भारतमा कोरोना नियन्त्रणबाहिरः एकैदिन ८१ हजारबढीमा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २१ चैत्र २०७७, शनिबार

नयाँ दिल्लीः भारतमा कोरोना नियन्त्रणबाहिर गएको छ। शुक्रबार भारतमा २४ घण्टामा ८१ हजार ४ सय ६६ संक्रमित थपिएका छन् भने ४ सय ६९ जनाको मृत्यु भएको छ। यो आँकडा सन् २०२१ कै सबैभन्दा धेरै हो।

यसअघि बिहीबार ७२ हजार ३ सय ३० संक्रमित थपिएका थिए। स्वास्थ्य मन्त्रालया अनुसार भारतमा ६ लाखभन्दा बढी सक्रिय संक्रमित छन्। हालसम्म १ लाख ६३ हजार ३ सय ९६ जनाको मृत्यु भइसकेको छ।

शुक्रबार केन्द्रीय क्याबिनेट सचिव राजीव गाबाले केन्द्रशासित प्रदेश र राज्यको समीक्षा बैठकमा ११ राज्य र केन्द्रशासित प्रदेशको अवस्था चिन्ताजनक रहेको बताउनुभयो ।

उहाँका अनुसार कोरोनाको वृद्धिदर जुन २०२० मा ५।५ प्रतिशत थियो भने मार्च २०२१ मा बढेर ६.८ प्रतिशत भएको छ । यसअघि २०२० को सेप्टेम्बरमा भारतमा दैनिक कोरोना संक्रमितको संख्या ९७ हजारसम्म पुगेको थियो।

अहिले पनि महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ। शुक्रबार ४७ हजार ८ सय २७ जनाका संक्रमण देखिएको छ भने २ सय २ जनाको मृत्यु भएको छ। मुख्यमन्त्री उद्धव ठाकरेले यस्तो अवस्थामा पुनः लकडाउन लगाउन सकिने बताउनुभयो ।

संक्रमण तीव्र रुपमा बढेपछि उत्तर प्रदेश, कर्नाटक, हरियाणा र दिल्लीमा विद्यालय बन्द गरिएका छन्। पञ्जाब, महाराष्ट्र, गुजरात, हिमान्चल प्रदेशमा अफलाइन कक्षामा प्रतिबन्ध लगाइएको छ।

दिल्ली सरकारले अर्को आदेश नहुन्जेसम्मका लागि विद्यार्थीहरुलाई विद्यालयमा बोलाउन नसकिने बताएको छ। शुक्रबारसाँझसम्म भारतभर ७ करोडभन्दा बढी मानिसलाई खोप लगाइसकिएको छ।

  • २१ चैत्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech