना पनि विरामी भर्ना गर्न नसक्ने अवस्था रहेको बताउनुभयो । सबै बेड भरिभराउ छन् । विरामी जवरजस्त आइसोलेसनमा छिरेका छन् । ‘हामीलाई त उपचार गर्नै मुस्किल परिसक्यो उहाँले भन्नुभयो-‘थप आइसोलेसन नबनाए उपचार नपाएरै मानिसहरुको मृत्यु हुने छ ।’

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले हालको जनशक्तिले थप बेड संचालन गर्न नसकिने बताउनुभयो । अव आउनेले बेड नपाउने बताउँदै उहाँले बेड भए पनि जनशक्ति नभएकोले थप संक्रमितलाई भर्ना गर्न नसकिने बताउनुभयो । प्रदेश सरकारले भेरीलाई चिकित्सकसहित ४२ जना जनशक्ति दिएको छ ।

प्रदेश सरकारले दिएको जनशक्तिले ६५ जना भन्दा धेरै विरामी हेर्न सक्ने अवस्था नरहेको भनाइ छ । अब छुट्टै आइसोलेसन सेन्टर नभए भयावह स्थिति आउने निश्चित भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले कोरोनाको मुहानमा स्थानीय सरकारले वेवास्ता गरेको भन्दै संक्रमितहरु उपचार नपाएर मर्ने अवस्था आएको बताउनुभयो ।

लापवाहीको पराकाष्ठा

पछिल्ला दिनमा नेपालगन्ज क्षेत्रमा बालबालिका, किशोरकिशोरी तथा युवा पुस्तामा बढी संक्रमण देखिएको छ । उनीहरुको ट्राभल हिष्ट्री पत्ता लगाउनै मुस्किल छ । भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डे मानिसहरुको लापरवाहीले भयावह अवस्था आएको बताउनुभयो ।

‘अघिल्लो सातादेखि पोजेटिभ केस अस्वभाविक ढंगले बढेका छन्’ उहाँले भन्नुभयो-‘समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ । मास्क लगाउनुपर्छ, बढी भिडभाड गर्न भएन । सावधानी अपनाउनुपर्छ ।’ उहाँले विद्यालय, भिडभाड हुने फनपार्क, सभा, सम्मेलनलगायत बन्द गरिनु पर्ने बताउनुभयो।

बाँकेका स्थानीय तहहरुलाई क्वारेन्टिन बनाउन र भारतबाट आएकालाई १० दिन अनिवार्य होम क्वारेन्टिन बस्न भनिएको छ । दिनहुँ सयौं नागरिक भारतका विभिन्न प्रान्तबाट आएका छन् । कति जना क्वारेन्टिनमा छन् भन्ने कुरा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई जानकारी छैन ।

विगतमा विद्यालयलाई नै क्वारेन्टिन र आइसोलेसन सेन्टर बनाइएको हो । तर अहिले विद्यालय सञ्चालनमा भएकाले त्यो सम्भव छैन । फोकलसर्वन वली सबै पक्ष जिम्मेवार नहुँदा समस्या देखिएको बताउँनुहुन्छ ।

‘पालिकालाई क्वारेन्टिन र आइसोलेसन सेन्टर तयारी अवस्थामा राख्न, भारतबाट आएकालाई १० दिन अनिवार्य क्वारेन्टिन राख्न भनेका छौं’ उहाँले भन्नुभयो- ‘पालिकाले तयारी भए नभएको बारे कुनै जानकारी दिएका छैनन् ।’

 

  • २ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech