सबै सेवा संचालन गर्ने तयारीमा सुशील कोईराला क्यान्सर अस्पताल

    • स्वास्थ्य पेज

  • २० चैत्र २०७७, शुक्रबार

नेपालगन्जः बाँकेको खजुरामा रहेको सुशील कोईराला प्रखर क्यान्सर अस्पतालले तत्काल सबै सेवा संचालन गर्ने तयारी गरेको छ । अस्पताल विकास समितिले आज पत्रकार सम्मेलनको आयोजना गरि यही आउने बैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट औपचारिकरुपमा अस्पताल उद्घाटन गराएर सबै सेवा संचालन गर्ने योजना रहेको जनाएको हो ।

पछिल्ला दिनमा विरामीको चाप बढ्दै गएपछि अस्पतालले सबै प्रकारको सेवा उपलब्ध गराउने तयारी गरेको हो । क्यान्सरका विरामीहरुको उपचारका लागि भारत तथा चितवन जानु पर्ने अवस्था अन्त्य गर्ने ध्ययका साथ सबै सेवा संचालनको तयारीमा अस्पताल रहेको अस्पताल विकास समितिका अध्यक्ष भक्तबहादुर केसीले बताउनुभयो ।

समितिसँगको सहकार्यमा अहिले भेरी अस्पतालमा क्यान्सरको ओपिडी समेत सुरुभएको छ । हप्ताको मंगलवार र विहीबार भेरी अस्पतालमा क्यान्सरका विरामीको परीक्षण भइरहेको छ । त्यसका लागि खजुरा क्यान्सर अस्पतालका चिकित्सक नै ओपिडीमा बस्ने गरेका छन् । ‘क्यान्सरका शंकास्पद विरामी छिमेकी देश भारत र पूर्वी नेपालको चितवन जान नपरोस् भन्ने उद्देश्यले भेरीमै परिक्षणको व्यवस्था मिलाइएको हो’ केसीले भन्नुभयो ।

अस्पतालले विरामीहरुकोे सेवालाई थप फराकिलो र सहज बनाउन रेडियोलोजी सेवा विहान साढे ९ बजेदेखि नै सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक डा कृष्ण आचार्यले जानकारी दिनुभयो । यसअघि दिउँसो २ बजे पछि मात्रै रेडियोलोजी सेवा सुरु हुने गरेको थियो । विहान ९  बजेदेखि बेलुका ५ बजेसम्म अस्पतालको सेवा खुल्लै रहने जानकारी दिँदै उहाँले अव तत्काल डाइलासिस र ब्राकी थेरापी सुरु हुने बताउनुभयो । डाइलासिस मेसिनका लागि लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने भएको छ ।

तीन वटा डाइलासिस मेसिनको प्रतिबद्धता प्रदेश सरकारले गरेको छ । यस्तै ब्राकी थेरापीका लागि उपकरण आइसकेको छ । लिन्याक मेसिन खरिद गरेर रेडियसन थेरापी समेत सुरु गर्ने तयारी अस्पतालले गरेको छ ।

अस्पतालले स्वास्थ्यकर कोषमाफर्त विपन्न तथा गरिव व्यक्तिको उपचारका लागि पाँच हजार रुपैयाँ सहयोग समेत गर्दै आएको छ । ‘सकेसम्म हामीले सस्तो, सुलभ र भरपर्दौ उपचार दिने पर्यत्न गरेका छौं अस्पताल विकास समितिका संस्थापक अध्यक्ष समेत रहनुभएका खजुरा गाउँपालिकाका अध्यक्ष किष्मतकुमार कक्षपतिले भन्नुभयो–‘खजुरा गाउँपालिकाले यसमा सहयोग गर्छ ।’

  • २० चैत्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech