चस्मालाई बाफबाट कसरी जोगाउने?

    • स्मृति कटेल

  • ५ चैत्र २०७७, बिहीबार

आँखा संवेदनशील अंग हो। धुलोधुँवा हुने मौसम मात्रै होइन, कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न लगाइने मास्क पनि आँखाका लागि चुनौती बनेको छ। कोरोना भाइरसको संक्रमण नहोस् भन्नका लागि मास्क लगाउनुपर्नै बाध्यता छ। लामो समय मास्क लगाउँदा कानको जरा दुख्ने समस्या हुन्छ। छाला पोल्ने, पसिना आउने र श्वासप्रश्वासमा पनि मास्कले समस्या निम्त्याउँछ। यस्ता समस्याबाहेक मास्कको प्रयोग गर्दा आँखामा पनि प्रत्यक्ष असर पर्छ। जस्तोकी, आँखामा सुख्खापन आउने, आँखा पोल्ने लगायतका समस्या भोग्नुपर्छ।

चस्मा लगाउर्नैपर्ने बाध्यता भएकाहरूका लागि मास्क थप बोझिलो बन्न सक्छ। चस्मा र मास्क लगाएको अवस्थामा सास फेर्दा बाफ सिधै चस्मामा गएर ‘कुहिरीमण्डल’ भएजस्तै देखिन्छ। चस्मामा बाफ गएर बस्दा सवारी चालकलाई अझ बढी समस्या हुन सक्छ। यसले दुर्घटनाको जोखिम पनि निम्त्याउने सम्भावना रहन्छ।

चस्मा र मास्क दुवै लगाउनु परेको अवस्थामा आँखा सुख्खा भएर केराटाइटिस नामको रोगसमेत आँखाको बाहिरी भागमा लाग्न सक्ने अनुसन्धानले देखाएको छ। केराटाइटिस भनेको आँखा सुख्खा भएको कारणले लाग्ने एक किसिको रोग हो। यो रोगको समयमै उपचार नभए दृष्टिमा समेत समस्या आउने खतरा हुन्छ।

कसरी हुन्छ समस्या?
मास्क लामो समयसम्म लगाउँदा श्वास फेर्ने क्रममा नाकको दुवै किनारबाट श्वासको हावा आँखातर्फको भागमा केन्द्रित हुन्छ। यसले आँसुलाई वाष्फीकरण गराउँछ। यो पक्रिया लामो समयसम्म चल्दा आँखाको बाहिरी भाग सुनिने समस्या देखा पर्छ। अनुहारमा अमिल्दो मास्क लगाउनु पनि त्यसको मुख्य कारण हो। अनुहारसँग अमिल्दो मास्कले गर्दा सामाजिक अन्तर्क्रियामा पनि धेरै असर पार्छ। जब बोल्न थाल्यो बाफ चस्माको सिसाको सतहमा भरिन थाल्छ। यो समस्याले मनोवैज्ञानिक असर निम्त्याउन पनि सक्छ। अरुले के भन्छन्, अरुले के सोचे होला जस्तो सोच आउन सक्छ।

चस्मालाई बाफबाट कसरी जोगाउने?
चस्मा र मास्क दुवै लगाउनुपर्दा चस्मामा बाफ जम्मा हुँदा समस्या हुने हो। कतिपय अवस्थामा अरू नै कारणले पनि समस्या हुन सक्छ। अनुहारमा फिट नहुने मास्क लगाउँदा मास्कले श्वासप्रश्वासलाई बाफ बनाएर चस्मातिर पठाउँछ। तर, फिट भएको मास्क लगाउँदा श्वासलाई माथि जानबाट रोक्न मद्दत गर्छ।

अनुहारमा फिट हुने मास्कमा नाकमा डबल साइडेड टेप प्रयोग गर्न सकिन्छ। त्यसलाई रामोसँग सिल्ड गराउनुपर्छ। डिफगिङ अर्थात् एन्टिफगिङको प्रोडक्टको प्रयोग गर्ने गर्दा पनि बाफबाट बच्न सकिन्छ। यो चस्मामा हुने कोटिङ हो। यसले बाफलाई हटाउने काम गर्छ।

हामीले कन्ट्याक लेन्सको प्रयोगले पनि यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ। कन्टयाक लेन्स आँखाको नानीमा बस्दा चस्मामा जस्तो बाफ जम्मा हुन पाउँदैन। कन्टयाक लेन्सको प्रयोगले चस्मामा हुने अनेक झन्झटबाट बच्न सकिन्छ साथै हेर्दा राम्रो पनि देखिन्छ।

एक अनुसन्धानका अनुसार चस्मा वा सनग्लासलाई साबुनपानीले धोएपछि सुख्खा बनाएर माइक्रो फाइबरको कपडाले सफा गर्नपर्छ। तर, चस्मामा कहिल्यै पनि स्याम्पु, मन्जन, वा सेभिङ क्रिमको प्रयोग गर्न हुन्न। किनभने त्यसले लेन्सलाई डयामेज गर्छ।

(कटेल तिलगंगा आँखा अस्पतालमा कार्यरत छिन्।)

  • ५ चैत्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech