कोरोनाको दोस्रो चरणः जमुनाह नाकामा के छ तयारी ?

अहिले जिम्मेवार मानिसहरू नै गैरजिम्मेवार बनिरहेका छन् । ठूला–ठूला राजनीतिक भेलाहरू भइरहेका छन् । मानिसले माक्स लगाउन छोडिसकेका छन् । पुरानै अवस्थामा बिहे तथा भोज हुन थालेका छन् । यो चिन्ताको विषय भएको सम्बद्ध सरोकारवालाहरुको भनाइ छ ।


    • प्रियास्मृति ढकाल

  • ९ चैत्र २०७७, सोमबार

नेपालगन्जः छिमेकी देश भारतमा दोस्रो चरणको कोरोना भाइरस महामारी फैलिएसँगै नेपाल सरकारले सचेत रहन सबैलाई आग्रह गरिसकेको छ । त्यतिमात्र होइन् नेपालमा संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गरेर सभा, लुजुस, ¥याली, भेला, जमघट, गोष्ठि, सेमिनार, बैठक तथा भिडभाड हुने कार्य नगर्न पनि सरकारले भनिसकेको छ ।

भारतमा अस्वभाविकरुपमा भाइरस संक्रमितको संख्या बढेसँगै नेपालमा कोरोना भाइरसको जोखिम उच्च देखिएको हो । रोजगारीको शिलशिलामा भारत पुगेका नेपालीहरु स्वदेश फर्किन थालेका छन् । सुदूरपश्चिमका विभिन्न नाका भएर अहिले नेपालीहरु आउनेक्रम सुरु भएको त्यहाँका सुरक्षा अधिकारीहरुले बताएका छन् ।

जस्का कारण नेपालमा दोस्रो चरणको कोरोना महामारीको जोखिम बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् । भारतको उत्तरप्रदेशमा पनि दोस्रो चरणको कोरोना भाइरसको संक्रमण फैलिदै गएको बताइएको छ । स्वास्थ्यकर्मीहरु भन्छन्–‘उत्तरप्रदेशमा दोस्रो चरणको भाइरस संक्रमण फैलिएको हो भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आइसक्यो भन्दा पनि हुन्छ ।’

दोस्रो चरणको कोरोना भित्रिए तयारी के छ ?

कोरोना भाइरसको महामारी शुरु हुँदा विश्वभरीकै विभिन्न राष्ट्रहरुले लकडाउन गरेका थिए । नेपालले पनि लकडाउन ग¥यो । गएको चैत ११ गतेदेखि सुरु भएको लकडाउन साउन ६ गते राती मात्रै हटाइयो । त्योपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र बन्दै राखेर । र करिव त्यसको तीन महिनापछि मात्रै खुले ।

पहिलो चरणको महामारीमा सरकारले व्यापक तयारी गरेको थियो । स्थानीय सरकारले क्वारेन्टिन बनाए । आइसोलेसन सेन्टर स्थापना गरे । भारतबाट आउनेलाई अनिवार्य स्वास्थ्य जाँचसँगै १४ दिनसम्म तीनै क्वारेन्टिनमा राख्ने व्यवस्था गरियो । विस्तारै संक्रमण कम हुँदै गएपछि क्वारेन्टिन तथा आइसोलेसन सेन्टर बन्द भइसके ।

क्वारेन्टिन र आइसोलेसन सेन्टर खोलिएका विद्यालयमा अहिले पठनपाठन भइरहेको छ । नाकाहरुमा स्थापना गरिएका हेल्थ डेस्क के गर्दैछन् थाहा छैन् । मास्कको प्रयोग, भौतिक दुरीको पालना र मिचिमिचि हात धुने भन्ने कुरा पनि लगभग विर्सिसकेको जस्तो देखिन्छ । यो हिसावले हेर्दा दोस्रो चरणको महामारी भित्रिए तयारी शुन्य जस्तै छ भन्दा हुन्छ ।

त्यति तयारीकाबीच पनि पहिलो चरणमा यसक्षेत्रमा भाइरस संक्रमण तीब्र गतिमा फैलनुको कारण भारतबाट आउने नागरिकहरुलाई तत्काल व्यवस्थापन गर्न नसक्नु नै थियो । भारतले गरेको लकडाउनका कारण थुप्रै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबासी स्वदेश फर्किदा भाइरस लिएर घरघर, टोलटोल पुगे । जस्का कारण संक्रमण दर ह्वात्तै बढ्यो ।

अहिलेपनि भारतले विभिन्न ठाउँमा लकडाउन गर्न थालेपछि नेपालीहरु स्वदेश फर्किन सुरु गरेका छन् । सुदूरपश्चिमको गड्डाचौकी नाका भएर फर्किएका एकजनालाई एन्टिजेन्ट परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । बैतडी दोगडकेदार गाउँपालिका ती पुरुषमा भाइरस संक्रमण पुष्टि भएपनि नयाँ भाइरस भए नभएकोबारे भने पुष्टि भएको छैन् ।

तर जोखिमको संकेत चाही यसले गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसेर अव के गर्ने भन्नेबारे निर्णय लिइने बताउँनुहुन्छ । ‘अहिलेसम्म तयारी केही भएको छैन् उहाँले भन्नुभयो–‘आजभोलिमा बैठक बसेर निर्णय लिन्छौं ।’

नाकामा के छ तयारी ?

नेपालगन्जको जमुनाह नाकाबाट नेपालीहरु फर्किनेक्रम पनि बढ्दै गएको छ । रोजगारको शिलशिलामा भारत पुगेकाहरु फर्किनेक्रम बढेको नाकामा खटिएका सुरक्षाकर्मीहरु बताउँछन् । तर उनीहरुको अहिलेसम्म न स्वास्थ्य परीक्षण भएको छ न त उनीहरुमाथि निगरानी नै राखिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द भने नाकामा उच्च सजगता अपनाइएको दावी गर्नुहुन्छ ।

‘पहिलो चरणको भाइरस संक्रमणका बेला नाकामा हेल्थ डेस्क राखेका थियौं बीचमा केही समस्या भयो उहाँले स्वास्थ्य पेजसँग भन्नुभयो–‘अहिले ल्यावसहितको स्वास्थ्यकर्मीको टीम परिचालन भइसकेको छ, दुई तीन दिनमै फेरि औपचारिकरुपमा उद्घाटन गर्छौ ।’ अहिले ल्याव टेक्निसियनसहित दुईजना नर्सिङ स्टाफ र दुई जना प्यारामेडिक्सगरी पाँचजना खटिएको उहाँको भनाइ छ । ल्यावसहितको टीम खटिएकाले एन्टिजेन्ट परीक्षणमार्फत भाइरस संक्रमण पुष्टि गर्ने काम नाकामै हुने उहाँको भनाइ छ ।

जमुनाह नाकामा हेल्थ डेक्सको स्थायी संरचना नै बनाउने तयारी भइरहेको छ । स्थायी संरचना नहुँदा कर्मचारी बस्न गाह्रो थियो उहाँले भन्नुभयो–‘अव त्यहाँ स्थायी संरचना नै बन्दै छ ।’ त्यस्का लागि ५१ लाख बजेट आउँदै छ । त्यहीबाट भवन बन्ने छ । र, चिकित्सकसहितको टोली हेल्थ डेक्समा खटिने छ ।

जिम्मेवार मानिस नै गैरजिम्मेवार

भारतबाट आउने मानिसबाट पहिलो लहर फैलिए झै दोस्रो लहर पनि फैलिने जोखिम बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् । पछिल्ला दिनमा नेपालमा मानिसहरूको व्यवहार पुनः पुरानै अवस्थामा फर्किनु पनि चिन्ताको विषय भएको स्वास्थ्य निर्देशनालय दीपायलका निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो ।

‘मानिसको यस्तो व्यवहारले सिस्टम थाक्न थालेको छ । र, यस्तो समयमा कोरोना पुनः सक्रिय बन्न थाल्छ’, उहाँले भन्नुभएको छ । अहिले समाजमै कोरोना रहेकाले समयमै सावधानी नअपनाए भारतबाट आउने मानिसबाट फैलिन थप टेवा पुग्ने भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेको तर्क छ ।

अहिले जिम्मेवार मानिसहरू नै गैरजिम्मेवार बनिरहेका छन् । ठूला–ठूला राजनीतिक भेलाहरू भइरहेका छन् । मानिसले माक्स लगाउन छोडिसकेका छन् । पुरानै अवस्थामा बिहे तथा भोज हुन थालेका छन् । यो चिन्ताको विषय भएको सम्बद्ध सरोकारवालाहरुको भनाइ छ । पहिलो लहरलाई फैलन नदिन भारतबाट स्वदेश फर्केकालाई क्वारेन्टाइनमा राखि व्यवस्थापन गरिएको थियो भने संक्रमितहरुलाई आइसोलेसनमा राख्ने काम गरिएको थियो।

पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएपछि आइसोलेसन बन्द अवस्थामा रहेका छन भने नाकामा पनि परिक्षण गर्न छोडिएको थियो ।

  • ९ चैत्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech