भारतमा कोरोना बढेपछि सुदूरपश्चिम प्रदेशमा उच्च सतकर्ता, नाकामा स्वास्थ्य परीक्षणको तयारी

    • स्वास्थ्य पेज

  • ८ चैत्र २०७७, आईतवार

धनगढीः सुदूरपश्चिम प्रदेशसँग सीमाना जोडिएको छिमेकी मुलुक भारतमा कोरोना संक्रमण पुनः बढेसँगै सुदूरपश्चिमका सीमा नाकामा सतकर्ता बढाइएको छ। भारतमा कोरोनाको दोस्रो लहर सुरु हुँदै गर्दा भारतबाट आउने नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने तयारी प्रदेश सरकारले गरेको हो।

संघीय सरकारले सीमा नाका खुला गरे पनि नेपाल आउने भारतीय नागरिकलाई भने अनिवार्य स्वास्थ्य रिर्पोट आवश्यक पर्ने गरेको थियो। तर, पछिल्लो समय भारतमा पुनः कोरोना संक्रमण बढेपछि त्यहाँबाट आउने सवै नागरिकको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको सामाजिक विकास मन्त्रालयका प्रबक्ता नरेन्द्रसिंह कार्कीले बताउनुभयो ।

सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालयमार्फत दोस्रो लहरको संक्रमण जोखिमलाई ध्यान राखेर सीमा नाकाबाट भित्रिनेहरूको अनिवार्य परीक्षण गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

कैलालीको गौरीफन्टा नाका, कञ्चनपुरको गड्डाचौकी नाकामा अनिवार्य एन्टिजेन विधीबाट कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको उहाँको भनाइ छ । सीमामा गरिने परीक्षणका क्रममा कुनै पनि नागरिकमा कोरोना पोजेटिभ देखिए अस्पतालको आइसोलेसनमा राख्ने व्यवस्था मिलाउनसमेत स्थानीय तहलाई पत्राचार गरिएको उहाँको भनाइ छ ।

यस्तै भारतबाट स्वदेश आउने सवै नागरिकलाई १० दिन अनिवार्य सेल्फ क्वारेन्टिनमा बस्न मन्त्रालयले आग्रह गरेको छ। शुक्रबार भारतमा एकै दिन ४३ हजारभन्दा बढी कोरोना संक्रमति थपिएका थिए।

  • ८ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech