कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति हुन २१ जनाको आवेदन

    • स्वास्थ्य पेज

  • २ चैत्र २०७७, सोमबार

नेपालगन्जः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि चिकित्सकहरुबीच चर्को प्रतिस्पर्धा देखिने भएको छ । १५ दिनअघि रिक्त प्रतिष्ठानको उपकुलपतिका लागि २१ जनाको आवेदन परेको छ । सरकारले एक हप्ताअघि उक्त प्रतिष्ठानका उपकुलपतिका लागि आवेदन माग गरेको थियो ।

सरकारले गठन गरेको उपकुलपति सिफारिस समितिले आइतबारसम्म आवेदन दिन समय तोकेको थियो । तोकिएको समयभित्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २१ जनाको आवेदन परेको हो । प्रतिष्ठानको उपकुलपतिका लागि कार्यबाहक उपकुलपति डा मंगल रावल, निवर्तमान उपकुलपति प्रा.डा राजेन्द्र वाग्ले, डिन डा. रेशम राना, रेक्टर निरेश थापा, डा. सुर्यमान लिम्बु, प्रा.डा तरुण पौडेल, डा. राजीव साह, प्रा. डा रामप्रसाद उप्रेती, प्रा.डा. गेहनाथ बराललगायतले २१ जनाले आवेदन दिएका छन् ।

त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १२ जना र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पनि १२ जनाकै आवेदन परेको मन्त्रालयले जनाएको छ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको अध्यक्षतामा गठन गरेको सिफारिस समितिले आवेदकमध्येबाट तीन जनाको नाम उपकुलपतिका लागि कुलपति प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सिफारिस गर्नेछ । उक्त सिफारिस समितिमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल र राष्ट्रिय योजना आयोगकी शिक्षा, स्वास्थ्य हेर्ने उषा झा सदस्य रहनुभएको छ ।

  • २ चैत्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech