नेपालगन्जको जमुनाह नाकामा भारतबाट आउनेको भोलिदेखि कोरोना परीक्षण हुने

    • स्वास्थ्य पेज

  • १० चैत्र २०७७, मंगलवार

नेपालगन्जः भारतका केही शहरमा कोरोनाको दोस्रो चरणको संक्रमण बढ्दै गएपछि नेपालगञ्ज नाकामा भोलिदेखि एन्टिजेन परीक्षण सुरु गरिने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार, भारतबाट आउने व्यक्तिको भोलि बुधवारदेखि एन्टिजेन जाँच गरिने भएको हो । त्यस्का लागि सबै तयारी पूरा भएको उहाँले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

‘भारतमा फेरि संक्रमण फैलिने क्रममा छ । हामीले भारतबाट आउनेलाई नाकामा थर्मल गनले ज्वरो नाप्छौँ’, चन्दले भन्नुभयो, ‘ज्वरो देखिएका व्यक्तिको एन्टिजेन परीक्षण गरिने छ ।’ एन्टिजेन परीक्षणबाट १५ मिनेटमै कोरोना भाइरस छ कि छैन पत्ता लाग्ने उहाँको दावी छ ।

रोजगारीको शिलशिलामा भारतका विभिन्न शहरमा पुगेका नेपालीहरु त्यहाँ भाइरस संक्रमणको डर तथा लकडाउनका कारण स्वदेश फर्किने क्रम बढेको छ । हिंजोआज दैनिक ७ सय देखि एकहजार व्यक्तिहरु स्वदेश फर्किरहेका छन् । शंकास्पद व्यक्तिहरुलाई एन्टिजेनमार्फत कोरोना पुष्टि गरिने छ ।

त्यसका लागि नेपालगन्ज उपमहानगरपालिकासँग एकहजार किट छ । महाशाखाले स्वास्थ्य कार्यालयलाई तीन हजार एन्टिजेन किट पठाएको थियो । त्योमध्ये उपमहानगरपालिकालाई हजार किट दिइएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बताउनुभयो । बाँकी टिक अरु पालिकालाई बाँडिएको छ ।

अवस्था हेरेर एन्टिजेन किट प्रयोग गर्न पालिकाका स्वास्थ्य शाखालाई भनिएको पनि उहाँले बताउनुभयो । शंकास्पद व्यक्तिहरुलाई मात्र परीक्षण गरिने भएकाले एन्टिजेन किटको तत्काल अभाव नहुने स्वास्थ्य शाखा प्रमुख चन्दको दावी छ ।

नेपालगन्जको जमुनाह नाकामा स्थापना गरिएको हेल्थडेस्कमा स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मेकिडल अधिकृतसहित ६ जना कर्मचारीको दरबन्दी कायम गरेको छ। तीमध्ये ल्याब टेक्निसियन २ जना, नर्सिङ स्टाफ २ जना र पारामेडिक्स २ जना नाकामा खटिसकेका छन्।

सरकारले देशका १२ वटा नाकामा मेडिकल अधिकृतसहितको दरबन्दी सिर्जना गरेर सुविधा सम्पन्न हेल्थडेस्क राख्ने निर्णय गरेको थियो। त्यसमा नेपालगञ्ज नाकामा पनि परेको हो ।

  • १० चैत्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech