भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डे भन्छन्–‘जेष्ठ नागरिकका लागि कोरोना खोप अमृत समान हो, ढुक्क भएर लगाऔं’

    • स्वास्थ्य पेज

  • २३ फाल्गुन २०७७, आईतवार

आजदेखि ६५ वर्षमाथिका नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाइँदैछ । भाइरस संक्रमणको जोखिम अझैपनि कायमै रहेका बेला नेपालमा दोस्रो चरणको खोप अभियान अन्तर्गत जेष्ठ नागरिकलाई आजदेखि खोप लगाउन लागिएको छ ।

कैयौं विकसित राष्ट्रहरु खोपको पखाईमा बसिरहेका बेला नेपालजस्तो अल्पविकसित देशमा सरकारले भाइरस संक्रमणविरुद्ध खोपको अभियान नै चलाइसकेको छ । यस्लाई सबैभन्दा ठूलो र सकारात्मक उपलब्धीका रुपमा विज्ञहरुले अथ्र्याइरहेका छन् । पहिलो चरणमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, कुटनीतिक नियोगका अधिकारी, पत्रकारदेखि संघीय सांसदहरुले समेत खोप लगाइसकेका छन्।

कोरोना भाइरसलाई परास्त गर्न खोपको विकल्प नभएको बताइएपनि खोप लगाइसकेपछि देखिएका केही ‘साइडइफेक्ट’ले भने आशंका पैदा गरेको छ । सुरुवाती चरणमा योङग् उमेर समूहलाई खोप लगाइएको थियो । उनीहरुमध्ये केहीमा गम्भीरै असर नदेखिएपनि सामान्य ‘साइडइफेक्ट’ भने देखियो ।

खोपप्रतिको शैशंयता कायमै रहेका बेला जेष्ठ नागरिकलाई खोप लगाउँदा झन जोखिम त बढ्ने होइन् ? जेष्ठ नागरिक सबैले खोप लगाउँदा हुन्छ ? जेष्ठ नागरिकका लागि खोप कति उपयोगी छ ? यिनै बिषयमा केन्द्रीत रहेर भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेसँग कुराकानी गरेका छौं ।

-नेपालमा बालबालिकालाई विभिन्न खोप लगाउने गरिएको सुनिएको थियो तर जेष्ठ नागरिकलाई खोप लगाइन्छ भन्ने थाहा थिएन, कोरोना विरुद्धको खोप जेष्ठ नागरिकलाई लगाइदै छ नि ?
विभिन्न रोग लाग्नबाट जोगाउन खोप लगाउने गरिन्छ । प्रायः नेपालमा बालबालिकालाई खोप लगाउने र ठूलो उमेर समूहका व्यक्तिहरुलाई खोप लगाउने चलन छैन् । ठूलो उमेर समुहका व्यक्तिहरुलाई खोप लगाउँदा आशंकाहरु आउने गरेका छन्। यो स्वभाविक पनि हो । कोरोना महामारीमा त झन धैरै हल्लाहरु फिजिए ।

तर नेपालमा शुरुमै स्वास्थ्यकर्मीहरुले खोप लगाएर यसको सकारात्मक सन्देश प्रवाह गरिसकेका छौं । त्यस्तो अवाञ्छित घटना भएनन् । सामान्य रुघा लाग्नु, ज्वरो आउनुजस्ता समस्या देखिएपनि गम्भीर खाले समस्या देखिएन् । त्यसैले कोभिडबाट बच्नका लागि कोरोना भाइरस विरुद्धको यो खोपको विकल्प छैन् । जेष्ठ नागरिकहरुका लागि यो अमृत समान नै हो । ढुक्क भएर लगाऔं।

-योङग् नागरिकलाई खोप लगाउँदा नै त्यसको ‘इफेक्ट’हरु देखिएका बेला जेष्ठ नागरिकहरुलाई लगाउँदा झन जोखिम देखिने पो होकी ?
हामीले बुझ्नु पर्ने कुरा के छ भने विकसित देशहरुमा ६५ वर्ष पुगिसकेपछि निमोनिया, इन्फ्ल्युन्जालगायतको खोपहरु दिने गरिन्छ । नेपालमा भने उही बालबालिकालाई दिने खोपहरुको बारेमा मात्र मानिसहरुलाई थाहा छ । इन्फ्ल्युन्जाको जसरी खोप लगाइन्छ त्यस्तै खोप हो कोरोना विरुद्धको । जुन जोखिम उमेर समूह छ ६५ वर्षमाथिको यो उमेर समूहले कोभिड खोप लगाउन झन् जरुरी छ । यसले असर गर्ने होइन उहाँहरुलाई कोभिडबाट जोगाउन अमृत समान काम गर्छ ।

-उसो भए जेष्ठ नागरिक सबैले लगाउँदा हुन्छ ?
त्यसमा केही पहिचान गरिएको छ । सबैलाई खोप दिन भनिएको छैन् । जस्तै ज्वरो आइरहेको छ भने लगाउनु हुँदैन् । प्लाज्मा चढाएर औषधि लिरहेका त्यस्ता व्यक्तिले ४ देखि ८ हप्तासम्मका पनि लगाउनु हुँदैन् ।

रगत पातलो बनाउने औषधि खाइरहेका व्यक्तिहरुले खोप लगाउनु हुदैन भन्ने जुन कुराहरु सुनिएका छन् त्यसो होइन् । उहाँहरु चनाखो हुनु पर्छ भनेको चाही हो । रगत पातलो गराउने औषधि खाइरहेको छ भने खोप लगाउने ठाउँमा रगत जम्न सक्छ । तर त्यस्तो व्यक्तिले खोप लगाउनु हुदैन भन्ने चाही होइन् ।

अर्को कुरा, एलर्जी भएका विरामीले पनि खोप लगाउनु हुदैन भन्ने कुरा सुनिएका छन । त्यो पनि गलत हो खोपसँग एलर्जी छ भने नलगाउने हो तर अरु कारणले एलर्जी छ भने लगाउनु हुदैन् भन्ने चाही होइन् । जस्तैः सिटामोलले एलर्जी हुन्छ भने खोप लगाउनु हुदैन भन्ने चाही होइन् ।

-खोप लगाइसकेपछि कस्ता असरहरु देखिन सक्छन् ?
अव सामान्यतः ज्वरो आउन सक्छ । खोप लगाएको दिन १२–१४ घण्टापछि ज्वरो आउँन सक्छ । त्यसमा सिटामोल खाए ठिक भइहाल्छ । खोप लगाइसकेपछि आधा घण्टासम्म खोप केन्द्रमै स्वास्थ्यकर्मीको निगरानीमा बस्नुपर्छ । र, सकेसम्म त्यो दिन घरमै आराम गर्दा राम्रो हुन्छ ।

-लक्षित वर्गलाई खोपको पहुँचसम्म ल्याउन परिवारको भूमिका कस्तो हुनु पर्छ ?
हाम्रो जस्तो अल्पविकसित देशमा खोप आएको छ । अनुदान भनौं, सहयोग भनौं वा नेपाल सरकारले खोप ल्याएको छ । यो खोप निःशुल्करुपमा लगाउने काम भइरहेको छ । कैयौं विकसित देशहरुमा अझैपनि खोप पुगेको छैन् । त्यसैले यो एउटा ठूलो मौका हो । त्यसैले यो मौका नगुमाउन आग्रह गर्छु ।

कोभिडबाट मृत्यु हुनेको उमेरगत संख्या हेर्दा अधिकांश जेष्ठ नागरिकहरु छन् । त्यसैले उनीहरुका लागि त झन यो कोशेढुंगा हो । उनीहरुलाई खोपबाट बञ्चित गराउनै हुदैन् । भ्रम र हल्लाका पछाडी लाग्नु भन्दा परिवारले त्यस्ता जेष्ठ नागरिकहरुलाई खोप केन्द्रसम्म लगेर ढुक्कका साथ खोप लगाउन आग्रह गर्दछु ।

  • २३ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech