सरकारले प्रदेशका मातहत कार्यालयलाई भन्यो-कोरोना संक्रमण नियन्त्रण प्रभावकारी गराऊ

विदेशबाट आएका व्यक्तिलाई क्यारेन्टिनमा राख्न, रोगको निगरानीलाई चुस्तदुरुस्त पार्न पनि निर्देशन


    • स्वास्थ्य पेज

  • ९ चैत्र २०७७, सोमबार

काठमाडौंः सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्ने सक्ने जोखिमलाई ध्यानमा राखी रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन सातै प्रदेशका मन्त्रालय मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भारतमा सङ्क्रमण बढिरहेकाले नेपालमा पनि बढ्नसक्ने जोखिमलाई दृष्टिगत गर्दै सङ्क्रमणको रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन मन्त्रालयका मातहतका सबै कार्यालयलाई निर्देशन दिएको बताउनुभयो ।

मन्त्रालयले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय, सङ्घीय प्रादेशिक अस्पताल, स्वास्थ्य सङ्घसंस्था, सबै जिल्लास्थित स्वास्थ्य कार्यालय र सीमा नाका सहायता कक्षमा सतर्कता अपनाउन निर्देशन दिएको भन्‍दै उनले भारतबाट प्रवेश गर्ने नाकामा रहेको सहायता कक्षमा ज्वरो आएका यात्रुको मलेरियाको आरडिटी परीक्षण गर्न र कोभिड–१९ को एन्टिजेन परीक्षणसमेत गर्न निर्देशन दिनुभयो । यसरी परीक्षण गर्न सङ्क्रमण देखिएकाको उपचारको व्यवस्था गर्न स्वास्थ्य सङ्घसंस्थासँग समन्वय गर्न भनिएको छ ।

यस्तै विदेशबाट आएका व्यक्तिलाई क्यारेन्टिनमा राख्न, रोगको निगरानीलाई चुस्तदुरुस्त पार्न पनि निर्देशन दिइएको छ । मन्त्रालयले सङ्क्रमण खोजी गर्न र कन्ट्याक्ट टे«सिङको कार्यलाई पनि बढाउन भनेको छ ।

मन्त्रालयले हिजो नेपालमा पनि सङ्क्रमण बढ्न सक्ने अवस्थालाई दृष्टिगत गर्दै देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, बैठक र भीडभाड हुने कार्य नगर्न/नगराउन निर्देशन दिएको थियो । मन्त्रालयका प्रवक्ता डा गौतमले भारतमा सङ्क्रमण बढेकाले भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुनपानीले राम्रोसँग हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न आग्रह गर्नुभयो ।

नेपालमा अहिलेसम्म दुई लाख ७५ हजार ९०६ जनामा सङ्क्रमण देखिएको छ । यस्तै दुई लाख ७१ हजार ९२१ जनामा सङ्क्रमणबाट निको र तीन हजार १६ जना सङ्क्रमणको कारणले निधन भइसकेका छन् ।

  • ९ चैत्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech