पाठेघर खस्ने समस्या के हो ? धेरैजसो कसलाई हुन्छ ?

    • स्वास्थ्य पेज

  • १७ फाल्गुन २०७७, सोमबार

महिलाहरूलाई हुने स्वास्थ्य समस्यामध्ये पाठेघर खस्नु एक प्रमुख समस्या हो। यसलाई अंग्रेजीमा ‘युटेरो भजाइनल प्रोल्याप्स’ भनिन्छ।

पाठेघर योनीमार्गमा आउनुलाई पाठेघर खसेको भनिन्छ। पाठेघर हाम्रो पेल्भिक क्याभिटीभित्र मूत्रथैलीको पछाडि, मलाशयको अगाडि हुन्छ। यसलाई मांसपेसी र लिगामेन्टले पेल्भिक क्याभिटीमा अड्याएर राख्न मद्दत गर्छ।

जब यो मांसपेशी र लिगामेन्ट्सको लचकतामा कमी हुन्छ, कमजोर हुन्छ वा कुनै समस्या आउँछ, तब पाठेघर आफ्नो ठाउँ छोडी तलतिर झोलिन्छ। यसरी झोलिनुलाई नै पाठेघर खस्नु भनिन्छ।

यो समस्या धेरैजसो कसलाई हुन्छ?

सामान्यतः वृद्ध महिला। महिनावारी बन्द भएका ४०-४५ वर्ष माथिकालाई।

-धेरै बच्चा पाइसकेका महिला। अचेल बच्चा नजन्माएकाहरूमा पनि यो समस्या देखिन थालेको छ।

-सुत्केरी अवस्थामा बलपूर्वक र भारी काम गर्नेमा। सुत्केरी अवस्थामा पाठेघर फुलेको हुन्छ। फुलेको पाठेघर ठीक ठाउँमा आउन करिब दुई महिना लाग्छ। पाठेघर ठीक ठाउँमा नआइकनै भारी काम गरेमा पाठेघर खस्ने समस्या हुन सक्छ।

-पाठेघरमा फाइब्राइट अथवा ट्यूमर भएमा।

पाठघेर खस्दा के हुन्छ?

पाठेघर खस्दा योनीमार्गमा केही भारी चिज आएर बसेजस्तो हुन्छ। यो अवस्थामा तल्लो पेट, कम्मर दुख्छ र धेरै भएमा तिघ्रादेखि खुट्टासम्मै दुख्छ, अप्ठ्यारो हुन्छ। दुखाइको मात्रा भने पाठेघर कत्तिको तल झरेको छ, त्यसमा भर पर्छ।

पाठेघर खस्ने समस्यालाई यसको अवस्था हेरेर बुझ्न सकिन्छः

– पाठेघर झोलिनु तर बाहिर नदेखिनु: यस अवस्थामा योनीमार्गमा केही भारी चिज आएर बसेजस्तो तल्लो पेट भारी हुन्छ। पाठेघर झोल्लिएको हुन्छ तर बाहिरबाट देखिँदैन।

-पाठेघर बाहिर योनीमार्गमा देखिनु:यो अवस्थामा पाठेघर अर्थात् गर्भाशयको मुख योनीमार्गभन्दा बाहिर निस्कन्छ र बाहिरबाट देखिन्छ।

-पाठेघर पूरै बाहिर झोलिनु: यस अवस्थामा गर्भाशय पूरै योनीमार्गबाट बाहिर झोलिएको हुन्छ।

लक्षणहरूः

-सुरूसुरूमा पेटको तल्लो भागमा अप्ठ्यारो हुन्छ। योनीमार्गमा केही भारी चिज आएर बसेजस्तो हुन्छ।

-तल्लो पेट र कम्मर वरिपरि दुख्छ।

-पिसाब गर्दा केही चिज आएर बसेजस्तो अप्ठ्यारो हुन्छ।

-पिसाब चुहिन्छ वा कहिलेकाहीँ पिसाब बन्द पनि हुन्छ।

-यो धेरै भयो भने हिँड्न र बस्न समेत अप्ठ्यारो हुन्छ।

कारणहरूः

-हाम्रो शरीरको गतिविधि र अंगस्थिति नमिल्नु। यो भनेको हिँड्दा, बस्दा, उभिँदा वा अन्य अवस्थामा शरीर बांगो बनाउनु, ढल्काउनु, निहुरिएर वा कुप्रो परेर बस्नु हो। त्यसैगरी भारी सामान उठाउँदा बढी बल लगाउनु, सुत्केरी अवस्थामा बलपूवर्क भारी सामान उठाउनु वा भारी काम गर्नु, धेरैबेर उभिएर बस्नु।

-कब्जियत हुँदा कनीकनी बल गरेर दिसा गर्नु।

-निरन्तर खोकी लाग्ने समस्या हुनु।

-पेल्भिक मांसपेशी र लिगामेन्ट्स कमजोर हुनु।

-धेरै बच्चा जन्माउनु। बच्चा जन्मिँदा पाठेघरमा धेरै चोटपटक लाग्नु।

-अत्यधिक तौल बढ्नु।

-मद्यपान र धूमपान गर्नु।

-यौनसम्पर्क शैलीले पनि प्रभाव पार्छ। पछाडि फर्केर धेरै यौन सम्पर्क गर्ने गर्नाले पाठेघरमा असर पर्न जान्छ।

-पाठेघरमा ट्यूमर हुनु।

पाठेघर खस्ने समस्याको सरल निवारणः

अंगस्थिति ठीक राख्ने

-अंगस्थितिमा मेरुदण्ड मुख्य हुन्छ। यदि हाम्रो अंगस्थिति ढल्किने, कुप्रो पर्ने भएमा मेरुदण्डको अवस्थामा असर पर्छ र पाठेघर थिचिएर तल झर्ने समस्या हुन्छ। हिँड्दा, बस्दा, सुत्दा, पढ्दा जुनसुकै काम गर्दा पनि सधैं मेरुदण्ड सोझो, खुकुलो हुनुपर्छ। यसले सबै अंग ठीक ठाउँमा बस्न सहयोग पुग्छ।

-भारी सामान हतारहतार र बलपूवर्क नउठाउने। उठाउँदा शरीरको सन्तुलन मिलाएर लामो र गहिरो सास तानेर विस्तारै उठाउने। तर, समस्या भएका बेलामा कुनै पनि भारी सामान र भारी काम नगर्ने।

– शारिरीक वेगहरू जस्तै खोक्दा, हाछ्युँ गर्दा सावधानीसाथ गर्ने। यसले पनि अप्ठ्यारो गराउँछ।

-निरन्तर धेरैबेर उभिएर नबस्ने। धेरै बेर उभिएर काम गर्नुपरे केही बेर आराम गर्ने र फेरि काम गर्ने।

-दिसा गर्दा बलले कनेर नगर्ने।

कब्जियत हटाउने

निरन्तरको कब्जियत र बलपूवर्क दिसा गरेमा रेक्टम र पाठेघर झोलिने समस्या हुन्छ। तसर्थ हामीले खाने आहार कब्जनिवारक हुनुपर्छ। जसमा सम्पूर्ण शरीर शुद्धीकरण हुने रेसा (फाइबर) युक्त आहार हुनुपर्छ।

कब्जियत हटाउने फाइबरयुक्त आहारमा प्रशोधन नगरिएका पूर्ण अन्न, टुसा उमारिएका गेडागुडी, हरिया तरकारी र पात भएका सागसब्जी, काँचो खान मिल्ने तरकारी-सलाद र सबै फलवर्गहरू पर्छन्।

यस समस्यामा र अन्य अवस्थामा पनि सही तरिकाले खानपान हुनुपर्छ। हामीले खाने अन्न भात, ढिँडो वा रोटीको मात्रा एक भाग, उत्तिकै मात्रामा हरियो तरकारी र काँचो सलादको मात्रा हुनुपर्छ। यसरी दैनिक आहारमा तीनैथरी बरोबर मिलाएर खाएमा कब्जियत हुँदैन।

कब्जियत हटाउन पानीको पनि उचित प्रयोग हुनुपर्छ। गर्मी मौसमा दिनमा करिब ४ लिटर र जाडोमा करिब ३ लिटर पिउनुपर्छ।

उचाइअनुसार तौल नियन्त्रणमा राख्ने

पाठेघर झर्नुको अर्को कारण तौल बढी हुनु पनि हो। तौल बढी भए पाठेघर थिचिएर तल झर्ने हुन्छ। त्यसैले हाम्रो उचाइअनुसार तौल र छातीअनुसार कम्मरको मापदण्ड सही राख्नुपर्छ।

तौल बढी भएका व्यक्तिले आफूले खाइरहेको खाना (भात, ढिँडो वा रोटी) को भाग २५ प्रतिशत घटाउने। जसअनुसार एक भाग अन्न, दुई भाग हरियो साग(तरकारी र उत्तिकै मात्रामा सलाद लिने। यसरी अन्न घटाएर तरकारी र सलाद बढाएर लिए पेट पनि अरामले भरिने र बढी भएको तौल पनि घट्दै जान्छ।

आराममा बस्ने

यसमा आराममा बस्नु सबभन्दा सरल उपचार हो। आराममा बस्दा वा सुत्दा हिपमुनि सिरानी राखेर, टाउकोमा सिरानी नराखी बद्धसवासन, सवासन वा पुतली आसनमा आराम गर्ने। सुत्दा पनि हिपमुनि तकिया ९करिब ४ इन्च जतिको० राखेर टाउकोमा सिरानी नराखी सुत्ने।

मद्यपान र धूमपान नगर्ने।

सरल प्राकृतिक उपचार

-चिसो पट्टी दिनेः हल्का बाक्लो गरी दुइटा सफा कटन कपडा नाइटोदेखि पूरै तल्लो पेटसम्म ढाक्ने लिने। पानी हात राखेपछि ठिहिराउने हुनुपर्छ। यसका लागि पानीमा दुई(चार टुक्रा बरफ राख्ने। अब हिपमुनि सिरानी राखेर बद्धसवासन वा पुतली आसनमा बस्ने। कपडालाई पानीमा चोबेर हल्का निचोरी नाइटोभन्दा दुई औंला माथिदेखि पूरै तल्लो पेट ढाक्ने गरी राख्ने। कपडा १-१ मिनेटमा परिवर्तन गर्ने।

चिसो पट्टी जाडोमा करिब १५ मिनेट र गर्मीमा करिब २० मिनेट लगाउने। तर जाडोमा चिसो पट्टी दिँदा छाती भने चिसो हुन दिनु हुँदैन। ध्यान रहोस्, चिसो पट्टी बिहान खाली पेटमा लगाउनुपर्छ। पट्टी लगाएको एक घन्टासम्म केही खानु हुँदैन।

-यस अवस्थामा आराममा रहनुपर्छ तसर्थ खानामा बढी ध्यान दिनुपर्छ। खानामा रेसा-छोक्राबोक्रा नभएका भारी र पाचन हुन गाह्रो हुने खानेकुरा नखाने। त्यसैगरीक गर्मी बढाउने चिया, कफी, मदिरायुक्त पदार्थ, गरम मसला आदि नखाने।

पाठेघर खसने समस्यामा सही तरिकाले खानपान मिलाएर दैनिक हल्का योग व्यायाम गर्दा लाभ गर्छ। तर धेरै बलपूर्वक र भारी व्यायाम गर्नु हुँदैन। पाठेघर खस्ने समस्यामा विषेशतः हिपका जोर्नीहरूलाई बलियो बनाउने खुट्टामाथि उठाएर गरिने व्यायाम गरिन्छ। यसमा व्यायाम गर्दा मूल बन्द लगाएर दुई हिपको बीच भागमा तकिया राखेर गर्ने।


Nabintech