विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण काठमाडौंमा, प्रदूषणले क्यान्सरसमेत गराउन सक्छ

मन्त्रालयले बालबालिका, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ । मन्त्रालयले फोहर नजलाउन पनि अनुरोध गरेको छ । यस्तै घरबाहिर ननिस्कन, निस्कनै पर्ने अवस्था भएमा मास्कको अनिवार्य प्रयोग गर्न र धुलो, धुँवा उड्ने पेसा, व्यवसाय केही दिनलाई रोक्न र अति आवश्यक नभइ गाडी नचलाउन भनेको छ ।


    • स्वास्थ्य पेज

  • १४ चैत्र २०७७, शनिबार

काठमाडौंः विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण काठमाडौंमा देखिएको छ । विश्वभरका सहरको हावाको शुद्धता मापन गर्ने आइक्यू एअर डटकमका अनुसार काठमाडौंको एक्यूआई अहिले ४२१ रहेको छ । हिँजोदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँको हावाको प्रदूषण अझै केही दिन रहने भएको छ ।

हावाको प्रदूषण मापन सूचक (एक्यूआई) दुई सयभन्दा माथि जानु स्वास्थ्यका लागि घातक मानिन्छ । ३ सयभन्दा माथि पुग्नुलाई अति हानिकारक मानिन्छ । नेपालमा धेरैजसो जिल्लाहरुमा डढेलो लागिरहेको र तत्काल पानी पर्ने सम्भावनासमेत नरहेकाले अबको केही दिनसम्म वायुमण्डल सुधार हुने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हावाको प्रदूषणले क्यान्सरसमेत गराउन सक्छ

एक्यूआई ३ सय नाघ्नुलाई स्वास्थ्यका लागि निक्कै घातक मानिने र यस्तो अवस्थामा विपद् घोषणा गर्नुपर्ने वातावरणविद्हरुको भनाइ छ । अत्याधिक प्रदूषणमा क्यान्सरजन्य रसायनसमेत मिसिएको हुने भएकाले यस्तो बेलामा छातीको रोगमात्र नभएर क्यान्सरको जोखिमसमेत हुने छाती रोग विशेषज्ञरुले बताएका छन् ।

प्रदूषणका कणहरु श्वासप्रश्वास नलीको भित्तामा जम्मा भएमा दीर्घकालीन दमलगायत रोग लाग्नुका साथै क्यान्सरको खतरासम्म हुने छातीरोग विशेषज्ञको भनाइ छ ।

प्रदूषणको असरबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणको असरबाट जोगिन अपिल गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर देशका विभिन्न ठाउँको वायु प्रदूषणको स्तर खतरनाक अवस्थामा पुगेको भन्दै घरबाहिर खुला ठाउँमा नबस्न, नखेल्न र मर्निङवाकमा जाने वा घरबाहिर गएर शारीरिक व्यायाम गर्ने जस्ता काम नगर्न अपिल गरेको हो ।

मन्त्रालयले बालबालिका, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ । मन्त्रालयले फोहर नजलाउन पनि अनुरोध गरेको छ । यस्तै घरबाहिर ननिस्कन, निस्कनै पर्ने अवस्था भएमा मास्कको अनिवार्य प्रयोग गर्न र धुलो, धुँवा उड्ने पेसा, व्यवसाय केही दिनलाई रोक्न र अति आवश्यक नभइ गाडी नचलाउन भनेको छ ।

  • १४ चैत्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech