नेपालगन्जः कोरोना भाइरस महामारीका कारण थिलोथिलो परेको शैक्षिक क्षेत्र अझै राम्रोसँग तंग्रीन पाएको छैन् । गत वर्ष चैत्र दोस्रो सातादेखि बन्द भएका विद्यालय करिव ६ महिना पूर्णरुपमै बन्द रहे ।
सीमित विद्यालयले अनलाइन कक्षा चलाए । त्यसको पहुँच र प्रभावकारीताप्रति चित्त बुझाउने ठाउँ खासै रहेन् । तर विपदीमा त्यसरी विद्यालय संचालन गराउनुको विकल्प पनि थिएन् । तिहारपछि शैक्षिक क्षेत्रले गति लियो ।
जनस्वास्थ्य मापदण्ड पालना गरेर शैक्षिक क्षेत्र खुले । कक्षा कोठामा सामाजिक दूरी कायम गरेर पठनपाठन सुरु भए । विद्यालयमा स्यानिटाइजर, हात धुनलाई सावुन पानी, मास्कको प्रयोग गरेर जनस्वास्थ्यको मापदण्ड पूरा गरेर विद्यालयमा पठनपाठन भइरहेको छ । चैतको पहिलो सातासम्म कोरोना भाइरस महामारी लगभग शान्तजस्तै थियो ।
तर फेरि भाइरस संक्रमणको दर बढ्न थालेपछि शैक्षिक क्षेत्र बन्द गर्नुपर्ने आवाज उठेको छ । कोरोना भाइरस संक्रमण फैलाउने कारखाना नै शैक्षिक क्षेत्र हुन भन्ने गरि जसरी विद्यालय बन्दको कुरा उठेको छ त्यो राम्रो होइन् । बजार पुरै अस्तव्यस्त छ । मास्कबिनाको भिडभाड छ । हस्पिटलमा पनि उस्तै छ ।
फनपार्क, चलचित्र हल, सभा, समारोह भइरहेका छन् । त्यहाँबाट कोरोना भाइरसको जोखिम नहुने केवल विद्यालयबाटै हुने ? जवकी विद्यालयमा जनस्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना छ । कोरोना भाइरस जोखिममा सावधानी अपनाउने र सबैभन्दा बढी सचेत हुने विद्यालय नै हुन् ।
कोरोना भाइरसको जोखिम नियन्त्रणमा हामी प्रतिबद्ध छौं । यसअघि पनि विद्यालय बन्द गरेर जोखिम नियन्त्रणमा प्रभावकारी भूमिका शैक्षिक क्षेत्रले निभाएकै हो । अहिलेपनि भाइरसको जोखिम छ । विद्यार्थीको भविष्यप्रति हाम्रो पनि चिन्ता छ । भाइरस नियन्त्रणमा हाम्रो पनि भूमिका छ ।
विद्यालय बन्द गर्न हामी पनि तयार छौं । तर जहाँ सावधानी अपनाइएको छ त्यहाँ राज्यले थप कडाइ गर्ने जहाँ सावधानी अपनाइएको छैन् त्यहाँ वास्तै नगर्ने परिपाटीले जोखिम कसरी कम हुन्छ ? २५ जनाभन्दा बढी भीडभाड गर्न नपाइने भनिएको छ के त्यो कार्यान्वयन भएको छ त ? सबैले मास्कको अनिवार्य प्रयोग गरेका छन त ? सभा सम्मेलन रोकिएका छन त ? उसो भए विद्यालय बन्द गरे कोरोना भाइरसको जोखिम कम हुन्छ ? यी धेरै प्रश्न सिर्जना भएका छन्। तर यति भन्दै गर्दा कोरोना भाइरस नियन्त्रणमा हामी प्रतिबद्ध छौं ।
(शशि स्वाँर प्रिन्सिपल, एविसि रेसिडेन्टल, नेपालगन्ज)