पर्याप्त पानीको अभावले बालबालिकामा कुपोषण र रोगको जोखिम : युनिसेफ

    • स्वास्थ्य पेज

  • ७ चैत्र २०७७, शनिबार

काठमाडौंः पर्याप्त पानीको अभावले बालबालिकामा कुपोषण र रोगको जोखिम बढेको संयुक्त राष्ट्रसङ्घ बालकोष युनिसेफले जनाएको छ ।विश्वका ८० भन्दा धेरै देशका बालबालिकाले पर्याप्त पानी पाउन सकेका छैनन् । विश्वमा हरेक पाँचमध्ये एक बच्चामा पानीको अभाव रहेको पाइएको छ । झण्डै ४५ करोड बालबालिकासहित एक अर्ब ४२ करोड मानिसमा पानीको उच्च अभाव रहेको युनिसेफले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

पाँच बालबालिकामध्ये एक जनालाई दैनिक आवश्यकता पूरा गर्नेगरी पानीको अभाव रहेको युनिसेफको पछिल्लो रिपोर्टमा उल्लेख छ । तुलनात्मक रुपमा पूर्वी र दक्षिणी अफ्रिकामा पानीको अभाव बढी छ । पूर्वी र दक्षिण अफ्रिकामा ५८, पश्चिम र मध्य अफ्रिकामा ३१, दक्षिण एसियामा २५ र मध्य पूर्वमा २३ प्रतिशत बालबालिकाले पानीको अभावको सामना गर्नुपरेको पाइएको छ ।

दक्षिण एसियामा झण्डै १५ करोड ५० लाख बालबालिका प्रभावित छन् । पाकिस्तान, अफगानिस्तान, केन्या, हैटी, बुर्किना फासो, इथियोपिया, नाइजेरिया, पपुआ न्यूगिनी, सुडान, तान्जानीया र यमनलगायतका ३७ देशका बालबालिका अरु देशको तुलनामा धेरै समस्याको सामना गर्नुपरेको पनि युनिसेफले जनाएको छ ।

युनिसेफका कार्यकारी निर्देशक हेनरीता फोरले पानीको सङ्कट देखिनुमा जलवायु परिवर्तनको नराम्रो प्रभावका रूपमा हेरिएको बताउनुभएको छ । सुख्खापन बढ्दै गए बालबालिका विद्यालय छोडेर पानी बोक्न बाध्य हुने पनि उहाँले बताउनुभयो । खडेरीले खाद्यान्न आपूर्तिमा कमी हुने र बच्चाहरूको शारीरिक वृद्धिमा प्रभाव पार्ने, कुपोषण हुने, पानीजन्य रोग फैलने जोखिमसमेत बढेको युनिसेफले जनाएको छ ।

  • ७ चैत्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech