भेरी अस्पताल बन्यो देशकै उत्कृष्ट उपचार सेवा दिने सरकारी अस्पताल

    • स्वास्थ्य पेज

  • २१ चैत्र २०७७, शनिबार

नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पताल देशकै उत्कृष्ट सेवा दिने सरकारी अस्पताल बनेको छ । स्वास्थ्य मन्त्रालय मातहतको गुणस्तर तथा नियमन महाशाखाले गरेको स्थलगत अनुगमन तथा मूल्यांकनमा सेवा प्रवाहमा पश्चिमको पुरानो र ठूलो अस्पताल भेरी उत्कृष्ट बनेको हो ।

देशैभरीका अस्पतालले दिएको सेवाको स्थलगत अध्ययन र अनुगमनपछि महाशाखाले भेरीले उत्कृष्ट सेवा दिएको ठहर गरेको हो । अस्पतालले प्रवाह गर्ने सेवा कति प्रकारका छन् ? त्यसको जनशक्ति कस्तो छ ? जनशक्ति परिचालन र व्यवस्थापन कसरी भइरहेको छ ? उपकरणको अवस्था, अस्पताल व्यवस्थापनलगायतका सवालमा भएका काम र पूर्वतयारीबारे महाशाखाले स्थलगत मूल्यांकलन गरेको थियो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश थापाले संघीय सरकार मातहत रहेका अस्पतालको मूल्यांकनमा भेरी ६१ अंक लिएर उत्कृष्ट भएको जानकारी दिनुभयो । अघिल्लो बर्ष भेरीले प्रवाह गरेको सेवा र व्यवस्थापन महाशाखाको मूल्यांकनमा सकरात्मक थिएन् । अघिल्लो वर्ष ३५ अंकका साथ भेरीको मूल्यांकन पुछार तिर थियो । तर अस्पताल विकास समितिले सेवा प्रवाहमा निभाएको प्रभावकारी भूमिका, मेसुको समन्वयकारी पहल र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सेवाभावले यो नतिजा आएको अस्पतालका चिकित्सकहरु बताउँछन् ।

एकसय अंकको मूल्यांकनमा भेरीले ६१ अंक ल्याउँदा चितवनको भरतपुर अस्पतालले ५२ अंक ल्याएर दोस्रो भएको छ । यस्तै कोशी अस्पतालले ३७ अंक ल्याएर तेस्रो भएको छ ।

पाँचसय बेड क्षमताको भेरी अस्पतालले दैनिक पाँच सयको हाराहारीमा विरामीहरुलाई सेवा दिइरहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको रेफरल अस्पतालको रुपमा रहेको भेरी अस्पतालले पछिल्लो पटक आँखाको उपचारसँगै क्यान्सरको परिक्षण सेवा समेत विस्तार गरेको छ ।

  • २१ चैत्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech