कोरोनाको सङ्क्रमण बढेपछि भारतमा फेरि नयाँ निर्देशिका जारी : स्वास्थ्य मापदण्डमा थप कडाइ

    • स्वास्थ्य पेज

  • ११ चैत्र २०७७, बुधबार

काठमाडौंः भारतमा कोरोनाभाइरसको सङ्क्रमण फेरि तीव्र रूपमा बढेसँगै नयाँ निर्देशिका जारी गरिएको छ । केन्द्रीय सरकारले नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैलाई आह्वान गरेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा मात्रै ४७ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् भने दुई सय ७७ जनाको ज्यान गएको छ । गएको जनवरीको अन्त्यतिर दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्या घटेर नौ हजारसम्म पुगेकोमा भारतमा अहिले ४७ हजारभन्दा धेरै पुगेको हो । अघिल्लो हप्तादेखि नयाँ सङ्क्रमितहरूको सङ्ख्यामा एकाएक तीव्र वृद्धि हुँदै आएको तथ्याङ्कमा देखिएको छ ।

नयाँ निर्देशिका जारी गरिएको भए पनि लागू भने अप्रिलदेखि मात्रै हुने सरकारी अधिकारीहरूले बताएका छन् । निर्देशिका लागू हुन थालेपछि देशभरि नै परीक्षणको दायरासमेत अझ बढाइने उनीहरूको भनाइ छ । भारतको गृह मन्त्रालयले निकालेको वक्तव्यमा देशका सबै भागमा कोरोनभाइरसविरुद्ध अपनाउनु पर्ने सबै मापदण्ड पालना गर्न/गराउन आग्रह गरिएको छ ।

कोरोनाको परीक्षण, खोप लगाउने अभियानसँगै सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, नियमित हात धुने वा सेनिटाइजर लगाउनेलगायतका आधारभूत स्वास्थ्य सतर्कता पालना गर्न भारत सरकारले आग्रह गरेको छ ।

  • ११ चैत्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech