गर्भमा छोरा छ कि छोरी डाक्टर साब !

    • कमला अधिकारी

  • ७ चैत्र २०७७, शनिबार

इन्द्रले छोरीको तस्वीर देखाउँदै चम्पालाई भन्छ, ‘हेर त हाम्री छोरी पुलिस अफिसर भएकी छे। छोरो किन चाहियो? बाबुआमाले जस्तो वातावरणमा हुर्कायो सन्तान त्यस्तै हुने हो चम्पा। तिम्रो बाल्यकाल दमनात्मक थियो। म यसो गर्छु भनेर थोरै भए पनि डिफेन्स गर्न सकेको भए…। संस्कारी बन्ने दाउमा आफ्ना सबै रहरको हत्या गर्‍यौ। त्यसैको उपज हो तिम्रो दिक्दारी…।’

छोरीको तस्वीर हेर्दै चम्पाले छोरीलाई गरेको अपमान सम्झिन्छे।

‘पेसेन्ट नम्बर सिक्स…चम्पा…।’

ऊ भिडिओ एक्सरे गर्न बेडमा सुत्छे।

‘छोरा, छोरी के छ डाक्टर साब, भनिदिनुस् न !’

डाक्टर सुनेको नसुन्यै चम्पाको कुरा टार्न खोज्छन्, ‘तपाईंको पेटमा हुर्किँदै गरेको बच्चा स्वस्थ छ। फेरि अर्को महिना चेकअपका लागि आउनुहोला।’

चम्पा जिद्दी गर्छे, ‘डाक्टर साब भन्नुस् न, के छ मेरो पेटमा। छोरी छ भने पेटमै तुहाइदिनुस्।’

‘के कुरा गरेको? पहिलो बच्चा, अनि आफैं छोरी भएर छोरीकै हत्या? लिंग पहिचान गरी भ्रूणहत्या गर्नु अपराध हो। गैरकानुनी काम हो। मबाट यस्तो काम हुन सक्दैन,’ इन्द्रले चम्पालाई फकाउँदै घर लैजान्छ।

चम्पा बाबुआमाकी कान्छी छोरी। बाबाकी निकै प्यारी थिई। आमाबुबाले दिएको शिक्षाले अनुशासित र सुशील जीवनयापन गरिरहेकी थिई।

एकदिनको कुरा हो। शनिबार चम्पा आफ्नै गाउँका अंकल पर्नेसँग हाटबजार गएर आएकी थिई।

‘आमा आज मलाई अंकलले निकै माया गर्नुभयो। अनि हात समाएर मेरो मुखमा चुप्पा खानुभयो,’ चम्पाले सुनाई।

‘चुप लाग। राम…राम…छोरी के बोलेकी! यस्तो कुरा त कसैलाई सुनाउन हुन्न छिः,’ आमाले चम्पाको मुख थुनिदिन्छिन्।

छोरीलाई सही र गलत छुट्याउन र सामना गर्न सिकाउनु त कहाँ हो कहाँ उल्टै त्यसदिनदेखि उसको मुख टालिन्छ। उसको जीवनमा यस्ता धेरै दुर्व्यवहार भएका थिए। तर बदनाम होला भन्ने पिरले ऊ दबाएर राख्छे। यसले उसको आत्मसम्मान पनि गिरिरहेको थियो।

एसएलसी सकिएपछि कमर्स पढ्ने उसको रहर थियो। बुवाले विज्ञान लिनुपर्छ भनेर बल गरे। बुबाको मन राख्नै भनेर विज्ञान लिएर निकै मिहिनेत गरेर बिएससी सकाई चम्पाले।

‘बाबा मास्टर्स गर्न म काठमाडौं जान्छु। तपाईंको यही एउटा जागिरले कति धान्न सक्नुहुन्छ र? पाएँ भने सानोतिनो जागिर पनि गर्छु। अनुभव पनि काम लाग्छ, पैसाको अभाव पनि कम हुन्छ।’

‘ल के बोलेकी? तिमी बढेकी छोरीलाई एक्लै म कसरी काठमाडौं पठाऊँ? अब त बिहे गर्ने कि भनी मामासँग कुरा चलाएको छु। केटो राम्रो परिवारको छ। बाउको सम्पत्ति पनि टन्नै रैछ। केटोले पढ्दैछ। पछि राम्रो काम गरिहाल्छ,’ बुवाले भने।

‘अब जन्म दिने तपाईंहरू। म त एउटा फूलजस्तो रहेछु। मालीले जसरी राख्न खोज्छ त्यसरी नै रहनुपर्ने। मेरो बोल्ने पालो अर्को जुनीमा छोरो भएर जन्मिएछु भने पक्कै आउला…’ चम्पाले मनमनै भनी। उसको वक्य फुटेन।

आमाबुवाको मन राख्न फेरि अर्कोपटक चम्पाले आफ्नो इच्छालाई आहुती दिई। बिहे भयो। संयुक्त परिवार थियो। घरमा पाहुना नआएको दिन बिरलै हुन्थ्यो। आफ्नी आमाले पाहुनाको सम्मान गर्नुपर्छ भनेर सिकाएकी थिइन्। त्यसैले चम्पा सबैको सत्कार मनैदेखि गर्थी। घरमा आउनेले पनि उसको सत्कारको तारिफ गर्थे।

तर चम्पा सबैलाई खुवाउँदा खुवाउँदै कति दिन आफू भोकै रहन्थी। काम सकेपछि आमाको फोन उठाउँथी। ‘मलाई निकै सुख छ आमा। आफ्नो ख्याल राख्नुस् है!’

आमा सुँकसुँक गर्दै भन्थिन्, ‘होइछ छोरी तिमी त माइत आउनै छाड्यौ। हाम्रो फोन उठाउन पनि कति दुःख मान्छ्यौ। छोरीको माया कति लाग्दोरहेछ आफूले पाएपछि थाहा पाउली।’

चम्पा बनावटी खित्का छाड्दै भन्छे, ‘आमा मैले त छोरी पाउँदिन नि। छोरै पाउने हो।’

एकदिन चम्पाको घरमा झारफुक गर्ने घारी बज्यै आउँछिन्, ‘ल चम्पा यो जडीबुटी खानू। तिम्रो महिनावारी सरासर हुन्छ। तिम्री सासूलाई छोराको सन्तान भएनन् भनेर कत्रो पिर छ। बिहे भएको चार वर्ष भइसकेछ। अब त सुरसार पनि हुनुपर्ने!’

चम्पा केही नबोली भित्र जान्छे। ऐनामा आफ्नो केस मिलाउँदै भित्तामा टाँसेको बच्चाको पोस्टर हेर्दै मुस्कुराउँछे। चम्पाको मनमा कता–कता लाजले कुत्कुताएजस्तो भान हुन्छ। भोलिपल्ट बिहानै चम्पा नुहाएर गणेशको पूजा गदै थिई। पछाडिबाट इन्द्रले जिस्क्याउँदै भन्छ, ‘हाम्री चम्पालाई मम्मी बन्न निकै रहर लागेजस्तो छ।’

‘छि, उता आमाले सुन्नुहुन्छ।  पूजा गरेको भक्तलाई जिस्क्याउनु हुन्न नि।’

‘ल नढाँटी भन त। भगवानसँग के माग्छ्यौ, छोरा कि छोरी?’

‘छोरो नि, भित्र पोस्टरमा भएको भुन्टे जस्तै।’

‘तर मलाई त छोरी चाहिन्छ नि!’

‘छोरी रहेछ भने त म पेटमै मारिदिन्छु। उसलाई जन्म दिएर उसको थिचिएको जीवन हेरेर सधैं दुखी हुनुभन्दा नदेख्दै बिट मारिदिनु बेस्। जति पढे-लेखे पनि छोरीलाई सधैं दबाबमा राखिन्छ। अलिअलि बोल्न थाल्यो, मुखाले भन्छन्। नबोले घुसघुसे। केही बन्न खोज्यो, कहिले बलात्कार कहिले एसिडको शिकार। म छोरीको सुरक्षा कसरी गरूँ? जीवन एकातिर, परिस्थिति अर्कोतिर अनि रहरहरू अँध्यारो ग्रहभित्र। पिलासले किला ठोकेझैं वचनहरू प्रहार हुन्छन्। यो असह्य पीडा सहँदै आफ्नो तनमनले अरूको सेवा गरी खुसीको बहार दिन सके संस्कारी भइने नत्र…।’

चम्पाका कुरालाई लिएर इन्द्र रातभरी सोच्छ- आफू छोरी भएर फेरि छोरीलाई नै यस्तो गर्न किन बाध्य हुन्छन् नारीहरू? चम्पाका मनमा धेरै रहर रहेछन्। उसलाई दिक्दारी लाग्दो हो आफ्नै जीवनदेखि। विज्ञान पढेकी एक तगडा केटी घर कुरुवा हुन परेको छ। उनी राम्रो जागिर खानुपर्ने। तर म केही गर्छु भनेर मलाई कहिल्यै भनिन।

चम्पा गर्भवती हुन्छे। उसको पेटमा छोरी हुर्किरहेकी थिई। इन्द्रले उसलाई सम्झाउँछ, बुझाउँछ। छोरी जन्मिन्छे। चम्पाले छोरीको अनुहार हेर्न निकै दुःख मान्छे। इन्द्रले निकै मन दुखाउँछ। आफ्नो घरमा छोरीको आगमन भएपछि इन्द्रले चम्पालाई झनै माया गर्न थालेको थियो। घरमा नातिनीको छुनुमुनुले रंग थपिरहेको थियो। छोरीको पालनपोषण सबै इन्द्र र उसकी आमाले गर्छिन्। छोरी राम्रोसँग पढ्दै हुर्किन्छिन्।

नातिनी हजुरआमा भनेपछि हुरुक्कै! इन्द्रले छोरी सुत्ने कोठामा साहसी महिलाहरूको तस्वीर राखेको थियो। छोरीलाई वीर र विरताको कथा सुनाउँथ्यो। उसलाई कसैले दुर्व्यवहार गर्न खोजे सातो उडाइदिन्थी। ऊ पढ्न काठमाडौं जान्छे। छोरी दुई वर्ष बाहिरको बसाइपछि घर आउँदा पुलिस अफिसर भएर आउँछे।

छोरीको फोटोमा घोरिएका चम्पा र इन्द्र अतीतमा घोत्लिन पुग्छन्। त्यत्तिकैमा इन्द्र झस्किन्छ। अनि भन्छ ‘कता हराएकी चम्पा?’

‘तिमीलाई अझै पनि हाम्रीजस्ती निडर छोरी पाउनुमा गर्व लागेको छैन? हेर न सबैको नजरमा ऊ ढकमक्क फुलेकी छे। चम्पाकी छोरी महाचम्पा।’

चम्पा आँखामा आएका आँसुलाई लुकाउन खोज्छे। मनमा चिसो पस्यो। आफ्नो विचार गलत रहेछ भन्ने बुझी। मुन्टो निहुराएर पारि डाँडातिर हेरीरही…अनि आफ्नो निडर छोरीसँग बारम्बार माफी मागिरही।

(लेखक कमला अधिकारी श्री बालसिद्ध मा.वि., स्याङ्जामा शिक्षक हुनुहुन्छ )


Nabintech