बाँकेमा कोरोना संक्रमित बिरामीहरूको संख्यामा अस्वाभाविक वृद्धि , सोमबार मात्र ४१ जनामा कोरोना पुष्टी

    • स्वास्थ्य पेज

  • ३० चैत्र २०७७, सोमबार

नेपालगन्ज : बाँकेमा कोभिड संक्रमण दर उकालो लाग्न थालेको छ । पछिल्लो केही दिन यता कोरोना संक्रमित बिरामीहरूको संख्या अस्वाभाविक रूपमा वृद्धि भईरहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको तथ्याङ्कबाट प्रष्ट हुन्छ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा आईतबार संकलन गरिएका ७८ नमूना परीक्षण गर्दा सोमबार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

यसले पनि जिल्ला कोरोनाकाे उच्च जोखिममा रहेको प्रष्ट हुन्छ । बाँकेका कोरोना फोकलपर्सन तेज ओलीका अनुसार सोमबार भेरीमा देखिएका ४१ जना बाहेक नेपालगन्ज स्थित जमुनाह नाकामा समेत एकजनामा कोरोना पुष्टी भएको छ ।

सिम्ता २ काफलकोट सुर्खेतका १९ वर्षिय पुरुषमा कोभिड संक्रमण पुष्टी भएको हो । भेरी अस्पतालमा उपचाररत बिरामीहरू मध्य २४ जना सिकिस्त रहेको र ४ जना भेन्टिलेटरमा स्वास्थ्य लाभ गरिरहेको ओलीले जानकारी दिनुभयो ।

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि त्यसको जोखिम नेपालमा समेत परेको छ । दिनहुँ डेढ लाख संक्रमित देखिन थालेपछि भारतमा रहेका नेपालीहरु विभिन्न नाका हुँदै स्वदेश फर्किरहेका छन् ।

उनीहरूबाट जोखिम बढ्न सक्ने भन्दै सरकारले हरेक नाकामा हेल्थ डेस्क राखेर स्वास्थ्य जाँच गरिरहेको छ । यसैबीच केही दिनदेखि असाध्यै लक्षण सहितका कोभिड १९ का बिरामीहरू बढ्दै गएकाले सावधानी अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् ।

बिरामीको उपचारमा निरन्तर संलग्न भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले संक्रमण वृद्धिदर उच्च रहेकाले सावधानी अपनाउन अपिल गर्नुभएको छ । उहाँले जनस्वास्थ्यका मापदण्ड अनुसारका व्यवहार गर्न सबैमा अपिल गर्नुभएको हो ।

  • ३० चैत्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech