कोरोनाकालको सबै खरिदको हिसाब देखाउन स्वेतपत्र जारी गर्छौ-मन्त्री हृदयदेश त्रिपाठी

    • स्वास्थ्य पेज

  • २३ चैत्र २०७७, सोमबार

काठमाडौं :स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयदेश त्रिपाठीले कोरोनाकालको सबै खरिदको हिसाब देखाउन स्वेतपत्र जारी गर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभामा सांसदहरुको प्रश्नलाई संवोधन गर्दै मन्त्री त्रिपाठीले यस्तो बताउनुभएको हो । मन्त्रालयले मास्क, पिपिइ गाउन, सर्जिकल पञ्जा, अक्सिजन प्रणाली सुदृढिकरण, आइसियु, पिसिआर किट, एक्सट्रयाक्सन किट, एन्टिजेन्ट किट र अन्य औषधीका उपकरण, स्वास्थ्यकर्मीको जोखिम भत्ता र निशुल्क परीक्षणहरुका लागि पाँच अर्ब १७ करोड ७२ लाख ८३ हजार खर्च गरेको मन्त्री त्रिपाठीले बताउनुभयो । उहाँका अनुसार दुई अरब ५४ करोड ५९ लाख भुक्तानी हुन बाँकी छ ।

नेपालमा हालसम्म १८ लाख बढीले कोरोना खोप लगाइसकेको उहाँले बताउनुभयो । यसैबिच मन्त्री हृदयदेश त्रिपाठीले आगामी जेठ र असारमा कोभिड संक्रमणको दर उच्च विन्दुमा पुग्न सक्ने भन्दै स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गर्नुभएको छ ।

पछिल्लो समय कोभिड संक्रमितहरु बढ्दै गएको र छिमेकी भारतमा पनि बढ्दो दरमा रहेकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना नगरे जेठ असारमा पुनः उच्च दरमा पुग्न सक्ने उहाँले बताउनुभयो ।

कोभिड नियन्त्रणका लागि आवागमनलाई थप व्यवस्थित गर्दै रोगको तत्काल पहिचान, आइसोलेसन र शंकास्पद व्यक्तिलाई अनिवार्य क्वारेन्टिन र जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न सकेमा महामारीलाई नियन्त्रणमा राख्नुको साथै समयका हिसाबले पर धकेल्न सकिने भएकोले यसतर्फ सबैको ध्यान जान जरुरी रहेको उहाँको भनाइ छ ।

  • २३ चैत्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech