लकडाउनको एक बर्षः कोरोनाको जोखिम फेरि पुरानै अवस्थामा

    • समिरमान श्रेष्ठ

  • ११ चैत्र २०७७, बुधबार

तस्विरः फाइल

नेपालगन्जः कोरोना सङ्क्रमणका कारण नेपालले लकडाउन गरेको आज ठिक एक वर्ष पुगेको छ । गएको वर्ष चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रण गर्न भन्दै नेपाल सरकारले लकडाउन गरेको थियो । गएको साउन ६ गतेदेखि एक सय २० दिन लामो लकडाउन भने अन्त्य भयो । लकडाउन हटेपछि बजार पसल खुले । ढिलो गरी भए पनि शैक्षिक संस्था खुले । सबै क्षेत्रमा चहलपहल बढ्यो । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणदर घट्दै पनि गयो । तर, भारतसहित विश्वका विभिन्न देशमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपाल फेरि एक वर्ष अगाडिकै अवस्थामा पुगेको छ । कोरोनाको जोखिम फेरि बढेको छ ।

लकडाउनको वर्ष दिन बित्न नपाउँदै फेरि दोस्रो लहरको डर बढेको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिए पछि भारतका केही ठाउँमा लकडाउन लागू गरिएको छ । भारतसँगको खुला सिमानाका कारण पनि नेपालमा कोरोना सङ्क्रमणको उच्च जोखिम परेको भेरी अस्पताल नेपालगन्जका बरिष्ठ फिजिसियन डा संकेत रिसालले बताउनुभयो ।

भारतमा कार्यरत नेपाली घर फर्किने क्रम बढेको छ । नेपालगन्जको जमुनाह नाकाबाट मात्रै दैनिक हिजोआज करिव एक हजार मानिसहरु फर्किरहेका छन् । फर्किनेहरुमा सङ्क्रमण भएको हुन सक्ने भएकाले जोखिम बढ्ने डा रिसालको भनाइ छ । घर फर्किनेहरुको नाकामा नै स्वास्थ्य परीक्षण गरिने भनिए पनि त्यो प्रभावकारी बन्न सकेको छैन । नाकामा शंकास्पदलाई मात्रै एन्टिजेनबाट कोरोना परीक्षण गर्ने गरिएको छ ।

नेपालगन्जको जमुनाह नाकामा भारतबाट आउनेको आजदेखि एन्टिजेन जाँच गर्ने तयारी गरिएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो । सरकारले भारतसँगका मुख्य १२ नाकामा निगरानीलाई कडा पारेको छ । भारतमा संक्रमण फैलिएपछि नेपालले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र काम नगर्न भनेको छ ।

डा रिसालले सतर्कता नअपनाए भारतमा जस्तै नेपालमा सङ्क्रमण फैलिन सक्ने चेतावनी दिनुभयो । जनस्वास्थ्यका मापदण्ड पालना हुन छोडेकाले जोखिम थप बढेको उहाँले बताउनुभयो । पोहोर भारतका सीमा क्षेत्रमा कडाइ नगर्दा नेपालमा सङ्क्रमण फैलिएको थियो । अब पनि त्यस्तै अवस्थाको डर भएकाले अनिवार्य मास्क लगाउन र स्यानिटाइजरको प्रयोगमा डा रिसालको जोड छ ।

सरकारले जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्ने तयारी गरेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइसोलेशन र क्वारेन्टिनलाई तयारी अवस्थामा राख्न गृह मन्त्रालयले निर्देशन दिइसकेको छ । कोरोना भाइरस महामारीका कारण बाँकेमा मात्रै ५६ जनाले मृत्युवरण गरेका छन् ।

  • ११ चैत्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech