दुरा जातिको परम्परागत उपचार विधि : कुन रोगमा कुन जडीबुटी खाने ?

    • स्वास्थ्य पेज

  • २ चैत्र २०७७, सोमबार

नेपालमा आधुनिक उपचार पद्धतिको सुरुवात हुनुभन्दा पहिले धामीझाँक्रीमा मात्रै मान्छेले विश्वास गरेर बस्ने गर्दैन’थे । आधुनिक चिकित्सा पद्धतिको विकास हुनुपूर्व नेपालका अधिकांश जातिमा एकजना वैद्यको व्यवस्था गरिएको हुन्थ्यो । तिनै वैद्यहरुले आयुर्वेदिक उपचार विधि अनुसार बिरामीको अवस्था हेरेर विभिन्न जडिबुटी खुवाउने गर्थे ।

दुरा समुदायमा पनि बिरामी हुँदा खुवाउने जडीबुटीको सूची छुट्टै छ । जडीबुटीहरुको उपलब्धता, प्रयोग र मात्राका सम्बन्धमा दुराहरूमा परम्परागत ज्ञान रहेको पाइन्छ । दुराहरूले विभिन्न रोगहरूमा फरक-फरक किसिमका जडीबुटीहरू प्रयोग गर्ने गर्छन् ।

दुराहरुले कुन जडीबुटी के-को लागि र कसरी प्रयोग गर्छन् ?

रुदिलो

रुदिलोको प्रयोग ज्वरो आएमा र मुखमा खटिरा आएमा प्रयोग गरिन्छ । यसको पात र जरा ओषधिको रुपमा प्रयोग गर्ने गरिन्छ । यसको पातलाई थिचेर टाउकोमा लेप लगाउने, जरालाई घोटेर वा थिचेर लगाउने गरिन्छ ।

डाडुझार (ठूलो खाले)

यो जडीबुटीको प्रयोग बच्चाको टाउकोमा खटिरा आएमा प्रयोग गर्ने गरिन्छ । यसको पातलाई थिचेर त्यसको रसले नुहाउने गरिन्छ ।

गन्धेझार

हात/खुट्टा काटेमा गन्धेझारको पात लगाउने गरिन्छ । यसको पातलाई निचोरेर रस निकाली काटेको भागमा लगाउने गरिन्छ ।

वासुकी

वासुकी भन्ने जडीबुटीलाई ज्वरो, ग्याष्ट्रिक रोगको निवारणको लागि प्रयोग गरिन्छ । यसको फललाई पकाएर रस पिउँदा सो समस्या निवारण हुन्छ भन्ने विश्वास छ ।

गुर्झो

पिसाब रोकिएमा वा गर्मी भएमा गुर्झाेको प्रयोग गर्ने गरिन्छ । यसको लहरालाई पिसेर रस बनाई पिउँदा उक्त समस्या समाधान हुन्छ भन्ने मान्यता राखिन्छ ।

बिरालेको लहरा

पेट पोलेको समस्यालाई बिरालेको लहराले समाधान गर्ने बताइन्छ । बिरालेको लहराको बोक्रा बोक्रालाई पानीमा भिजाउने र यसवाट निस्केको चिप्लो झोल पिउने, अर्काेतर्फ अलैंची र चिप्ले किराको फूल मिसाएर पनि उक्त समस्याको निवारण गर्न सकिन्छ भन्ने मान्यता छ ।

मालबु केराको जरा

मालुवा केराको जरालाई आँतमा गर्मी भएको खण्डमा प्रयोग गर्ने गरिन्छ । उक्त समस्याको लागि मालुवाको जरा कुटेर रस पिउने गरिन्छ ।

पुरानेको लहरा

आँखामा फुलो परेमा पुरानेको लहरा लगाउने चलन पाइन्छ । यसको लहरा काटने र लहरालाई मुखले जोडले फुक्ने गरिन्छ । लहराको स–सानो छिद्रबाट निस्कने पानीको रसलाई आँखामा आइड्रपको रूपमा लगाउने गरिन्छ ।

बेतलौरी

गर्मी भएमा बेतलौरीको प्रयोग गर्ने चलन दुरा समुदायमा पाइन्छ । आँतमा भित्री ज्वरो आएमा पनि बेतलौरीको रुखको डाँठलाई थिचेर रस निकाली पिउने गरिन्छ । यसले उक्त समस्यालाई निको गराउँछ भन्ने मान्यतार राखिन्छ ।

हडचुर

हडचुर भन्ने जडीबुटी हातखुट्टा भाँचिएमा प्रयोग गर्ने गरिन्छ । यसको प्रयोग बोक्रालाई पिसेर भाँचिएको ठाउँमा डोरीले बाँध्ने र सोही औषधि लगाउने गरिन्छ ।

शिकारी लहरा र जरा

शिकारी लहरा र त्यसको जरा टाउको दुखेको उपचारको लागि प्रयोग गरिन्छ । हड्डी भाचिएमा र मर्किएमा यसको लहरालाई घाममा सुकाउने र सुकेको लहरालाई ढिकीमा कुटेर पीठो बनाई चामलको पीठोसँग मिसाएर पुवा वा रोटी बनाएर खाने गरिन्छ ।

थिर्चो, कन्धने लहरा, हरचुल

यी तीन जडीबुटी ढाड दुखेको, हड्डी भाँचिएको र मर्किएको ठाउँमा लगाउने गरिन्छ । त्यसमा यसका लहरा गाना आदि काम लाग्छन् । कन्धनेको गाना र हरचुलको बोक्रा ढिकीमा कुटेर पीठो बनाई चामलको पीठोसँग मिसाएर पुवा, रोटी बनाएर खाने गरिन्छ । साथै लेप लगाउने पनि गरिन्छ ।

आकाशबेली झार

जण्डिसको लागि आकाशबेली झारको प्रयोग गर्ने गरिन्छ । लहरालाई थिचेर त्यसको रस पिउने, झार ओछ्याएर सुकाएर पनि त्यसलाई पिस्न सकिन्छ ।

गाइखुरे

गाइखुरे भन्ने जडीबुटीको डाँठ÷जराको प्रयोग हड्डी भाँचिएमा गरिन्छ । डाँठ र जरालाई पिसेर पीठो बनाई रोटी बनाएर खाने गरिन्छ ।

सुनगाभा/झ्याउ फूल

हड्डी भाँचिएमा यसको डाँठ र फूलको प्रयोग गर्ने गरिन्छ । डाँठ वा फूललाई पिसेर पीठो बनाउने र भाँचिएको ठाउँमा लगाई काम्रो बाँध्दा यसको सही उपचार पाइन्छ भन्ने मान्यता राखिन्छ ।

भुइँचम्पा

भुइँचम्पाको जरा र गानोलाई हात÷खुट्टा भाँचिएको समस्या समाधानको लागि प्रयोग गर्न सकिन्छ । यसको जरालाई पिसेर भाँचिएको ठाँउमा लेप लगाई बाँसबाट बनेको काम्रोले बाँध्ने गरिन्छ ।

रानी सिन्का झार

रानी सिन्का झारलाई पेट दुखेको बेलामा लगाउन सकिन्छ । ग्याष्ट्रिक भएको अवस्थामा बोटको कलिलो भागलाई थिचेर÷माडेर सुर्ती जस्तै गरेर खाने गरिन्छ ।


Nabintech