जमुनाह नाकामा कोरोना संक्रमण पुष्टि भएका युवकमा नयाँ भाइरस हो ?

    • स्वास्थ्य पेज

  • १३ चैत्र २०७७, शुक्रबार

नेपालगन्जः भारतबाट फर्किएका एकजना युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगन्जको जमुनाह नाकामा गरिएको एन्टिजेन परीक्षणमा रोल्पा लिवाङका ३० वर्षीय युवकमा भाइरस संक्रमण देखिएको हो ।

भारतको गुजरातबाट आएका ती युवकमा संक्रमण पुष्टि भएसँगै ‘नयाँ डबल म्युटेन्ट भेरियन्ट’ नेपालमा भित्रिएको आशंका गरिएको छ । ती युवामा ज्वरो, रुघाखोकीको लक्ष्ण देखिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार, तापक्रम उच्च देखिएपछि ती युवकको एन्टिजेन जाँच गरिएको थियो । ‘रिपोर्ट पोजेटिभ आएको छ उहाँले भन्नुभयो–‘युवकलाई स्वास्थ्यकर्मीकै निगरानीमा राखिएको छ ।’ ती युवकलाई रोल्पाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर होमआइसोलेसनमा बस्नेगरी एम्वुलेन्समार्फत रोल्पा पठाउने तयारी भइरहेको छ ।

भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै भारतबाट फर्किने नागरिकहरुको नाकामा स्वास्थ्य परीक्षणमा कडाइ गरिएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले बताउनुभयो ।

उहाँका अनुसार, आजसम्म नाकामा १८ जनाको एन्टिजेन जाँच गरिएको छ । त्यसमा १७ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । ज्वरो, रुघाखोकीजस्ता लक्षण देखिएका व्यक्तिहरुको नाकामा एन्टिजेनमार्फत कोरोना जाँच गर्ने गरिएको छ । संक्रमण पुष्टि भएका व्यक्तिमा नयाँ भेरियन्ट हो कि होइन भनेर पुष्टि गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘जिन सिक्वेन्सिङ’ गरेपछि मात्रै पुष्टि हुन्छ ।

त्यसका लागि स्वाव लिएर ‘जिन सिक्वेन्सिङ’ गर्नु पर्ने हुन्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ‘जिन सिक्वेन्सिङ’का लागि पश्चिमी गड्डाचौकी र गौरीफन्टा नाकामा संक्रमण पुष्टि भएका केहीको स्वाव लिइसकेको जनाएको छ ।

  • १३ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech