के हो मस्तिष्कघात ?

    • डा. भक्तप्रसाद गैरे

  • १५ फाल्गुन २०७७, शनिबार

तुलनात्मक रूपमा असल मानिएका कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात (मस्तिष्क पक्षघात/स्ट्रोक/ब्रेन स्ट्रोक) भएको खबर एकाबिहानै पढेपछि दिनभर नमिठो लाग्यो।

विगत करिब १० वर्षदेखि आफू पनि मस्तिष्कघातकै बारेमा अध्ययन/अनुसन्धान गरिरहेकोले ‘जोशीलाई भएको मस्तिष्कघात कस्तो हो?’ भनेर आमसर्वसाधारणले पनि बुझ्न सजिलो हुने गरी यसबारे केही प्रकाश पार्ने उद्देश्य अनुरूप यो सानो लेख लेखेको छु।

हुन त मानव शरीरका सबै अंग महत्वपूर्ण नै छन्, तर ती अंगहरूलाई पनि नियन्त्रण गर्ने क्षमता भएको हुनाले मानव मस्तिष्कलाई प्रधान अंग मानिन्छ। त्यसैले गर्दा नै प्रकृतिले पनि आठ वटा अत्यन्त कडा हाडहरूको बीचमा रहेको एउटा सानो खोपीमा हाम्रो मस्तिष्कलाई सुरक्षित राखेको छ। हाम्रो मस्तिष्कमा विशेषत न्युरोन नामका कोषहरू हुन्छन् जसलाई ग्लिया भन्ने अरू कोषहरूले सहयोग गरिरहेका हुन्छन्।

यिनै न्युरोनहरूबाट मस्तिष्क र शरीरका विभिन्न अंगहरूबीच सन्देश आदान प्रदान भएर मानव शरीरले आवश्यक कार्य गरिरहेको हुन्छ।मस्तिष्कमा हुने न्युरोनहरूले रक्तनलीबाट आएको अक्सिजन र ग्लुकोजलाई आफ्नो खानाको रूपमा प्रयोग गर्ने गर्दछन्।

हाम्रो मुटुबाट मस्तिष्कसम्म रगत लैजानको लागि मुख्यतया ४ वटा रक्तनली (आर्टरी) हुन्छन् :- घाँटीको अगाडि श्वासनलीको दायाँबायाँ २ वटा क्यारोटिड र घाँटीको पछाडि हाडहरूको बीचबाट जाने २ वटा भर्टिब्रल आर्टरी।

मस्तिष्कको ठिकमुनि यी चारवटा आर्टरी आपसमा मिलेर गोलो घेरा बनाउँछन्, जसलाई सर्कल अफ विलिस भनिन्छ।

तसर्थ यी चारवटा आर्टरीमध्ये कुनै ३ वटा आर्टरीमा खराबी भएर एकैछिन रगत प्रवाह रोकिए पनि बाँकी रहेको एउटा आर्टरीले समेत मस्तिष्कको सबै भागमा रक्तसंचार गर्न सक्ने गरी प्रकृतिले मस्तिष्कको संरचना गरिदिएको छ।

सर्कल अफ विलिसमा मिसिइसकेपछि ६ वटा मुख्य आर्टरी (३ वटा दायाँ  र  ३ वटा बायाँ मस्तिष्क) मा रगत विभाजन हुन्छ र मस्तिष्कको विभिन्न भागमा रक्तसंचार हुन्छ। यी ६ वटा आर्टरीलाई सेरेब्रल आर्टरी भनिन्छ।

मस्तिष्कको सबभन्दा अग्रभागमा एन्टेरिअर, बीच भागमा मिडल, र पछाडिको भागमा पोस्टेरिअर सेरेब्रल आर्टरीले रक्तसंचार गर्दछन्।

तर कुनै कारणवश यी आर्टरीहरूमा अवरोध भएमा अथवा आर्टरी फुटेमा मस्तिष्कमा भएका न्युरोनहरूलाई आवश्यक पर्ने खाना सप्लाई बन्द हुन्छ र न्युरोनहरू मर्न थाल्छन्। यसरी मस्तिष्कको कुनै भागमा धेरै न्युरोनहरू मरेमा त्यो भागले नियन्त्रण गर्ने शरीरको अंगले समेत काम गर्न छोड्छ।

उदाहरणको लागि मस्तिष्कको अग्र भागमा रहेको ब्रोका एरियामा रगत प्रवाह बन्द भएर अथवा रक्तश्राव भएर न्युरोनहरू मरेमा मान्छेको बोली लर्बरिने वा बन्द हुने हुन्छ, किनकि यो भागका न्युरोनहरूले बोल्ने कलालाई नियन्त्रण गर्दछन्।

तसर्थ रक्तसंचारको अभावमा मस्तिष्कको कुनै भागमा रहेका न्युरोनहरूले काम नगरेर शरीरका विभिन्न अंगहरूले काम गर्न छोड्ने अवस्थालाई मस्तिष्क पक्षघात अर्थात् मस्तिष्कघात (ब्रेन स्ट्रोक) भनिन्छ।

स्ट्रोक संसारमै धेरै मान्छेको ज्यान लिने प्रमुख रोग हो। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का अनुसार सन् २०१८ मा मुटु तथा रक्तनलीसम्बन्धी रोगबाट मर्ने हरेक ६ जना मानिसमध्ये १ जनालाई स्ट्रोक भएको थियो र हरेक वर्ष ६ लाखभन्दा बढी अमेरिकीहरूलाई स्ट्रोक हुने गर्दछ।

अमेरिकामा प्रत्येक ४० सेकेन्डमा एउटा मान्छेलाई स्ट्रोक हुन्छ र हरेक ४ मिनेटमा स्ट्रोककै कारण कसैले ज्यान गुमाउँछ।

स्ट्रोक भएका बिरामीहरूमध्ये एक तिहाइको तत्कालै मृत्यु हुने, एकतिहाइमा आजीवन कडा प्यारालाइसिस देखिने र बाँकीमा सामान्य समस्या देखिने हुन्छ।

वैज्ञानिकहरूको अथक प्रयासका वावजुत मस्तिष्कघातको औषधि अहिलेसम्म बनेको छैन (अपवाद: एक्युट इस्केमिक स्ट्रोकको लागि धेरै नकारात्मक असर भएको टिपिए भन्ने एउटा मात्र औषधि एफ़्डिएले लगभग २५ वर्ष पहिल्यै स्वीकृत गरेको छ)।

मस्तिष्क पक्षघात सामान्यतया २ प्रकारको हुन्छ।

पहिलो, रक्तनली थुनिएर हुने, जुन सबै मस्तिष्क पक्षघातको ८५% भन्दा बढी केसमा हुन्छ र यसलाई इस्केमिक स्ट्रोक भनिन्छ।

दोस्रो, रक्तनली फुटेर (रक्तश्राव भएर) हुने स्ट्रोक जसलाई हेमोरेजिक स्ट्रोक भनिन्छ।

अब जोशीलाई भएको स्ट्रोक कस्तो हो र यो किन हुन्छ भन्ने बारे चर्चा गरौं। अस्पताल पुग्नुअघि बायाँ हात र खुट्टा बाउँडिएको र सिटी स्क्यान गरेर हेर्दा टाउकोमा रगत जमेको (हेमाटोमा) देखिएकोले कांग्रेस नेता जोशीलाई हेमोरेजिक स्ट्रोक भएको बुझिन्छ।

तसर्थ यो लेखमा मैले हेमोरेजिक स्ट्रोकको बारेमा नै चर्चा गर्नेछु। भविष्यमा इस्केमिक स्ट्रोकको बारे छुट्टै चर्चा गरौंला।

स्ट्रोकका केसहरूमा तुलनात्मक रूपमा कम मानिसलाई हुने भए पनि हेमोरेजिक स्ट्रोक घातक हुन्छ। रक्तनली फुटेर जम्मा भएको रगत निस्कने ठाउँ नभएकोले यसले बिस्तारै मस्तिष्कलाई थिच्न थाल्दछ (मस्तिष्क निकै कोमल हुने भएकोले थोरै पानी वा रगतले पनि धेरै प्रेसर दिएर मस्तिष्कलाई थिच्न सक्छ)।

मस्तिष्कमा पनि कुन ठाउँमा रगत जमेको छ भन्ने आधारमा हेमोरेजिक स्ट्रोक २ प्रकारको हुन्छ।

मस्तिष्क तन्तुको भित्री भागमा रक्तनली फुटेर रगत जमेको छ भने त्यसलाई इन्ट्रासेरेब्रल हेमोरेज भनिन्छ।

मस्तिष्कको सतहमा हाडभन्दा तल रक्तनली फुटेको छ भने सबआरक्नोइड हेमोरेज भनिन्छ।

मस्तिष्कको भित्री भागमा रक्तनली फुटेर हुने इन्ट्रासेरेब्रल हेमोरेज सामान्यतया लामो समयदेखि उच्च रक्तचाप अथवा मधुमेह भएका मानिसमा अथवा कुनै दुर्घटनामा परी रक्तनली फुटेको अवस्थामा हुन्छ।

कुनै मानिसमा भने रक्तनली कमजोर हुने वा रगतको तरलता कम हुने समस्याले गर्दा पनि हुन सक्छ।

मस्तिष्कलाई छोपेका हाडको ठिक्क तल तिनवटा पातला झिल्लीले मस्तिष्कलाई कभर गरेर राखेको हुन्छ, जसलाई मेनिन्ग्स भनिन्छ।

सबभन्दा माथि डुरा, बीचमा आराक्नोइड, र सबभन्दा तल पिया म्याटर नाम गरेका यी ३ झिल्लीमध्ये आराक्नोइड र पियाको बीचमा अलि ठूलो ग्याप हुन्छ, जसमा मस्तिष्कमा रक्तसंचार गराउने रक्तनलीहरू समेत हुन्छन्।

हो, ठ्याक्कै यही ठाउँमा भएका रक्तनली फुटेर रगत जम्मा हुने स्ट्रोकलाई सबआराक्नोइड हेमोरेज भनिन्छ। यस प्रकारको स्ट्रोक मुलत ट्रौमा (इन्जुरी)को कारणले हुने गर्दछ, जुन दुर्घटनामा हेड इन्जुरी भएको खण्डमा बढी हुने गर्दछ।  साथै उच्च रक्तचाप, धुमपान, मध्यपान लगायतले समेत सबआराक्नोइड हेमोरेज हुनुमा सहयोग गर्दछन्।

कतिपय केसमा रक्तनली फुट्नुभन्दा पहिले सुन्निएर बेलुन जस्तो भएको पनि हुन सक्छ। यसरी सुन्निएको रक्तनलीले पनि मस्तिष्कको नरम तन्तुलाई थिचेर पनि मस्तिष्कघात गराउन सक्छ।

जुन कारणले रक्तनली फुटे पनि मस्तिष्कमा जम्मा भएको रगत बाहिर निस्कन पाउँदैन।  साथै रक्तश्राव भएको ठाउँ नजिकैका न्युरोनहरूलाई रगतमार्फत् हुने अक्सिजन र ग्लुकोजको सप्लाई पनि बन्द हुन्छ, जसले गर्दा न्युरोनहरू मर्न थाल्छन्। साथै जम्मा भएको रगतले विस्तारै मस्तिष्कलाई थिच्दै जान्छ र यसरी मस्तिष्क थिचिएपछि त्यस ठाउँ नजिकैका न्युरोनहरू मर्न थाल्छन्।

जब यो संख्या बढ्दै जान्छ त्यसले मस्तिष्कको एउटा सानो तन्तु नै काम नगर्ने हुन्छ।  फलस्वरूप मस्तिष्कको उक्त भागले नियन्त्रण गर्ने शरीरका अंगहरू नचल्न पुग्छन्।

यदि रक्तश्राव अलि धेरै नै भएको छ र त्यसले मस्तिष्कको दुईमध्ये कुनै एक भागलाई नराम्रोसँग क्षति पुर्याएको छ भने त्यही अनुसार शरीरको एकभाग नै प्यारालाइसिस हुने हुन्छ।

मस्तिष्कको दायाँ भागले शरीरको बायाँ र मस्तिष्कको बायाँ भागले शरीरको दायाँ भाग नियन्त्रण गर्ने भएकोले मस्तिष्कको एक भागमा स्ट्रोक भएमा शरीरको अर्को भाग नचल्ने हुन्छ।

हेमोरेजिक स्ट्रोक साधारणतय प्राणघातक नै हुन्छ। तर यो कत्तिको घातक छ भन्ने कुरा मस्तिष्कको भाग, हेमाटोमाको आकार,हेमाटोमा बनेपछिको समय, बिरामीको उमेर, अन्य दीर्घरोग, आदिमा भर पर्छ।

हेमोरेजिक स्ट्रोक विभिन्न कारणले हुन सक्दछ, जसमा मुख्य कारण हेड इन्जुरी वा ट्रौमा हो भने अन्य कारणहरूमा रक्तनलीको कमजोर बनोट, रगत पातलो बनाउने औषधीको सेवन, एनेमिया तथा हेमोफिलिया जस्ता रक्तश्राव गराउने रोगहरू, उच्च रक्तचाप, रक्तनलीमा जमेको बोसो (एथेरोस्केलेरोसीस), ट्युमर, धुमपान, मध्यपन, आदि हुन्।

साधारणतया मस्तिष्क घातका लक्षणहरू मस्तिष्कको कुन भागमा कति मात्रामा क्षति पुगेको छ त्यस अनुसार फरक हुन्छन्। मुख्यत स्ट्रोकका लक्षणहरू बुझ्नको लागि अंग्रेजी को FAST भन्ने फर्मुला प्रख्यात छ, जहाँ

F भनेको फेस यानकी अनुहार: अनुहारमा प्यारालाइसिस हुनु वा बांगिनु

A भनेको आर्म यानकी हात वा पाखुरी झम्झमाउनु, बाउँडिनु वा प्यारालाइसिस हुनु

S भनेको स्पीच यानकी बोलि लर्बराउनु, बोल्न नसक्नु

T भनेको टाइम अर्थात् समय: यस्तो लक्षण भएका मान्छे देख्ने बित्तिकै तत्काल इमर्जेन्सीमा फोन गर्नु वा अस्पताल कुदाउनु।

यसबाहेक स्ट्रोकका अन्य लक्षणहरूमा अकस्मात शरीरका अंग झम्झमाउनु, कमजोर महशुस हुनु, शरीरको एक भागले काम नगर्नु, वाकवाकी हुनु वा बान्ता हुनु, चक्कर लाग्नु, भ्रमित हुनु, निल्न बोल्न नसक्नु, सन्तुलन गुमाउनु, घाँटी अररो हुनु, सास फेर्न गाह्रो हुनु, आदि ब्रेन स्ट्रोकका लक्षणहरू हुन्।

मस्तिष्कघातको निदान मुख्यतया सिटी स्क्यान वा एमआरआइ गरेर गरिन्छ। त्यसबाहेक इइजी, रगतको जाँचबाट पनि स्ट्रोकको निदानमा सहयोग पुग्छ।

हेमोरेजिक स्ट्रोकको औषधि हालसम्म पत्ता लागेको छैन र यसको उपचारको लागि परिस्थिति हेरेर तत्काल अपरेसन गर्नुपर्ने हुन्छ। जस्तो कि टाउकोको हाडमा प्वाल पारि अथवा हाडको केही भाग हटाएर जम्मा भएको रगतलाई फाल्न सकिन्छ। साथै सुन्निएको रक्तनलीबाट रगत फालेर पनि यसको उपचार गर्न सकिन्छ।

साथै स्ट्रोकको सिम्प्टोम्याटिक ट्रिट्मेण्ट (लक्षण हेरेर गरिने उपचार) जस्तै रक्तचाप घटाउने, दुखाइ कम गर्ने, पुनर्स्थापना (थेरापी) हरू गराउने आदि गर्न सकिन्छ।


Nabintech