कोभिड विरुद्धको खोपको दोस्रो मात्रा ८ हप्तापछि दिने स्वास्थ्य मन्त्रालयको निर्णय

    • स्वास्थ्य पेज

  • १० फाल्गुन २०७७, सोमबार

काठमाडौंः कोरोना विरुद्धको पहिलो खोप लगाएका व्यक्तिहरुलाई ८ हप्तापछि मात्र दोस्रो खोप दिइने भएको छ । कोभिड १९ प्राविधिक सल्लाहकार समितिको प्रस्ताव अनुसार दोस्रो मात्राको खोप ८ हप्तापछि दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सिफारिस समितिले कोभिड विरुद्धको पहिलो खोप लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा ८ देखि १२ हप्ताभित्र दिन मन्त्रालयलाई प्रस्ताव गरेको थियो।सरकारले कोभिड खोप अभियान सुभारम्भ गर्दा दोस्रो मात्रा २८ दिनपछि दिने निर्णय गरेको थियो। उक्त निर्णय संशोधन गर्दा ८ हप्तापछि मात्र दोस्रो मात्रा दिने निर्णय गरिएको हो।

गत माघ १४ गतेदेखि नेपालमा कोभिड विरुद्धको खोप अभियान सञ्चालन भएको हो। मन्त्रालयका अनुसार आइतबारसम्म देशभर ४ लाख १५ हजार व्यक्तिले पहिलो मात्रा खोप लगाइसकेका छन्।

हालसम्म स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, सरकारी कार्यालयका कर्मचारी,पत्रकार, स्थानीय निर्वाचित जनप्रतिनिधि, नेपालस्थित कूटनीतिक नियोगका कर्मचारी, युएन एजेन्सीका कर्मचारीले खोप लगाइसकेका छन्।

परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले फागुन २३ गतेदेखि दोस्रो चरणमा समुदाय स्तरमा खोप अभियान सञ्चालन हुने बताउनुभयो ।

पहिलो चरणमा भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप प्रयोग गरिएको थियो। दोस्रो चरणमा सरकारले सोही कम्पनीबाट २० लाख डोज खोप खरिद गरेको छ। २० लाख डोजमध्ये पहिलो चरणमा १० लाख डोज खोप आइतबार मात्र नेपाल आइपुगेको छ।

  • १० फाल्गुन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech