बालबालिकामा कोरोना संक्रमण बढ्योः दुईसातामा २७१ जना संक्रमित

    • स्वास्थ्य पेज

  • ३० चैत्र २०७७, सोमबार

नेपालगन्जः बालबालिकामा कोरोना भाइरस संक्रमण बढ्दोक्रममा देखिएको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै बालबालिकामा पनि संक्रमणको रेसियो बढ्न थालेको भन्दै चिकित्सकहरुले सावधानी अपनाउन आग्रह गरेका छन् ।

शनिबार देशभर थपिएका ३ सय ३७ जना संक्रमितमा २७ जना बालबालिका छन् । लुम्बिनी प्रदेशमा १७ जना बालबालिकालाई संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जका बरिष्ठ फिजिसियन डा संकेत रिसालले बालबालिकामा संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन अपिल गर्नुभएको छ ।

बालबालिकामा संक्रमण बढ्नु राम्रो संकेत नभएको भन्दै उहाँले यसलाई रोक्न अभिभावक र शिक्षक सबैले बालबालिकालाई स्वास्थ्य मापदण्ड पालना गराउन उहाँको आग्रह छ ।

सकेसम्म उहाँले अनलाइनबाटै पढाउनु उपयुक्त हुने सुझाव दिनुभयो । चैत १४ देखि आइतबारसम्म ३ हजार ४ सय ५ जनालाई कोरोना संक्रमण देखिएकोमा १८ वर्षभन्दा मुनिका बालबालिका मात्र २ सय ७१ जना छन्।

विद्यालयमा स्वास्थ्य मापदण्ड पालना नगराउँदा बालबालिकामा संक्रमण बढेको विशेषज्ञ बताउँछन् । नियमित रूपमा मास्क र फेससिल्ड लगाए, हात धोए केही हदसम्म संक्रमण फैलिनबाट रोकिने डा रिसालको सुझाव छ । २–३ वर्षका बालबालिकामा समेत संक्रमण देखिदै गएको छ ।

संक्रमितमध्ये ६० प्रतिशतमा यूके भेरिएन्ट देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यूके भेरिएन्ट भएका संक्रमितमा ११ देखि २० वर्ष उमेर समूहका मात्रै २२ प्रतिशत छन् । ४ प्रतिशत १० वर्ष मुनिका बालबालिका छन् ।

बालबालिकामा लक्षणबिना पनि कोरोना देखिने भएकाले संक्रमण फैलिने दर अझ बढ्न सक्ने चिकित्सकहरु बताउँछन् । स्वास्थ्य मापदण्ड पालना नगरिए स्थिति भयावह हुन सक्ने चिकित्सकहरुको चेतावनी छ ।

 

  • ३० चैत्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech