बाँकेमा ५ लाख ७६ हजार ७६ जनालाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने

    • स्वास्थ्य पेज

  • १२ चैत्र २०७७, बिहीबार

नेपालगन्जः बाँकेमा साढे पाँचलाख व्यक्तिलाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने भएको छ । यही चैत २० गतेदेखि सुरु हुने यो अभियानमा ५ लाख ७६ र ७६ जनालाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले जानकारी दिनुभयो ।

सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकामा १ लाख ६६ हजार ८ सय ८६ जना र सबैभन्दा कम नरैनापुर गाउँपालिकाका ४० हजार ८ सय ४३ जनालाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य छ । यस्तै राप्तीसोनारीका ७० हजार ८ सय ८४ जना, बैजनाथ गाउँपालिकाका ६४ हजार ५ सय ४८, खजुराका ५९ हजार ८ सय ६८, जानकीका ४४ हजार १ सय ९९, डुडुवा गाउँपालिकाका ४३ हनार ४ सय ७८ र कोहलपुर नगरपालिकाका ८५ हजार ३ सय ७० जनालाई औषधि खुवाउने लक्ष्य लिइएको छ ।

६ बर्षसम्म नियमित औषधि खुवाउने कार्यक्रम भएपनि बाँकेमा मानिसहरुले औषधि नखाइदिँदा यो अभियान लम्बिएको हो । जिल्लामा यो अभियान ६७ सालदेखि जारी छ । यो ११ औं अभियान हो । यो अभियानमा ४ सय ९० जना स्वास्थ्यकर्मी र ७ सय ८९ जना महिला स्वास्थ्य स्वयम सेवक खटिने पनि कार्यालय प्रमुख शाहले बताउनुभयो ।

हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने अभियानबारे आज नेपालगन्जमा आयोजित पत्रकार अन्तरक्रियामा शाहले गत वर्षदेखि औषधि खाने दर बढेको बताउनुभयो । उहाँले ग्रामीण भन्दा पनि सहरका मानिसहरुले औषधि खान हिचकिचाउने गरेको बताउनुभयो ।

दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवति र सात दिनसम्मकी सुत्केरी, सिकिस्त विरामीहरु (कुनै कडा रोग लागि औषधि सेवन गरिरहेका जस्तैः क्यान्सर, मुटुरोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दीर्घ रोगी, छारेरोगी, २४ घण्टाभित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले यो औषधि सेवन गर्न नहुने डा मदन कोइरालाले बताउनुभयो । अन्तरक्रिया कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • १२ चैत्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech