भेरी अस्पतालमा २१ र जमुनाह नाकामा १ जनामा कोभिड संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २८ चैत्र २०७७, शनिबार

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा रहेको प्रयोगशालामा शनिबार थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा ६१ नमूना परीक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरु १० देखि ७० वर्ष उमेर समूहका रहेका छन् । अस्पतालका अनुसार शनिबार नेपालगन्जका १६ जना, कोहलपुरका २ जना, जानकी गाउँपालिकाका १ जना र बर्दियाका २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

भेरीमा हालसम्म ५५ हजार ६३ नमूनाको परीक्षण गरिएको छ । त्यसमध्य अस्पतालमा ५ हजार ६०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसैबिच आजै नेपालगन्ज स्थित जमुनाह नाकामा भारतबाट नेपाल आएका एकजनामा समेत कोरोना संक्रमण देखिएको छ ।

जिल्लाका कोरोना फोकलपर्सन तेज वलीका अनुसार भारतबाट नेपाल फर्केका बैजनाथ गाउँपालिका ३ का २७ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि त्यहाँ रहेका नेपालीहरु स्वदेश फर्किरहेका छन् ।

जोखिम बढ्नसक्ने भन्दै भारतबाट फर्कने नेपालीहरुको नाकामा स्वास्थ्य परीक्षण भैरहेको छ । यता संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि स्वास्थ्य सावधानी अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् ।

मास्क, सेनिटाइजरको नियमित प्रयोग, साबुन पानीले हात धुने लगायतका सावधानी अपनाउन चिकित्सकहरुले सबैमा आग्रह गरेका हुन् ।

  • २८ चैत्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech