भेरीको आइसोलेसनमा संक्रमित खचाखच, २७ को अवस्था गम्भीर, ३ जना भेन्टिलेटरमा, थप एकजनाको मृत्यु

चिकित्सक भन्छन्–‘यही अवस्था रहे थेक्न सक्दैनौं’


    • प्रियास्मृति ढकाल

  • ३० चैत्र २०७७, सोमबार

नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालको आइसोलेसन वार्ड कोरोना संक्रमितले खचाखच भरिएको छ । ६ जनामात्रै संक्रमित रहेको आइसोलेसनमा, एक हप्ताकै बीचमा ५४ जना संक्रमित थपिएका छन् ।

१ सय १८ जना होमआइसोलनमा बसेका छन् । तीमध्ये २७ जनाको अवस्था गम्भीर छ । ३ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । मृत्युदर शुन्यमा झरेको भेरीको आइसोलेसनमा पछिल्लो सातादेखि मृत्यदर समेत बढ्न थालेको छ । सोमवारमात्रै बर्दिया गेरुवा–३ की ७५ वर्षीया महिलाको मृत्यु भएको छ ।

संक्रमण पुष्टि भएपछि चैत २५ गते अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा आज दिउँसो १ः४० बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । संक्रमितको संख्या अस्वभाविक ढंगबाट बढेपछि चिकित्सकहरुले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना नगरे स्थिति भयावह हुने चेतावनी दिएका छन् ।

यही गतिमा विरामीको संख्या बढे भेरीको आइसोलेसनले थेक्न नसक्ने अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले बताउनुभयो । ‘पहिलो चरणमा सामान्य लक्षण चिन्ह देखिएका विरामी आउने गरेका थिए डा पाण्डेले स्वास्थ्य पेजलाई भन्नुभयो–‘अहिले गम्भीर खाले विरामी आउनुभएको छ, यो राम्रो संकेत होइन ।’

पछिल्लो एकसाताको तथ्यांक केलाउँदै पाण्डेले भीडभाड नियन्त्रण गर्न नसके र स्वास्थ्य मापदण्ड पालना नगरे कोरोना नियन्त्रण बाहिर जाने चेतावनी दिनुभयो । पछिल्लो एकसातामा संक्रमितको संख्या दैनिकरुपमा बढेको छ ।

पछिल्लो एकसातामा यसरी थपिए संक्रमित
-चैत २४ गते २३ जना
-चैत २५ गते २७ जना
-चैत २६ गते २९ जना
-चैत २७ गते ३१ जना
-चैत २८ गते ४० जना
-चैत २९ गते ४४ जना
-चैत ३० गते ५३ जना
यो तथ्यांक हेर्दा स्थिति भयावह बन्दै गएको प्रमुख कन्सल्टेन्ट फिजिसियन डा पाण्डेको भनाइ छ । भाइरस फैलावटको रेसियो हेर्दा तत्काल भिडभाड हुने क्षेत्र रोक्नुको विकल्प नभएको उहाँको सुझाव छ ।

शैक्षिक क्षेत्र, फनपार्क, फिल्म हल, स्विमिङ, भीडभाड हुने कार्यक्रम पूर्णरुपमा बन्द नगरिए महामारी नियन्त्रण बाहिर जाने उहाँको चेतावनी छ । भेरीको आइसोलेसन भरिए के गर्ने भन्ने विषयमा स्थानीय सरकार भने मौन छन् ।

यसअघि निर्माण गरेका आइसोलेसन बन्द छन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्रले स्थानीय तहलाई आइसोलेसन निर्माण गर्न निर्देशन दिइसकेको छ ।

तर बाँकेका कुनैपनि स्थानीय तहले अहिलेसम्म आइसोलेसन तयारी अवस्थामा राखेका छैनन् । जस्का कारण संक्रमितहरुलाई राख्ने ठाउँकै अभाव हुने देखिएको छ ।

  • ३० चैत्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech