आजदेखि हात्तिपाईले रोग विरुद्धको अभियान सुरुः यी समस्या भएकाले मात्रै औषधि सेवन गर्नु हुदैन

औषधि खाएपछि मानिसको मृत्यु हुने एलर्जी हुने लगायत विभिन्न भ्रमहरु छन्। यो औषधिले मानिसहरु मर्दैन। कुनै कुनै व्यक्तिमा केही साइड इफेक्ट देखिन सक्छ। कुनै व्यक्तिहरुमा ज्वरो आउने, एलर्जी हुने, मासंपेशी दुख्न सक्छ। यो भनेको शरीरमा भएको परजीविलाई औषधिले मारेको भनेर बुझ्न आवश्यक छ। यो सामान्य हो, यसको उपचार हुन्छ।


    • स्वास्थ्य पेज

  • २० चैत्र २०७७, शुक्रबार

नेपालगन्जः हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो। यो रोग संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। शरीरमा यसको परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छन्। लक्षण देखिइसकेपछि भने यो रोग निको पार्न सकिँदैन।

नेपालमा अझै पनि करिब ३० हजार जना हात्तीपाइले रोगी रहेको सरकारी अनुमानित तथ्यांक छ। हात्तीपाइले रोग निवारणका लागि १२ जिल्लामा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम सुरु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हात्तीपाइले रोगको उच्च जोखिममा रहेका १२ जिल्लाका १ सय २९ स्थानीय तहका ७० लाख ४५ हजार जनालाई औषधि खुवाउने लक्ष्य छ।

नियमित ६ बर्षसम्म हात्तिपाइले रोग बिरुद्धको अभियान चलेका जिल्लामा हात्तिपाइले रोगको जोखिम न्यूनिकरण भएको मानिन्छ । तर बाँकेमा १० पटक यो अभियान चलिसक्यो । आजदेखि सुरु भएको अभियान ११ औं हो ।

हात्तिपाइले रोगविरुद्धको औषधि नखाइदिएका कारण जिल्लामा हात्तिपाइले रोग विरुद्धको अभियान जारी छ । पहिलो वर्षको अभियानमा हात्तिपाइले रोगविरुद्धको औषधि खाँदा केही मानिसहरुको मृत्यु भएको पाइएपछि मानिसहरुले औषधि खान छाडेका हुन् । त्योबेला स्वास्थ्यकर्मीको लापरवाहीका कारण औषधि खान नमिल्ने दीर्घरोगीका विरामीले पनि औषधि खाइदिदा ४ जनाको मृत्यु भएको थियो ।

त्यसैको त्रास र डरले हात्तिपाइले रोगविरुद्धको अभियान नै जिल्लामा प्रभावित छ । औषधि खाएपछि मानिसको मृत्यु हुने एलर्जी हुने लगायत विभिन्न भ्रमहरु छन्। यो औषधिले मानिसहरु मर्दैन। कुनै कुनै व्यक्तिमा केही साइड इफेक्ट देखिन सक्छ। कुनै व्यक्तिहरुमा ज्वरो आउने, एलर्जी हुने, मासंपेशी दुख्न सक्छ। यो भनेको शरीरमा भएको परजीविलाई औषधिले मारेको भनेर बुझ्न आवश्यक छ। यो सामान्य हो, यसको उपचार हुन्छ।

स्वास्थ्यकर्मीहरुले औषधिबारेको भ्रम तोड्न नसक्दा बाँकेमा औषधि खाने दर ७४ प्रतिशतदेखि माथि बढ्न सकेको छैन् । ग्रामीण क्षेत्र भन्दा सहरी क्षेत्र र पढेलेखेकै मानिसहरुले औषधि नखाइदिने गरेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बताउनुभयो ।

नेपालगन्ज, कोहलपुर, खजुरालगायतका सहरी क्षेत्रमा औषधि सेवन गर्नेको संख्या कम छ । जनप्रतिनिधि, राजनीतिक दल, गैर सरकारी संघसंस्थालाई परिचालन गर्दासमेत औषधि सेवन गर्ने दर नबढेको स्वास्थ्यकर्मीहरु बताउँछन् । त्यही कारण अघिल्ला वर्ष तीनदिन चल्ने अभियान बाँकेमा यो वर्ष सत प्रतिशत पुर्याउनेगरी सुरु गरिएको प्रमुख शाहले बताउनुभयो ।

दुई दिन बुथमा औषधि खुवाउने कार्यक्रम राखिएको छ भने त्यसपछि स्वास्थ्यकर्मीको टोली घरघरमा पुग्ने छ । आजदेखि बाँकेसहित बर्दिया, कैलाली, दाङ कपिलबस्तु, बागलुुङ, पर्वत, लम्जुारङ, बारा, मोरङ धनकुटा र झापागरी १२ जिल्लामा हात्तिपाइले रोग विरुद्धको औषधि अभियान सुरु भएको हो । बाँकेमा साढे पाँचलाख व्यक्तिलाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने लक्ष्य छ ।

यो अभियानमा ५ लाख ७६ जनालाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने लक्ष्य लिइएको कार्यालय प्रमुख शाहले जानकारी दिनुभयो । सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकामा १ लाख ६६ हजार ८ सय ८६ जना र सबैभन्दा कम नरैनापुर गाउँपालिकाका ४० हजार ८ सय ४३ जनालाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य छ ।

यस्तै राप्तीसोनारीका ७० हजार ८ सय ८४ जना, बैजनाथ गाउँपालिकाका ६४ हजार ५ सय ४८, खजुराका ५९ हजार ८ सय ६८, जानकीका ४४ हजार १ सय ९९, डुडुवा गाउँपालिकाका ४३ हनार ४ सय ७८ र कोहलपुर नगरपालिकाका ८५ हजार ३ सय ७० जनालाई औषधि खुवाउने लक्ष्य लिइएको छ ।

६ बर्षसम्म नियमित औषधि खुवाउने कार्यक्रम भएपनि बाँकेमा मानिसहरुले औषधि नखाइदिँदा यो अभियान लम्बिएको हो । यो अभियानमा ४ सय ९० जना स्वास्थ्यकर्मी र ७ सय ८९ जना महिला स्वास्थ्य स्वयम सेवक परिचालन भएको प्रमुख शाहले बताउनुभयो ।

दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवति र सात दिनसम्मकी सुत्केरी, सिकिस्त विरामीहरु कुनै कडा रोग लागि औषधि सेवन गरिरहेका जस्तैः क्यान्सर, मुटुरोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दीर्घ रोगी, छारेरोगी, २४ घण्टाभित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले यो औषधि सेवन गर्नु हुँदैन् ।

  • २० चैत्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech