विद्यार्थीमा भाइरल ज्वरोः तीन विद्यालय पाँच दिनका लागि बन्द

    • स्वास्थ्य पेज

  • ५ चैत्र २०७७, बिहीबार

डोटीः डोटीको दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका तीन विद्यालय बन्द गरिएको छ । विद्यार्थीहरुमा भाइरल ज्वरो फैलिएपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको हो ।

विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएका कारण गगुडामा रहेका मष्टेश्वर माध्यमिक विद्यालय, वाल्मीकि आधारभूत विद्यालय र सिउँडी आधारभूत विद्यालय बन्द गरिएको शिक्षक चक्रबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएपछि अरु विद्यार्थीलाई नसरोस् भनेर विद्यालय बन्द गरिएको हो ।

विद्यालयमा विद्यार्थी आउनै नसक्ने र आएका विद्यार्थीमा पनि भाइरल ज्वरोको सङ्क्रमण तीव्ररुपमा फैलिएपछि त्यसको रोकथामका लागि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको वडाध्यक्ष वीरेन्द्र चन्दले जानकारी दिनुभयो ।

विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्नेजस्ता समस्या देखिन थालेका छन् । विद्यालयले गाउँपालिकाको शिक्षा शाखालाई जानकारी गराएर विद्यालय बन्द गराएको शिक्षक चन्दले बताउनुभयो ।

  • ५ चैत्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech