११३ स्थानीय तहका स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोडबढी रकम निकासाको स्वीकृति

स्थानीय तहका सबै वडामा प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीति अनुसार २ हजार ६ सय २६ वटा वडामा स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा छन् ।


    • स्वास्थ्य पेज

  • १९ फाल्गुन २०७७, बुधबार

काठमाडौं: अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ शसर्त अनुदानका रुपमा निकासाको स्वीकृति दिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनहरुको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा रकम निकासामा स्वीकृत दिएको जानकारी दिनु भयो ।

स्थानीय तहका सबै वडामा प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीति अनुसार २ हजार ६ सय २६ वटा वडामा स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा छन् । स्वास्थ्य संस्थाको काम सम्पन्न भएको आधारमा वित्तीय हस्तान्तरणका रुपमा रकम पठाउने गरिएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालका अनुसार चालू आर्थिक वर्षमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ४ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यसमध्ये यसअघि २ अर्ब ६९ करोड रुपैयाँ २८ लाख ५८ हजार रुपैयाँ निकासा भइसकेको छ ।

अर्थ मन्त्रालयले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रम अन्तर्गत ५७ अर्ब ९७ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको थियो ।
सोही अनुसार गत मंसिर १५ गते ३ सय ८ वटा स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो ।

  • १९ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech