कोरोना महामारीः अमेरिकामा ज्यान गुमाउनेको संख्या पाँच लाख नाघ्यो

    • स्वास्थ्य पेज

  • ११ फाल्गुन २०७७, मंगलवार

एजेन्सीः कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढि प्रभावित भएको र अझै पनि महामारीको गम्भीर संकटमा रहेको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या पाँच लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कोभिड–१९ बाट पाँच लाख एक सय ७० भन्दा धेरैको ज्यान गएको छ । कुल संक्रमितको संख्या दुई करोड ८१ लाख ८५ हजार चार सय भन्दा धेरै पुगेको छ ।

विश्वभर हालसम्म ११ करोड १६ लाख ९३ हजार पाँच सय भन्दा बढि संक्रमित पुगेका छन् भने २४ लाख ७३ हजार भन्दा बढिको ज्यान गएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाका कारण पाँच लाख अमेरिकीको ज्यान गएको सन्दर्भ पारेर राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘एक राष्ट्रका रुपमा, हामी यस्तो क्रूर नियती स्वीकार गर्न सक्दैनौँ । हामीले दुःखको यो गम्भीर अवस्थामा शून्य हुनुको साटो यसलाई रोक्न प्रयास गर्नु पर्छ ।’

सम्बोधनपछि राष्ट्रपति बाइडेन र प्रथम महिला डा। जिल बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिस र द्वितिय पुरुष डग एनहोफले ज्यान गुमाएको सम्मान र स्मृतिमा मौनधारण गरेका थिए । ज्यान गुमाएकाहरुको स्मृतिमा ह्वाइट हाउस बाहिर दीप प्रज्वलन गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

  • ११ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech