कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर

    • स्वास्थ्य पेज

  • १४ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं: मस्तिष्काघात भएर नर्भिक अस्पतालमा भर्ना हुनुभएका कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्य अवस्था गम्भीर रहेकाले नेता जोशीलाई भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको हो । बिहीबार राति शरीरको देब्रे भागमा समस्या देखिएपछि उहाँलाई सुरुमा वीर अस्पताल पुर्‍याइएको थियो।

उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । चिकित्सकका अनुसार उहाँको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेको छ ।

वीरबाट बिहान नर्भिक अस्पताल लगेर उहाँको शल्यक्रिया समेत गरिएको थियो । सुगर, प्रेसर लगायतका रोगबाट समेत पीडित जोशीले रगत पातलो बनाउने औषधि खाइरहुनुभएको थियो । यस्तो मानिसको सर्जरी गर्दा धेरै रक्तश्राब हुने भएकाले रगत जोहो गरेर सर्जरी गरेको उहाँको उपचारमा संलग्न नर्भिक अस्पतालका न्यूरो सर्जन डा.राजीव झाले बताउनुभयो ।

यो अवस्था निकै जटिल भएको र एक सय प्रतिशतमा ६०-७० प्रतिशतको मृत्यु हुने गरेको डा.झा बताउनुहुन्छ । अहिले कसरी हुन्छ बचाउने भन्नेतिर हामी लागिरहेका छौँ, डा.झाले भन्नुभयो जो ३० प्रतिशत जति बाँच्नुहुन्छ, उहाँहरूमा ठूलो प्यारालाइसिस रहने सम्भावना लामो समयसम्म रहन्छ ।

रक्तचापको समस्या लगायत रोगहरु हुँदा समयमा औषधि सेवन नगर्ने बानीले यस्तो समस्याहरु देखिने चिकित्सहरु बताउँछन् । नर्भिक अस्पतालमा आइपुग्दा जोशी कोमाको अवस्थामा रहनुभएको र वान्ता भइ फोक्सोमा असर भएकाले सास फेर्न गाह्रो भइराखेको थियो ।

  • १४ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech