चालू आर्थिक वर्षमा बाँकेमा ५ सय बढी क्षयरोगी फेला

सरुवा रोगका रुपमा रहेको क्षयरोगका कारण बालबालिकादेखि बृद्धबृद्धासमेत पीडित छन् । बाँकेकै तथ्यांक हेर्ने हो भने चार वर्ष मुनिका ५८ जना बालबालिकामा क्षयरोगको संक्रमण देखिएको छ । यस्तै ५ देखि १४ वर्ष उमेर समूहका २१ बालबालिका क्षयरोगबाट पीडित भएको पाइएको छ ।


    • स्वास्थ्य पेज

  • १० चैत्र २०७७, मंगलवार

नेपालगन्जः चालू आर्थिक बर्षको हालसम्म बाँकेमा ५ सय बढी क्षयरोगी फेला परेका छन् । स्वास्थ्य कार्यालय बाँकेले विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा मंगलवार नेपालगन्जमा आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष ०७७ ०७८ मा ५ सय २५ क्षयरोगीका विरामी फेला परेको जानकारी दिएको हो ।

अघिल्लो आर्थिक वर्ष ०७६ ०७७ मा ८ सय ३३ विरामी फेला परेका थिए । नेपालमा कुल जनसंख्याको करिव आधा जनसंख्या क्षयरोगबाट संक्रमित रहेको अनुमान छ । तर पहिचान गरेर उनीहरुलाई उपचारको पहुँचमा भने ल्याउन नसकिएको सम्बद्ध सरोकारवालाहरुको भनाइ छ । सरुवा रोगका रुपमा रहेको क्षयरोगका कारण बालबालिकादेखि बृद्धबृद्धासमेत पीडित छन् । बाँकेकै तथ्यांक हेर्ने हो भने चार वर्ष मुनिका ५८ जना बालबालिकामा क्षयरोगको संक्रमण देखिएको छ ।

यस्तै ५ देखि १४ वर्ष उमेर समूहका २१ बालबालिका क्षयरोगबाट पीडित भएको पाइएको छ । हालै सम्पन्न राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्भेक्षणले नेपालमा वार्षिक ६९ हजार नयाँ बिरामीहरु थपिने अनुमान छ । स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकलपर्सन मानव नेपालीका अनुसार, जनचेतनाको अभाव, लापरवाहीलगायतका कारण मानिसहरुले चेकजाँच नगराउँदा क्षयरोगीहरुको पहिचानमा समस्यामात्र छैन उनीहरुलाई उपचारको पहुँचमा ल्याउन समेत कठिन भइरहेको छ ।

जस्का कारण क्षयरोग फैलिनेक्रम बढ्दै गएको छ । नियमित रुपमा औषधि सेवन गरे क्षयरोग पूर्णरुपमा निको हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले क्षयरोगको औषधि नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुमा निशूल्क पाइने जानकारी दिनुभयो ।

यो वर्षको विश्व क्षयरोग दिवस भोलि बुधवार मनाइदैछ । ‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ मनाइने भएको हो । दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका सरोकारवालाहरुसँग आज नेपालगन्जमा छलफल गरेको छ । सन् १९९३ मा विश्व स्वास्थ्य संगठनले क्षेयरोगलाई जनस्वास्थ्य समस्याको रुपमा घोषणा गरी यसको व्यवस्थापनका लागि नयाँ नीति तथा कार्यक्रमहरुमा जोड दिदै आएको छ।

कार्यक्रममा बोल्ने सहभागीहरुले क्षयरोग निवारणका लागि सबैको हातेमालो आवश्यक रहेको बताएका थिए । जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले क्षयरोगको रोकथाम, निनाद र नियन्त्रणका लागि सबैको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । उहाँले एक्लैले मात्र क्षयरोग निवारण सम्भव नभएकाले सबैले यसको पहिचान र निदानमा भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मीलगायतको सहभागीता रहेको थियो ।

  • १० चैत्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech