बाँके पूर्ण खोप जिल्ला घोषणा

    • स्वास्थ्य पेज

  • ६ चैत्र २०७७, शुक्रबार

नेपालगन्जः बाँकेलाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरिएको छ । जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक अजय श्रीवास्तवले शुक्रबार नेपालगन्जमा आयोजित एक कार्यक्रम बीच पत्र पढेर जिल्ला पूर्ण खोप सुरक्षित भएको घोषणा गर्नु भएको थियो ।

घोषणसभामा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले बाँके पूर्ण खोप जिल्ला घोषणा हुन सफल भएकोमा सबैलाई बधाई दिदै खोपप्रतिको जागरण ल्याउन सम्बद्व सरोकारवालालाई निर्देशन दिनुभयो ।

उहाँले प्रदेशका सबै बालबालिकालाई उनीहरुले पाउनु पर्ने खोप प्राप्तिका लागि सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले बाँकी जिल्लालाई पनि तत्काल पूर्ण खोप घोषणा गरेर लुम्बिनी प्रदेशलाई नै खोप सुनिश्चित भएको प्रदेश घोषणा गरिने उल्लेख गर्नुभयो । बाल मृत्युदर रोक्नका लागि खोप अनिवार्य शर्त भएको उहाँको भनाइ छ।

बाँकेमा जन्मेदेखि १५ महिना उमेर समूहका १० हजार ९ सय ५६ जना बालबालिकाले खोप लगाएका छन् । छुटेका १६ देखि २३ महिना उमेर समुहका ९ सय ५४ जनाले पनि खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर भेषराज शर्माले जानकारी दिनुभयो ।

खोप छुटेका बालबालिकालाई घरघरमै पुगेर खोप दिइएको थियो । यसअघि जिल्लाका आठवटै पालिकालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको थियो ।

बाँके पूर्णखोप सुनिश्चिम जिल्ला घोषणा भएसँगै लुम्विनी प्रदेशका ९ जिल्ला पूर्ण खोप सुनिश्चित भएका छन् । १२ वटा जिल्लामध्ये अव बर्दिया, कपिलवस्तु र रुकुमपूर्व जिल्ला मात्रै पूर्ण खोप घोषणा हुन बाँकी छन् ।

जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक अजय श्रीवास्तवको सभापतित्वमा भएको पूर्ण खोप जिल्ला घोषणा सभामा प्रदेश सांसद आइपी खरेल, लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरी, राष्ट्रिय खोप समन्वय समितिका सदस्य सचीव डा झलक गौतम, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, महिला स्वास्थ्य स्वमसेविका अक्षकोषका संयोजक नारायणी रुपाखेती लगायतले आ-आफ्नो धारणा राख्नु भएको थियो ।

  • ६ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech